२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

बालादेवी र कालिकादेवीले रक्षा गरेको गाउँ टाकुरे

२०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा धेरै प्रभाव सिन्धुपाल्चोक जिल्लामा पर्‍यो। धेरै घर भत्किए। मानवीय क्षति भएकोमध्ये पनि आधा सिन्धुपाल्चोककै थिए।

जिल्लाको इनद्रावती गाउँपालिका-४, टाकुरेमा भने भौतिक क्षति भए पनि मानवीय क्षति भएन। मानवीय क्षति नहुनुको कारण त्यस गाउँलाई ३ सय वर्षदेखि बालादेवीले रक्षा गरिरहेको अगाध विश्वास टाकुरे गाउँवासीमा छ।

करिब १०० घर रहेको गाउँमा ब्राह्मण, क्षत्री र तामाङ समुदायको बसोवास रहेको छ। यहाँका स्थानीयवासीले सयौं वर्षदेखि गाउँको टाकुरामा रहेकी बालादेवीलाई इष्टदेवीका रूपमा मान्दै आएका छन्। बालादेवीस्थानमा प्रत्येक वर्षको आश्विन र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेष पूजा-आराधना हुने गरेको छ।

गाउँवासीलाई बालादेवीले रक्षा गरेकैले भूकम्पका बेला मानवीय क्षति नभएको पूर्व वडा सदस्य दयाकुमारी मिश्र बताउँछिन्। टाकुरेसँगै जोडिएको बिमिरे, शिखरपुर, डुँडे, डँडुवाखर्क र नवलपुर लगायत गाउँमा घर भत्किएर मानवीय क्षति भएको थियो।टाकुरेका स्थानीयवासी भने बालादेवीको दर्शन एवं पूजा-आराधना गर्ने भएकाले भौतिक क्षति भए पनि मानवीय क्षति नभएको उनको विश्वास छ।

“घर भत्कँदा भित्रै परेका मानिसलाई पनि केही नभई सकुशल उद्धार गर्न सक्नुले बालादेवीको दर्शन गर्नेलाई रक्षा गरेको विश्वास यस क्षेत्रमा बढ्न थालेको छ, यो विश्वासपछि वरपरका अरू गाउँबाट पनि मन्दिर आउने दर्शनार्थीको सङ्ख्या बढ्न थालेको छ, भूकम्पपछि नै गाउँपालिकाको बजेटले मन्दिर क्षेत्रमा जाने सिंढी निर्माण गरिएको छ, बालादेवी सामुदायिक वनमा रहेको देवी मन्दिरलाई आकर्षक धार्मिक स्थलका रूपमा विकास गर्न लागिपरेका छौं”-पूर्व कार्यवाहक वडाध्यक्ष समेत रहेकी मिश्रले भनिन्।

भूकम्पका बेला मन्दिरमा पूजाआराधना र दर्शनका लागि जाने मानिसको मात्र क्षति भएन। भौतिक संरचनाका कारण पशुधन भने क्षति भयो। पशु देवीस्थानमा दर्शनका लागि नजाने गरेकाले क्षति भएको रूपमा टाकुरेवासीले विश्लेषण गर्ने गरेका छन्।

अग्लो स्थानमा रहेको बालादेवीस्थानबाट इन्द्रावती नदी, नदी तटका मेलम्ची, बाहुनेपाटी, सिपाघाट, नगरकोट लगायत आकर्षक एवं रमणीय स्थलको अवलोकन गर्न पनि सकिन्छ।

टाकुरेवासीले पुर्खौदेखि बालादेवीलाई विशेष रूपमा मान्ने गरेका छन्। गाह्रोसाह्रो पर्दा देवीकै नाममा भाकल गर्ने गरिएको छ। पुस्तौंदेखि बालादेवीको गाथा सुन्दै आएको पण्डित विश्वनाथ कोइराला बताउँछन्।

पिता-पुर्खाबाट बालादेवीको महत्व सुन्दै आए पनि यस विषयमा आधिकारिक शिलालेख वा प्रामाणिक कागजात भने अहिलेसम्म नपाइएको उनले सुनाए। यससम्बन्धी थप खोजअनुसन्धानको आवश्यकता रहेको स्थानीयवासी बताउँछन्।

बालादेवीको पश्चिम, दक्षिण र उत्तरतिर टाकुरे गाउँ फैलिएको छ। गाउँको शिरमा देवीको मन्दिर स्थापित छ। बालादेवीको केही मुनि पानीको ट्याङ्कीसँगै शिलामा अर्की देवी विराजमान भएको विश्वासमा स्थानीयवासीले पूजा, आराधना गर्ने गरेका छन्। जसलाई कालिका देवीको नाम दिइएको छ।

यहाँ रहेको ठूला ढुङ्गालाई स्थानीयवासीले ३ सय वर्षदेखि बालादेवीका रूपमा मान्दै आएका छन्। ठूलो ढुङ्गामुनि देवीको स्वरूपमा अरू शिला राखिएको छ। जसलाई स्थानीयवासी र श्रद्धालु भक्तजनले साक्षात् बालादेवीका रुपमा मान्ने गरेका छन्।

प्रकाशित: ७ कार्तिक २०८० ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App