२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन्। बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन्।

बाम्राङस्थित वडा कार्यालयमा भेला हुने महिलाले छोटो समयमै बाँसका चोयाबाट घरायसी काममा प्रयोग हुने रहरलाग्दा विभिन्न सामग्री बनाइरहेका छन्। गाउँमा बेरोजगार रहेका महिलालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा महिला उद्यमी संघले बाँसका सामग्री निर्माण सम्बन्धी एक महिने तालिमको आयोजना गरेको हो।

यही भदौ १० गतेदेखि थालेको बाँसको सामग्री निर्माणसम्बन्धी तालिममा सहभागी महिलालाई बाँसका चोयाबाट पेनकेस, र्‍याक, फूलदानी, डुंगा बास्केट र डस्बिन बुन्ने सीप सिकाउने गरिएको छ। तालिममा सहभागी महिला आफैं बाँस ढाल्छन् र सोही बाँस फुटाएर आफैं चोया काढ्छन्।

बाँसका चोयाबाट बन्ने घरायसी सामग्री निर्माण गर्न १५ दिन सिकेकी स्थानीय प्रेलिना राई अहिले आफैं सहप्रशिक्षक बनेकी छन्। केन्द्रबाट आएकी शर्मिला लामाले १५ दिन प्रशिक्षण दिएर गएपछि अहिले प्रेलिनाले सिकाउँदै छिन्। तालिममा सहभागीमध्ये उत्कृष्ट बनेर सामग्री बुन्दै अरूलाई पनि सिकाउँदै आफू पनि सिक्दै आएकी प्रेलिना यही पेसाबाट जीविकोपार्जन गर्न सकिने बताउँछिन्।

‘पुरुषले गर्दै आएको बाँसका सामग्री निर्माण गर्ने काम गरेर व्यावसायिक बन्ने योजना छ’, उनले भनिन्, ‘गाउँघरमा प्रायः पुरुषले गरिरहेका यस्ता काम महिलाबाट पनि सम्भव हुन्छ भन्ने यसअघिसम्म लाग्दैन थियो तर अहिले सिक्दै जाँदा सम्भव हुने रहेछ भन्ने लागेको छ। गाउँमा बाँस टन्न पाइन्छ। तालिमपछि यही व्यवसाय गर्ने सोच छ।’

तालिममा सहभागी ३० महिलामध्ये बाम्राङका २५,वडा नं १ दिक्तेलका चार र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एकजना रहेका छन्।

तालिममा सहभागी अधिकांश महिलाले तालिमपछि आआफ्नो गाउँ फर्किएर यही पेसा अपनाउने बताएका छन्।

गाउँमा बेरोजगार रहेका महिलालाई बाँसका सामग्री बनाएर आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महिला उद्यमी संघकी कोषाध्यक्ष सञ्जु खत्री (बस्नेत)ले बताइन्।

‘सामग्रीको बजारीकरण संघले गर्ने योजना बनाएका छौं’, उनले भनिन्, ‘१५ जना उत्कृष्ट छानेर माद्रो, नाङ्लो, डालो लगायत सामग्री बुन्न सिकाउने तयारी छ। तालिममा सहभागी महिलालाई खाना, खाजा तथा यातायात खर्चवापत १५ हजार रुपैयाँका दरले भत्तासमेत उपलब्ध गराइएको छ।’

दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्समा कोसेली घर खोल्ने तयारी छ। यसका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ। यसअघि महिला उद्यमी संघले महिलालाई अचार बनाउने र खोसेलाबाट सजावटका सामग्री निर्माणसम्बन्धी तालिम दिएको थियो।  

प्रकाशित: २७ भाद्र २०८० ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App