३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

‘ज्वालामुखीले विलुप्त भएका थिए डायनोसर’

६ करोड ६० लाख वर्षअघि विलुप्त भएको डायनोसरको पारासाउरोलोफस वाकेरी प्रजाति। तस्बिर स्रोत: साइन्सन्युज

पृथ्वीमा १८ करोड वर्षसम्म राज गरेका भीमकाय डायनोसरको विनाश हुनुमा क्षुद्र ग्रह (एस्टर्वाइड) को प्रहार अथवा भीषण ज्वालामुखी विस्फोटनमध्ये एक कारण हुन सक्ने वैज्ञानिकहरूले तर्क गर्दै आएका थिए।

करिब ६ करोड ६० लाख वर्षअघि भएको यही परिघटनाका कारण वायुमण्डलमा तापक्रममा आएको परिवर्तनले डायनोसरसहित पृथ्वीमा रहेका तीन तिहाइ जीवजन्तु नष्ट भएका थिए। यो विनाशसँगै भौगर्भिक हिसाबले परिभाषित गरिएको क्रेटासिएस युगको अन्त्य भएको थियो।

खासमा डायनोसर के कारणले विलुप्त भएका थिए त भन्ने विषय पत्ता लगाउन गरिएको नयाँ अध्ययनले क्षुद्र ग्रहका कारण नभई पृथ्वीमा भएको भीषण ज्वालामुखी विस्फोटन नै कारक रहेको देखाएको छ।

वैज्ञानिक जर्नल साइन्समा गत साता प्रकाशित सामग्रीअनुसार कम्युटेसनल विधिबाट गरिएको सो अध्ययनले हाल पश्चिमी भारतको ‘डेक्कन ट्र्याप्स’ क्षेत्रमा आएको भीषण ज्वालामुखी विस्फोटका कारण निस्केको ग्याससहितको लाभाका कारण पृथ्वीको तीन तिहाइ जीव विलुप्त भएको देखाएको छ।

यो विस्फोट लगातार १० लाख वर्षसम्म जारी थियो। शोधकर्ताले खोजको नवीनतम विधिअन्तर्गत त्यतिबेलाका उपलब्ध प्रमाणहरूको समीक्षा गरेका थिए। त्यसका लागि समुद्रको भित्री गहिराइसम्म ड्रिलिङ गरिएको थियो। संकलित प्रमाणले त्यतिबेलाको वायुमण्डललाई तताउन कार्बनडाइअक्साइड र समुद्रलाई अम्लीय पार्ने सल्फर डाइअक्साइड ग्यासको ठुलो स्तरमा उत्सर्जन भएको देखिएको हो।

तर यस्ता खाले ग्यास क्षुद्र ग्रह पृथ्वीमा ठोक्किँदा, चट्टान पग्लँदा निस्कने र ज्वालामुखीका कारण पनि निस्कने भएकाले यसलाई निक्र्योल गर्न अनुसन्धानमा संलग्न भूगर्भविद् अलेक्जेन्डर कोक्स र वे्रनहिम केलरले ‘मार्काेभ चेन मोन्टे कार्लाे एप्रोच’ नामक तथ्यांकीय मोडलको सहायता लिएका थिए।

यो मोडलअन्तर्गत वैज्ञानिकले विभिन्न परिदृश्यमा हुने ग्यास उत्सर्जनको तुलना गरेका थिए। ड्रिलिङमार्फत झन्डै ६ करोड ७० लाख देखि ६ करोड ५० लाख वर्षअघि पृथ्वीको भित्री तहमा थिग्रिएर रहेका सूक्ष्म जीव फोरामिनिफोराका जीवाश्मको बाहिरी आवरण (सेल) को अध्ययन गरिएको थियो।

यी जीवाश्मका कार्बाेनेटयुक्त बाहिरी आवरण (सेल) मा कार्बन र अक्सिजनका विभिन्न समस्थानिका (आइसोटप्स) हरू रहेकाले वैज्ञानिकले यही रासायनिक गठनका आधारमा त्यतिबेलाको सामुद्रिक रसायनको तथ्यांक संकलन गरेका थिए। यही आधारमा त्यतिबेलाको तापक्रम र समुद्रमा कति जीवहरू थिए भनेर आकलन गरिएको थियो। यसैगरी वैज्ञानिकले त्यतिबेला वायुमण्डल, समुद्र र जमिनमा कति मात्रामा कार्बनको प्रवाह भएको थियो भन्ने हिसाबकिताब गरेका थिए।

अध्ययनले ज्वालामुखीका कारण उत्सर्जित ग्यासले वायुमण्डलको तापमान बढाउन पर्याप्त रहेको देखाएको छ। यसैगरी ज्वालामुखीकै कारण सूक्ष्म जीव फोरामिनिफोरामा भएको कार्बन प्रवाह (कार्बन साइक्लिङ) ले पनि यही तथ्यलाई प्रमाणित गरेको थियो।

 उता क्षुद्रग्रहले अहिलेको मेक्सिकोमा चिक्सुलव क्रेटर (खाडल) बनाएको थियो र यो प्रहारका कारण त्यति ठुलो स्तरमा कार्बन डाइअक्साइड अथवा सल्फर डाइअक्साइडको उत्सर्जन नभएकोे वैज्ञानिक समीक्षा छ। ज्वालामुखीपछि भएको लाभाको प्रवाहको हिसाबकिताबभन्दा यसले गरेको ग्याँस उत्सर्जनमा शोधकर्ताले बढी ध्यान दिएका थिए। यसअघिका अध्ययनले क्षुद्र ग्रह पृथ्वीमा खसेपछि निस्केको धुवा र धुलोले पृथ्वीमा सूर्यको प्रकाश रोकेको र यसका कारण भएको चिसोले पृथ्वीमा जीवजन्तु र वनस्पतिको विनाश भएको मानिएकोछ। क्षुद्र ग्रहका कारण पृथ्वीको कार्बन प्रवाह (साइकल) मा धेरै समयसम्म प्रभाव नपरेको नयाँ अध्ययनले देखाएको छ।

प्रकाशित: १५ आश्विन २०८० ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App