४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

करार कर्मचारीले लगाए गढीमाईमा ताला

रौतहटको गढीमाई नगरपालिकामा करार कर्मचारीहरूले तालाबन्दी गरेका छन्। १८ महिनादेखि बाँकी रहेको तलब, भत्ता, पोसाक, दसैं खर्चसहित विभिन्न रकमको माग गर्दै करार कर्मचारीले नगरपालिकाको कार्यालयमा ताला लगाएका हुन्।

आवश्यकताभन्दा करिब दुई सय कर्मचारी बढी भर्ना गरिएको गढीमाई नगरपालिकामा करार कर्मचारीहरूलाई तलब भत्ता खुवाउन मुस्किल पर्दै आएको छ। वडाध्यक्षहरूको दोहोरो भूमिकाका कारण नगरपालिकामा कर्मचारीहरूको अत्यधिक बोझ भएको बताइएको छ।

करार कर्मचारी कटौती गर्नुपर्ने तथा बिस्तारै हटाउँदै जानुपर्ने बताउने गरेको भए पनि आफ्नो वडाबाट कुनै पनि कर्मचारी नहटाउन दबाब दिने गरेको तथा तिनै कर्मचारीहरूसित मिलेर आन्दोलन पनि गर्ने गरेकाले वडाध्यक्षहरूको दोहोरो चरित्रका कारण गढीमाई नगरपालिकाको आर्थिक अवस्था धराशयी बन्न थालेको कर्मचारीहरू नै बताउँछन्।

समान पदका लागि समान तलब हुनुपर्ने तथा आफूहरूको बाँकी बक्यौता रकम तत्काल पाउनुपर्ने माग राखी आन्दोलनमा उत्रिएको करार कर्मचारीका नेतृत्वकर्ता दीपेन्द्रप्रसाद यादवले बताएका छन्।

नगरपालिका कार्यालयमा तालाबन्दी भएपछि सर्वसाधारणको कामकाज नै ठप्प भएको छ। नगरपालिकामा काम लिएर पुगेका सेवाग्राहीहरू भने निराश भएर फकिएका छन्। आन्दोलन गर्नु रहर नभई बाध्यता भएको करारका ओभरसियर कमलेश पटेलले बताएका छन्। तत्काल तलब उपलब्ध नगराए आफूहरू अझ कडा रूपमा प्रस्तुत हुने पटेलको भनाइ छ।

करारका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि नगरप्रमुख श्यामप्रसाद यादवले समस्या समाधानका लागि सक्रिय भएको बताएका छन्। वार्ताको प्रयास भइरहेको तथा करार कर्मचारीको समस्या तत्काल सम्बोधन हुने नगरप्रमुख यादवको भनाइ छ।

प्रकाशित: १७ कार्तिक २०८० ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App