१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुरमा मनाइयो पुलुकिसी जात्रा

पुलुकिसीलाई नगर परिक्रमा गराइँदै।

हजारौँ नगर बासीहरूले हर्षाेल्लाका साथ आज भक्तपुरमा पुलुकिसी (इन्द्रका बाहन ऐरावत हात्ती) जात्रा मनाएका छन । जात्रा साँझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको थियो । प्रत्येक वर्ष यही ठाउँबाट जात्रा सुरु हुने परम्परा छ।

जात्राका क्रममा पुलुकिसी अर्थात् इन्द्रका बाहन ऐरावत हात्तीलाई नगर परिक्रमा गराइएको थियो । बाँसलगायतबाट हात्तीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गराइएको हो । बाँसबाट हात्ती आकार दिई त्यसलाई हात्तीको आकृति लेखिएको सेतो कपडाले छोपेर पुलुकिसी बनाइएको हो।

पुलुकिसीभित्र मानिस बसेर बोक्न मिल्ने गरी बनाइएको हुन्छ।त्यही पुलुकिसीलाई नगर परिक्रमा गराइ जात्रा मनाइएको हो । यो जात्रा हेर्न भक्तपुर नगरभरि बडो उल्लासका साथ हजारौँ मानिस सहभागी भएका थिए । पुलुकिसी परिक्रमा गराइने बाटोभरि हजारौँ मानिस जात्रा हेर्न बसेका थिए।विशेष गरी गल्ली गल्ली भन्दा पनि चोक चोक, जहाँ पुलुकिसीलाई ओहोरदोहोर गराइन्छ, त्यस्ता ठाउँमा हजारौँ दर्शकको भीड लागेको थियो।विशेष गरी भक्तपुर दरबार स्क्वायर, टौमढी, दतात्रय लगायतका चोकहरूमा जात्रा हेर्नेको विशेष भीड लागेको थियो।

पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जना मानिसले अगाडि अगाडि बसेर घण्टा बजाइएको थियो।घण्टा बजाउँदै पुलुकिसी आएको सङ्केत दिँदै नगर परिक्रमा गराइएको हो । यो क्रममा ठाउँं ठाउँं, चोक चोकमा पुलुकिसीलाई ओहोर दोहोर गराइएको थियो । साथै पुलुकिसीसँंग हिँडेका मानिसले अगाडि छ्वाली बालेर अगाडि बढेको थियो।

जात्रा लाकुलाछेंबाट सुरु भई त्यही पुगेर टुङ्गिने चलन छ । यो बिचमा लाकुलाछेंबाट गाई जात्राको क्रममा नगर परिक्रमा गराउने रुट भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरबार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको थियो । दरबार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइएको थियो । त्यहाँबाट पुन इनाचो, गोल्मढी हुँदै टौमढी ल्याइ लाकुलाछेमै पुगेर जात्रा सम्पन्न गरिएको थियो।

पुलुकिसी बनाएर जात्रा सुरु हुने स्थानीय लाकुलाछे टोलवासीका अनुसार जात्राका लागि आवश्यक सबै तयारी स्थानीयले गर्ने गर्छ । पहिलाकै जोहो गरेका सामानबाट पुलुकिसी बनाएको उनीहरुले जनाए । प्रत्येक वर्ष पुलुकिसी बनाइ नगर परिक्रमा गरेपछि आफूहरूले ती सामानलाई अर्को वर्षका लागि स्थानीय पाटीमा जोहो गरेर राख्ने स्थानीयले सुनाए।

पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ।नगर परिक्रमा गराउँदा सुँडले छोएमा विरामी हुने वा मृत्युसम्म हुने जनविश्वासका छ । तर हिजोआज उत्श्रृंखल युवाहरू त्यही सुँड समातेरै पुलुकिसीसँंगै हिँड्छन् । नगर परिक्रमा गराउने क्रममा तलातुंछी (इनार)मा पुगेपछि पानी खुवाउने चलन छ।

कला संस्कृति भजन महागुथिका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा चलाइँदै आएको छ । पारिजात फूल टिप्न पृथ्वी लोक आएका छोरालाई बन्धक बनाएपछि उसलाई खोजेर स्वर्गमा लैजान आफ्नो बाहन ऐरावत हात्तीलाई पृथ्वीमा घुम्न पठाएको किंवदन्ती रहेको उनले सुनाए।पुलुकिसी जात्रासँगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको छ।

प्रकाशित: १६ आश्विन २०८० १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App