२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हमास हमलामा १० नेपाली मारिए, तत्काल उद्धार गर्न सरकारसँग माग

प्यालेस्टिनी विद्रोही समूह हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । इजरायलस्थित नेपाली दूतावासले आइतबार राति विज्ञप्ति जारी गरेर आक्रमणमा १० नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । घाइते चार नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले इजरायल सरकारसँग समन्वय गरेर शव नेपाल पठाउन र उद्धारपछि  इच्छुकलाई स्वदेश फर्काउन प्रबन्ध मिलाउने पनि बताएको छ ।  

परराष्ट्रमन्त्री एनपी साउदले पनि इजरायलमा केही नेपालीको निधनको खबर प्राप्त भएको बताए । उनले इजरायलमा अलपत्र नेपालीको सुरक्षा र उद्धारमा सरकार लागिपरेको जानकारी दिए । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मन्त्रालयमा आएको सूचनालाई पुष्टि गर्ने काम भइरहेको बताइन् । ‘हामीलाई विभिन्न सूचना आएका छन्, सबै सूचना पुष्टि गरेर सोमबार आधिकारिक रूपमा भन्छौं,’ उनले भनिन् ।

यसैबीच सांसदहरूले इजरायल सरकार र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्ध चपेटामा परेका नेपालीलाई छिटो उद्धार गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरूले इजरायल र हमासबीचको युद्ध लम्बिने संकेत देखिएकाले त्यहाँ रहेका नेपालीको छिटो उद्धार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले तदरुकताका साथ काम गर्नुपर्ने बताए । उनले सरकार अभिभावक भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलका प्रधानमन्त्रीसँग सम्पर्क गरेर त्यहाँ रहेका नेपालीको उद्धारमा विलम्ब गर्न नहुने बताए । गिरीले परराष्ट्रमन्त्रीले पनि सदनमा घटना सुनाएर मात्र भनेर नहुने भन्दै तत्काल नेपालीको उद्धारका लागि पहल गर्नुपर्नेमा जोड दिए ।  

गिरीले संयुक्त राष्ट्रसंघको जारी महासभामा नेपाली प्रतिनिधिले इजरायलमा आपत्मा परेका नेपाली नागरिकका बारेमा सघन ढंगले कुरा राखेर राष्ट्रसंघको पनि ध्यानाकर्षण गर्नुपर्ने बताए । उनले रोजगारीका लागि हजारौं र अध्ययनको सिलसिलामा सयौं नेपाली इजरायल गएको औंल्याए । इजरायलमा रहेका नेपालीले जीवन रक्षाका लागि गरेको अपिलमा सरकार गम्भीर बन्नुपर्ने बताए ।  

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी इजरायल र प्यालेस्टिनी विद्रोही हमासबीच लामो समयदेखि चल्दै आएको र अहिले त्यसको चपेटामा नेपाली पनि परेको बताए । इजरायलमा आपत्मा परेका नेपालीको जीवनरक्षाका लागि सरकारले तत्काल उद्धार गर्नुपर्ने उनले बताए ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का धवलशमशेर जबराले इजरायलमा युद्धमा परेका नेपालीको उद्धारका लागि तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गरे । ‘त्यहाँ संघर्ष लम्बियलाला जस्तो छ, त्यसैले त्यहाँ रहेका नेपालीको उद्धार तत्काल गर्नुपर्छ,’ उनले भने ।  

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले हमासले इजरायलमाथि गरेको आक्रमणबाट नेपाली असुरक्षित भएकाले तत्काल उद्धारका लागि विशेष पहल गर्नुपर्ने बताए । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले पनि इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न आग्रह गरे । ‘अहिले त्यहाँ रहेका विद्यार्थी पनि गम्भीर अवस्थामा छन् । नेपाल सरकारलाई तुरुन्त उद्धार गर्न माग गर्छु,’ उनले भने । जनमत पार्टीका सांसद अब्दुल खानले प्यालेस्टिनी विद्रोही समूह र इजरायलबीचको युद्धका कारण त्यहाँ रहेका नेपाली समस्यामा परेकाले छिटोभन्दा छिटो उद्धार गर्न माग गरे ।  

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्यालेस्टिनी र इजरायलबीचको युद्धमा नेपाली परेकाले यसलाई संवेदनशील रूपमा लिएर सरकारले चाँडोभन्दा चाँडो उद्धार गर्नुपर्ने बताए । कांग्रेसक राजेन्द्र बजगाईंले पनि इजरायलमा अवस्था गम्भीर भएकाले त्यहाँ रहेकाा नेपालीको उद्धारमा सबै जुट्नुपर्ने बताए ।  

१२ विद्यार्थी सम्पर्कबाहिर: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीमध्ये १२ जना सम्पर्कबाहिर रहेको बताएका छन् । प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट इजरायलमा गरेको आक्रमणपछिको अवस्थाबारे प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् । उनले आक्रमण क्षेत्रमा रहेका १७ जनामध्ये तीनजना घाइते भएको र दुई सकुशल रहेको जानकारी गराए । उनले १२ जना सम्पर्कमा नआएको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताए ।

इजरायलमा अहिले ४ हजार ५ सय नेपाली ‘केयर गिभर’को रूपमा छन् । त्यस्तै अहिले इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २ सय ६५ जना नेपाली विद्यार्थी छन् । जसमध्ये कृषि विश्वविद्यालयबाट १ सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी त्यहाँ गएको जानकारी प्राप्त भएको उनले बताए । 

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ विद्यार्थीमध्ये १७ जना दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा थिए । इजरायलस्थित नेपाली दूतावासबाट प्राप्त पछिल्लो जानकारी अनुसार किबुज अलुमिन गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट ठुलो आक्रमण भएकाले अध्ययनका क्रममा रहेका १७ विद्यार्थीमध्ये १२ जना सम्पर्कमा आएका छैनन् । तीनजना घाइतेको उपचार अस्पतालमा भइरहेको छ ।

इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन र उद्धारलगायतका विषयमा निर्णय लिन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बिहान बसेको बैठकले एउटा संयन्त्र बनाएको जानकारी पनि मन्त्री साउदले दिए ।

यसैबीच नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार थाल्न सरकारलाई आग्रह गरेका छन् ।  

प्रकाशित: २२ आश्विन २०८० ००:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App