६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कहिले हेर्न पाउने सन्तानको मुख?

कुसे औंसी/बुबाको मुख हेर्ने दिन

‘काठमाडौंदेखि छोरो गाडी चढिसक्यो रे, आएपछि दागबत्ती दिन्छ भन्ने स्थितिबाट अस्ट्रेलिया–अमेरिकाबाट छोरा आज प्लेन चढ्ने रे, आएपछि दागबत्ती दिन्छ भन्नेसम्म पुगियो,’ सुवास नेम्वाङलाई दागबत्ती दिन छोरा विदेशबाट आउँदै गरेको समाचार पढेपछि प्रदिप रायमाझीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले कस्तो देश बनाउँदै छौं, जहाँ प्रत्येक शवले दागबत्तीका लागि विदेशबाट आउँदै गरेको छोरा कुर्नुपर्ने भयो।’

काम र अध्ययनका लागि दैनिक २ हजारभन्दा बढी युवा बाहिरिँदै गरेको मुलुकको पछिल्लो अवस्थाप्रति टिप्पणी गर्दै लेखिएका प्रतिक्रिया यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन्। यसले धेरैको मन छोएको छ। किनकि यो धेरै घरको साझा कथा हो। यस्तै कथाको एक पात्र हुन्, काठमाडौं कागेश्वरी मनोहरा बस्दै आएका ७५ वर्षीय श्यामबहादुर गुरुङ। एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि सोमबार विदेशमा रहेका छोराको पर्खाइमा रोकिएको खबरले उनी अलि बढी नै दुखी बने।

नेम्वाङजस्तै उमेरका गुरुङका तीन छोरा र एक छोरी विदेशमा छन्। उनले आफूलाई पनि नेम्वाङको जस्तो अवस्था आउने सुनाए। ‘नेम्वाङको मृत्यु र छोरा परदेशमा रहेको खबरमा मैले आफ्नो पीडा पनि देखें,’ गुरुङ भन्छन्, ‘अस्ताउन लागेको जीवनमा छोरा साथ नहुनुको पीडा मैले राम्रोसँग बुझेको छु।’

कुसे औंसीका दिन सन्तानले हाम्रो मुख मात्र हैन, हामीले उनीहरूको अनुहार पनि हेर्न चाहेका हुन्छाैं। सन्तान बिदेसिएपछि हाम्रा लागि औंसी झनै अँध्यारो हुने गरेको छ।

-श्यामबहादुर गुरुङ

गुरुङका जेठा छोरा ९ वर्षदेखि मलेसिया र माइलो छोरा ८ वर्षदेखि अमेरिकामा छन्। उनले छोरी क्यानडामा रहेको उनले सुनाए। ‘घरमा भएको कान्छो छोरा पनि यसै वर्ष कोरिया गयो,’ गुरुङले नागरिककर्मीसँग भने, ‘त्यसैले कुसे औंसीका बेला मेरो मन पनि अँध्यारो भएको छ।’

संखुवासभामा जन्मेका गुरुङ बाहुन–क्षेत्रीसँगैको बसाइका कारण औंसी लगायतका पर्व मनाउँदै आएको बताउँछन्। ‘औंसीमा आफ्नो मुख हेर्न आएका छोराछोरीको अनुहार नियाल्नुको खुसी पनि बेग्लै हुन्छ,’ उनले भने, ‘मुलुकको कमजोर अवस्थाका कारण हामीले सन्तानको मुख हेर्न पाइरहेका छैनौं। अब हामीले सन्तानको मुख कहिले हेर्ने?’

आफूले परिश्रम गरेर भए पनि सन्तानको सुखका लागि शिक्षामा कुनै कमी हुन नदिएको उनले सुनाए।

‘मेरो माइलो छोराले त एमए पास गरेर पनि रोजगारीका लागि अहेब पनि पढ्यो,’ उनले भने, ‘तर सोर्सफोर्सको कमीमा उसले देशमा रोजगारी पाउन सकेन।’ बिदेसिनु सन्तानको बाध्यता रहेको र आफूहरूले पनि पीडा लुकाएर बिदाइ गर्नुपरेको उनले बताए।

गुरुङको जस्तै अवस्था छ, उनका छिमेकी हरिलाल फुयाँलको पनि। फुयाँलका एक्ला छोरा वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा छन्। ‘पहिला पनि छोरो ४ वर्ष कोरिया बसेर आएको थियो,’ फुयाँलले भने, ‘एक वर्षजति घरमा बसेपछि फेरि उतै काममा गएको छ।’

औंसीको मुखमा उनी पनि १५ महिनाकी नातिनी काखमा राखेर टोलाइरहेका छन्। ‘यसैको मुखमा मैले छोराको अनुहार नियाल्ने छु,’ फुयाँलले भने, ‘यी नातिनीले पनि औंसीमा आफ्नो बुबाको अनुहार हेर्न पाउँदिनन्’, ‘मेरा आँखासँगै नातिनीका आँखाले पनि परपर नियाल्दा बाउ खोजेको महसुस हुन्छ,’ उनले भने, ‘यस्तो बेला नरमाइलो लाग्दो रहेछ।’

औंसीका दिनमा मात्र हैन, हरेक साँझ भान्सामा पनि सन्तानकै कमी भेटिने उनले सुनाए। दसैंको टीकाका दिन पनि तस्बिर नियाल्नुपर्ने अवस्था आएको उनी बताउँछन्। ‘मैले छोराको मुख हेर्न नपाउने भएँ, नातिनीले बुबा मुख हेर्न पाउने भइनन्,’ फुयाँल भन्छन, ‘हामी सुखी छौं कि दुखी छौं त्यो पनि थाहा छैन।’

सिन्धुपाल्चोक घर भइै हाल भक्तपुर गोठाटार बस्दै आएका ७१ वर्षीय पूर्ण थापाको पीडा पनि उस्तै छ। उनका पनि दुवै छोरा रोजगारीका लागि मलेसियामा छन्। ऋण लिएर छोरालाई विदेश पठाएको उनले बताए। ‘यो रोजेको हैन तर भोगेको कथा हो,’ उनी भन्छन्, ‘औंसीमा मात्र हैन, हरेक दिन हाम्रा आँखाले सन्तान खोज्छन्।’

बुढेसकालमा सन्तानको निकै खोजी हुने उनले सुनाए। ‘हामी बाँच्दैमा उनीहरू फर्किने वातावरण मुलुकमा भैदिए हुन्थ्यो,’ उनी भन्छन्, ‘छोराको मुख हेर्न दिन कुर्दाकुर्दै जिन्दगी सकिएला भन्ने डर छ।’

औंसीका दिन दागबत्तीको उज्यालोमा सुवासका सन्तानले पिताको अनुहार त देख्लान् तर सन्तानको अनुहार हेर्न लालायित वृद्ध पिताका आँखा सधैंका लागि बन्द भइसकेका छन्।

-हरिलाल फुयाँल

संविधानसभाका अध्यक्ष नेम्वाङको निधन र अन्त्येष्टिका लागि बिदेशिएका छोराको पर्खाइसम्बन्धी समाचारमा थुप्रै प्रतिक्रिया सामाजिक सञ्जालतमा पोखिएका छन्। नेम्वाङका विदेशिएका दुई छोरा बुधबार घर आइपुगेका छ्न। नेम्वाङ अन्त्येष्टि बिहीबार हुने भएको छ।

 ‘कुसे औंसीका दिन दागबत्तीको उज्यालोमा सुवासका सन्तानले पिताको अनुहार त देख्लान्,’ सामाजिक सञ्जालमा नरेन्द्र कार्की लेख्छन्, ‘तर छोराको अनुहार हेर्न लालायित वृद्ध पिताका आँखा सधैंका लागि बन्द भइसकेका छन्।’

प्रकाशित: २८ भाद्र २०८० ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App