१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

इजरायल द्वन्द्वः अभिभावकलाई सन्तानको सुर्ता

इजरायल द्वन्द्वमा फँसेका नेपाली विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रको अंश। तस्बिरः सुरज भण्डारीको फेसबुक पेज।

कास्कीको अन्नपूर्ण गाउँपालिका–२, शेराचौरका सुरज भण्डारी (२४) एक महिना अघि मात्र इजरायल पुगेका थिए। एघार महिने प्रयोगात्मक अभ्यासका लागि भण्डारी इजरायल उडेका थिए। तर, इजरायल टेकेको महिना दिन पुग्नै लाग्दा भण्डारी सहितका विद्यार्थी समूह द्वन्द्वको चपेटामा परेका छन्।

उनै भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई देशको चपेटामा परेर ज्यान गुमाउन नचाहेको भन्दै सोमबार पत्र पनि लेखेका छन्। भण्डारीले लेखेको पत्र अहिले सामाजिक सञ्जालदेखि संचारमाध्यममा भाइरल बनेको छ। सुरजले प्रधानमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखिरहँदा यता शेराचौरमा रहेका परिवारका सदस्य भने निकै नै तनावमा छन्। छोरालाई कतै केही पो भइहाल्ने हो की भन्ने त्रासमा परिवारका सदस्य छन्।

‘तीन दिन भयो, मन शान्त छैन, कतिखेर के नराम्रो कुरा सुन्नुपर्ने हो भन्ने डर लाग्छ। कतैबाट फोन आउँदा पनि तर्सिने गरेका छौ,’ सुरजका बुबा निलकण्ठ भण्डारीले भने। बुबा निलकण्ठका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय अन्तर्गत कास्कीको पुरुन्चौरस्थित प्राकृतिक श्रोत व्यवस्थापन कलेजमा भण्डारी अध्ययनरत थिए। 

एघार महिने अवधिको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न भण्डारी जस्ता विद्यार्थी पुगेका थिए। सरकारले यो कार्यक्रम अन्तर्गत अहिले इजरायलमा २ सय ६५ जना नेपाली विद्यार्थी रहेको जानकारी दिइसकेको छ।

‘छोरा इजरायल पुगेको एक महिना हुनै लागेको थियो, तर, यस्तो द्वन्द्वको चपेटामा परेका छन्। भण्डारी जस्ता धेरै छोराछोरी अहिले मारमा छन्। उता छोराछोरी मारमा छन्, यता अभिभावकलाई उस्तै सुर्ता छ,’ सुरजका बुबा निलकण्ठले भने। उनका अनुसार सोमबार बिहानसम्म छोरासँग फोनमा कुरा भएको थियो। तर, पछि फेसबुक म्यासेन्जरमा आफुहरु सुरक्षित रहेको भन्ने सन्देश पठाएका छन्।

‘अहिलेसम्म ठिकै छौ, केही साथीहरु हतास भएको सुनेका छौ। अरु साथीहरुलाई पनि हामी भएकै ठाउँमा ल्याउने कुरा भएको छ भनेर छोराले जानकारी दिएको थियो,’ सुरजको भनाई उद्घृत गर्दै बुबा निलकण्ठले भने, ‘कुनैपनि बेला समस्या आउन सक्छ भनेर भनेको छ। छोराको कुरा सुन्दा हाम्रो ओठमुख सुकेको छ। सरकारले जतिसक्दो छिटो हाम्रा छोराछोरीलाई स्वदेश फिर्ता गरोस् भन्ने चाहेका छौं।’

छोरा सुरजले प्रधानमन्त्रीलाई समेत सम्बोधन गर्दै पत्र लेखेको बारे आफूले थाहा पाएको बुबा निलकण्ठले बताए। ‘हाम्रा छोराछोरी यो बेला कमाउन भन्दा पनि पढ्न गएका हुन। भोलिको भविष्य देखेर पढ्नका लागि पठाएका हौ, तर, समस्यामा परेका छन्,’ उनले भने। उनका अनुसार छोराले गोलभेडा फर्ममा काम गर्थे। दिनमा १० देखि ११ घण्टा काम गर्ने गरेका थिए। सातामा दुई दिन भने विश्वविद्यालयमा जानै पर्ने थियो।

‘सुरज बसेको भन्दा केही टाढा अहिले द्वन्द्वको असर अधिक छ। तर, कुनैपनि बेला कहीँ कतै पनि आक्रमण हुनसक्ने त्रासमा उनीहरु छन्,’ बुबा निलकण्ठले भने। घटना घटेको पहिलो दिनदेखि नै आफुहरुको होसहवास उडेको उनले बताए। 

‘छोराले भर्खरै आक्रमण भयो भनेर अस्ति नै घरमा फोन गरेर जानकारी दिएको थियो। उनीहरु सुरक्षित त छन्। तर कुनैपनि बेला आफुहरु बसेको ठाउँमा आक्रमण हुन सक्ने त्रासमा पनि रहेको भनेर बताएपछि हामीलाई तनाव भएको छ,’ उनले भने।

निलकण्ठका दुई सन्तानमध्ये सुरज एक मात्र छोरा हुन्। अर्की छोरी छिन्। निलकण्ठ गाउँमै किसानी पेशामा छन्। छोरा र उनका अरु साथी सहित इजरायलमा रहेका सबै नेपालीलाई बेलैमा घर फर्काएर सुरक्षित बनाइदिन अभिभावकले पनि सरकारसँग गुहार मागेका छन्। 

‘यो बेला अरु केही चाँहिदैन, जतिसक्दो छिटो छोराछोरी घर फर्किए हुन्थ्यो भन्ने भएको छ,’ बाबु निलकण्ठले भने, ‘द्वन्द्वको मारमा परेको छोरा कहिले घर फर्केला भन्ने चिन्ता मात्र छ।’

यता सुरजले भने प्रधानमन्त्रीलाई पत्र लेख्दै स्नातक तह सकिनै लागेको आफ्नो समूहको ११४ जना विद्यार्थी इजरायल पुगेको उल्लेख गरेका छन्। ‘११ महिनामा केही सीप सिकेर नेपाल फर्किएर नेपालमै केही गर्ने सपनाको संसार भत्किन गइराखेको छ,’ भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ, ‘आत्मबल पनि घटिरहेको छ। मानसिक तनावमा पुग्न लागेका छौ। धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन।’ आकाशमा चरा उडेको देखेका आफुहरु अहिले मिसाइल र फाइटर प्लेन देख्नुपरेको उनले पत्रमा उल्लेख गरेका छन्। बंकरमा समेत आफुहरु असुरक्षित रहेको भण्डारीको पत्रमा उल्लेख छ।

हलामा परेमा गोली निल्नुको विकल्प नरहेको पत्रमा उल्लेख छ। आफुहरुलाई तत्कालै स्वदेश फर्किने मन रहेको पनि भण्डारीले पत्रमा समेटेका छन्। 

‘प्रधानमन्त्री ज्यू, अबको हाम्रो आशा पनि तपाईँ नै हो, भरोसा पनि तपाईँ नै हो, दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन,’ भण्डारीको पत्रमा समेटिएको छ, ‘प्रधानमन्त्रीको प्रत्याभूति तपाईँले गराउनु हुनेछ, हाम्रो विश्वास पनि छ। यही विश्वासमा सास अडिएको छ।’

प्रकाशित: २२ आश्विन २०८० १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App