१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हिमालको पाउमा पर्दा लोभिए गुटेरेस

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहानै हेलिकप्टरबाट अन्नपूर्ण आधारशिविर (एबीसी) ओर्लिए। समुन्द्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाईको आधारशिविरमा हेलिकप्टरबाट ओर्लिदा गुटेरेस निकै नै खुसी थिए। आँखै अगाडि ठोकिने हिमालको पाउ पर्दा उनमा खुसीको सिमै थिएन।  

करिब ३५ मिनेट आधारशिविरमा बिताएका गुटेरेसले स्थानीयसँग भलाकुसारी पनि गरे। जलवायु परिवर्तनले पारेको असरबारे बुझ्न र प्रत्यक्ष अवलोकन गर्न (आधारशिविर) पुगेका महासचिव गुटेरेस स्थानीयको कुरा सुनेपछि केही चिन्तित पनि बने। कारण–जलवायु परिवर्तनको मारले गर्दा अन्नपूर्ण आधारशिविर क्षेत्रले भोग्नुपरेको कष्टबारे स्थानीयबाट थाहा पाएपछि गुटेरेस चिन्तित बने।  

महासचिव गुटेरेसले जलवायु परिवर्तन विकसित र सम्पन्नशाली देशहरुको कारणले भइरहेको र त्यसको असर नेपाल जस्ता कम विकसित मुलुकले खेप्नुपरेको भन्दै स्थानीयसँग गुनासो पनि पोखे। ‘ग्लोवल वार्मिङ’ निम्त्याउनमा विकसित र सम्पन्नशाली राष्ट्रको भूमिका रहेको भन्दै उनले स्थानीयसँग जलवायु परिवर्तन रोक्न आफुले सक्दो पहल गर्ने वचन दिए।  

‘जलवायु परिवर्तनको असर निम्त्याउनुमा नेपालको कुनै हात छैन,’ आधारशिविर क्षेत्रका बासिन्दासँग उनले भने, ‘धनी राष्ट्रले गर्दा जलवायु परिवर्तन भइरहेको छ। तर, नेपालले त्यसको नतिजा भोगिरहेको छ।’ महासचिवलाई गाउँपालिकाले जलवायु परिवर्तनले अन्नपूर्ण आधारशिविरमा परेको असरबारे जानकारी दिएको थियो।

अन्नपूर्ण गाउँपालिका–११ का अध्यक्ष हिमबहादुर गुरुङले जलवायु परिवर्तनको असर आधारशिविरमा अति नै परेको बताए। ‘अहिले जलवायु परिवर्तनले गर्दा समयमा हिउँ नपर्ने, पानी बढी पर्ने, कटान बढेको, अफसिजनमा पनि हिमपहिरो आउने, हिउँ पग्लिने दर बढेको जस्ता समस्या रहेका छन,’ गुरुङले भने, ‘हामीले हेर्दाहेर्दै आधारशिविर कटान भएर सकिनै थाल्यो।’  

लामो समयदेखि आधारशिविरमा व्यावसाय गरिरहेका गुरुङका अनुसार हिउँ पनि निकै नै कम पर्न थालेको छ। ‘केहीवर्ष अघिसम्म चट्टान देख्नै सकिन्नथ्यो, तर, अहिले हिउँ देख्न हरायो,’ उनले भने, ‘हिमपहिरोका कारण कटान पनि अधिक नै बढेको छ। आधारशिविर नै जोखिममा पर्न थालेको छ।’  

पर्यटन व्यवस्थापन समिति छोमरोङका सचिव दिलिप गुरुङका अनुसार जलवायु परिवर्तनको असर नेपालले अनाहकमा खेप्नुपरेको भन्दै महासचिवले दुख मनाउन पनि गरेका थिए। ‘हिमाल देखेर महासचिव निकै नै खुसी हुनुभयो। यतिम्म की कुर्सिमा बस्दा पनि हिमालतिर फर्केरै बस्नुभयो,’ उनले भने, ‘यति नजिकबाट हिमाल हेर्न पाउँदा उहाँमा खुसीको सिमा नै थिएन’ जलवायु परिवर्तनका कारण आधारशिविर क्षेत्रले हरेक वर्ष क्षति भोगेको स्थानीयले त्यस अवसरमा महासचिव सामु गुनासो सुनाएको पनि उनले बताए।

‘वास्तवमा भन्ने हो भने आधारशिविर क्षेत्रलाई जलवायु परिवर्तनले डरलाग्दो अवस्था निम्त्याइदिएको छ,’ सचिव गुरुङले भने, ‘हामीले नेपाल सरकारको ध्यानाकर्षण त गरेका थियौ। अहिले विश्वको ध्यानाकर्षण गराउन सफल भयौं।’ आधारशिविर क्षेत्रमा भएको क्षयीकरण रोक्नका निकै नै जरुरी रहेको उनले बताए। ‘आज त ‘वेदर’ पनि निकै नै राम्रो खुलेको थियो, प्रकृति देख्दा महासचिव रमाउनुभयो, वास्तविकता बुझ्दा दुखी मन बनाउनु भयो,’ सचिव गुरुङले भने।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षित क्षेत्रभित्र पर्छ अन्नपूर्ण आधारशिविर। आधारशिविर यो बेला त्यहाँ दिनमा स्वदेशी र विदेशी गरि चारसय हाराहारीमा आन्तरिक र बाह्य पाहुना उक्लिरहेका छन्। तिनै पाहुनाको भीडमा मिसिन गुटेरेस मंगलबार बिहान आधारशिविर उक्लेका थिए।  

पर्यटन व्यवस्थापन समिति छोमरोङका अध्यक्ष जगनराज गुरुङका अनुसार आधारशिविर क्षेत्रमा जलवायु परिवर्तनले निकै नै असर पारेको छ। ‘यो क्षेत्रमा पर्याप्त मात्रामा हिमताल थिए। ती हिमताल अहिले सुकेका छन, कतिपयले आकार बढाएका छन। यसको कारण जलवायु परिवर्तन नै हो,’ अध्यक्ष गुरुङले भने, ‘कटान पनि उत्तिकै छ। पानी पर्ने र हिउँ पर्नेको समयको लेखाजोखा नै छैन । हिमपहिरोको त्रास झनै बढी छ। हामीले संयक्त राष्ट्रसंघका महासचिवलाई यस्तै परिवर्तनबारे जानकारी दिएका छौं।’  

उनका अनुसार हिमताल सुक्ने मात्र नभई केही वर्ष अघिसम्मका साना खोल्सी अहिले बढेर फराकिला खोला बनेका छन, त्यो हुनुको कारण हिमपहिरो हो जसलाई जलवायु परिवर्तनले निम्त्याएको छ। त्यसबाहेक आधारशिविर क्षेत्रमा अहिले अफसिजनमै हिमपात हुन थालेको छ। केहीवर्ष अघिसम्म पानी नै नपर्ने आधारशिविर क्षेत्रमा अहिले बढी पानी पर्न थालेको उनले बताए। ‘जलवायुु परिवर्तनले त बास्तवमा हामीमाथि निकै नै सकस थपेको छ,’ उनले भने, ‘यहाँको कटान, हिमपात र हिमपहिरोको जोखिम, हिउँ पग्लने गति बारे जानकारी दिएका छौं।’

प्रकाशित: १४ कार्तिक २०८० १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App