४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कागबेनी पुर्ननिर्माणमा सघाउन प्रदेश सरकारको दातासँग अनुरोध

यूएनडिपीका नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेसँग विहीबार छलफल गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिरः नागरिक

गत साउन २८ गते हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारलाई अकल्पनीय बाढीले क्षति पुर्यायो। मानवीय क्षति भोग्नु नपरेपनि भौतिक पूर्वाधारमा भने नोक्सान पुग्यो। गाउँपालिकाले तयार पारेको रिपोर्ट अनुसार बाढीले करिब एकअर्ब रुपैयाँको क्षति गरेको थियो।

प्राकृतिक प्रकोपमा परेका कारण ठुलो क्षति भोगेको कागबेनीको पूर्ननिर्माणमा सघाउन गण्डकी प्रदेश सरकारले दातृ निकायसँग सहयोग मागेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेसँगको विहीबारको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक प्रकोपको चपेटामा परेको काबगेनीको पूर्ननिर्माणका लागि सहयोगको आवश्यकता रहेको बताएका थिए।  

मुख्यमन्त्री पाण्डेले बाढीले कागवेनीमा ठुलो क्षती गर्दा स्थानीयले अहिले पनि सास्ती खेप्नुपरेको बताएका थिए। ब्यक्तिगत, सामुदायिक सरकारी संरचना ध्वस्त भएको बताउँदै सहयोगका लागि दातृनिकायसँग अपेक्षा रहेको पनि उनले बताए। प्रदेश सरकारको सिमित स्रोत र साधनका बीच पुर्ननिर्माणका सबै काम तत्काल पुरा गर्न सहज नभएकाले दातृ निकायले सरकारको योजना अनुसार सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिएका थिए।  

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापामगरका अनुसार बाढीले करिब एकअर्ब रुपैयाँको क्षति गरेको छ। गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार पारेको रिपोर्ट अनुसार सरकारी तथा निजी भौतिक संरचना, पशु, स्याउ, ओखर, सार्वजनिक सम्पत्ति लगायतमा नोक्सान पुगेका थिए। ‘करिब एकअर्ब रुपैयाँको सम्पत्तिमा नोक्सान पुगेको छ,’ थापामगरले भने।  

यूएनडिपीकी लाबेसँगको भेटमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले विपद् जोखिम ब्यवस्थापन तथा भू–उपयोग नीति निर्माणमा प्रदेश सरकारलाई सहयोगको खाँचो रहेको बताए। त्यस्तै प्रदेश भित्र अनुगमन तथा मूल्यांकन प्रणालिको विकास गरि आयोजनाको प्रभावकारी अध्ययन, तथ्यांक ब्यवस्थापन र अध्ययन अनुसन्धान, स्थानीय सुसासन र योजना तर्जुमामा प्रदेश सरकासँग सहकार्य गरि अघि बढ्नुपर्ने बताएका थिए।  

मुख्यमन्त्रीसँगको भेटमा यूएनडीपी प्रतिनिधि लाबेले गण्डकी प्रदेश भित्र संचालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम संचालन गरिने बताईन। प्रदेश सरकारको प्राथमिकतालाई ध्यान दिएर सहयोग गरिने बताउँदै उनले कागवेनीको पुनःनिर्माण र पुर्नस्थापनामा  प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताईन।  

यूएनडिपीले गण्डकीमा फोहोरमैला ब्यवस्थापन, जलवायु परिर्वतन सम्बन्धी कार्यक्रम अगाडि बढाउन चाहेको बताउँदै उनले कालिगण्डकी करिडोरमा जीवनयापन तथा आयआर्जन सम्बन्धी कार्यक्रम सुरुवात गर्ने, हिमताल सम्बन्धी अध्ययन अनुसन्धान अघि बढिरहेको जानकारी गराईन। ‘अहिलेपनि यूएनडिपीले कालिगण्डकी करिडोरमा विभिन्न कार्यक्रम गरिरहेको छ । त्यसबाहेक जलवायु परिवर्तनले पारेको असरबारे पनि अध्ययन गर्न तयार छौ,’ उनले भनिन।  

प्रकाशित: २८ भाद्र २०८० ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App