२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेम्वाङको गृहजिल्लामा शोक- रोङ र माङ्सेबुङ गाउँपालिकामा बिदा

इलामस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा नेम्बाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न भेला भएका जिल्लाबासी ।

नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निधनप्रति जिल्लाबासीले शोक व्यक्त गरिरहेका छन् । २०५६ सालदेखि निरन्तर इलामबाट चुनाव जितेर संविधानसभा अध्यक्ष, सभामुख, पटक–पटक मन्त्री र संसदीय समितिको सभापतिसमेत बनेका नेम्बाङको निधनले जिल्ला शोकमग्न छ ।

नेकपा (एमाले) जिल्ला कमिटीले बिहानै पार्टी कार्यालयमा शोकसभा आयोजना गरेको छ । शोकसभामा जिल्लास्थित पार्टी नेता–कार्यकर्ता र अन्यले उनको तस्बिरमा माल्यार्पण गरेका छन् । संविधानसभा अध्यक्ष र इलाम क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्बाङको निधनमा शोक व्यक्त गर्दै जिल्लाको रोङ गाउँपालिकाले आज एक दिनका लागि शोकबिदासमेत दिएको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले विज्ञप्ति जारी गरी शोकबिदा घोषणा गरेका हुन् । माङ्सेबुङ गाउँपालिकाले पनि आजका लागि पालिकाभर शोक बिदा दिएको अध्यक्ष हेमन्त राईले जानकारी दिएका छन् ।  

जिल्लाका राजीतिक अभिभावकसमेत रहेका नेम्बाङको निधनमा एमालेमात्र नभइ सबै दल र क्षेत्रका व्यक्तिले शोक व्यक्त गरेका छन् । नेम्बाङको निधनले जिल्लालाई पनि अपुरणीय क्षति पुगेको उनीहरूको प्रतिक्रिया छ ।  

गृहजिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेम्बाङले संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेको बताएका छन् । खनालले आफ्ना सहपाठीसमेत रहेका नेम्बाङको निधनले क्षति पुगेको उल्लेख गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका खनालले नेम्बाङ र आफूबीच पार्टी विभाजनपछि पनि पटक–पटक सम्पर्क हुनेगरेको उल्लेख गरेका छन् । ‘हामी अलग पार्टीमा हुँदा पनि हाम्राबीच सधैं सम्पर्क र सम्बन्ध भइरहन्थ्यो । पार्टी विभाजन भएकोप्रति उहाँ निकै दुःखी हुनुहुन्थ्यो,’ खनालले लेखेका छन्, ‘मिलेर काम गर्ने उपाय के हुनसक्छ भन्ने बारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो । आखिर अनेक सम्भावना अगाडि हुँदाहुँदै पनि उहाँको दुःखद् निधन भएको छ ।’  

इलाम क्षेत्र १ बाट विजयी महेश बस्नेतले पनि नेम्वाङले इलाम र राष्ट्रको एक असल नेता गुमाएको प्रतिक्रिया दिएका छन् । एमाले इलामका अध्यक्षसमेत रहेका बस्नेतले नेम्बाङ एक कुसल र त्यागी नेता भएको बताए ।

इलामको निर्वाचन क्षेत्र २(२)बाट निर्वाचित कोसी प्रदेशसभा सदस्य रामबहादुर रानामगरले नेम्बाङको निधनले सिंगो देशलाई क्षति भएको जनाएका छन् । नेकपा (माओवादी केन्द्र)का नेता धिरेन शर्मा रमणले वाम आन्दोलनमा महत्वपूर्ण योगदान दिएका नेम्बाङ सधैं वाम एकताकै पक्षमा रहेको स्मरण गरेका छन् । नेम्बाङले जिल्लाको जुनसुकै काम गर्दा राजनीतिक पूर्वाग्रह नराख्नेगरेको शर्माले बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष भक्त केसीले देशले एक होनहार कम्युनिस्ट नेता गुमाएको बताएका छन् । लामो समय आफूहरूले एउटै पार्टीमा सहकार्य गरेको सम्झिँदै केसीले देश र जिल्लाको समग्र विकासले नेम्बाङले कहिल्यै पक्षपात नगरेको बताए । ‘नेम्बाङ मेरो समकालीनजस्तै हुनुहुन्थ्यो,’ केसीले भने, ‘देशले एक कुसल, सालीन र क्षमतावान् नेता गुमाएको छ ।’

नेपाली कांग्रेसका जिल्ला नेता तथा पूर्वसांसद बेनुपराज प्रसाईंले नेम्बाङले राजनीति गर्छु भन्नेहरूलाई  सदाचार, शिष्टता, नम्रता, लगनशीलता राजनीतिको पहिलो खुड्किलो हो भन्ने सिकाएको बताएका छन् । ‘चाहे तिनीहरूले ग्रहण गरून् वा नगरून्, तिमीले राजनीति गर्छु भन्नेहरूलाई  सदाचार, शिष्टता, नम्रता, लगनशीलता, ज्ञानशीलता राजनीतिको पहिलो खुड्किलो हो भनेर सिकाएर गयौ,’ नेम्बाङका बाल्यकालदेखिका साथी प्रसाईंले भने, ‘आखिर को पो नवौ चिरञ्जीवी छ र ? आफ्नो कर्तव्य पूरा गरेर गयौ ।’  

नेम्बाङकै निर्वाचन क्षेत्रमा पर्ने इलाम नगरपालिका मेयर तथा कांग्रेस नेता केदार थापाले नेम्बाङको निधनले देशै शोकाकुल भएको बताएका छन् । इलाम नगरले शोक विज्ञप्तिसमेत जारी गरी नेम्बाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना दिएको छ । नेम्बाङकै निर्वाचन क्षेत्रको चुलाचुली गाउँपालिका अध्यक्ष तथा कांग्रेस नेता राजेन्द्र केरुङले इलामले एक असल अभिभावक गुमाएको बताएका छन् । उनले विकासका काममा समेत नेम्बाङले महत्वपूर्ण योगदान गरेको जनाएका छन् ।  

देउमाई नगरपालिकाले पनि नेम्बाङको निधनमा शोक व्यक्त गरेको छ । मेयर तथा एमाले नेता सूर्य पोख्रेलले नेम्बाङ जिल्लाबासी र देशबासीका अभिभावक, आस्था, त्याग र समर्पणका धरोहर भएको उल्लेख गरेका छन्  । इलामस्थित उच्च अदालत नेपाल बार एसोसिएसनका अध्यक्ष उत्तम पौडेलले २०४२ सालमा इलाममा जिल्ला बार एसोसिएसन स्थापना हुँदा संस्थापकमध्येका नेम्बाङको निधनप्रति शोक व्यक्त गरेका छन् । अनेरास्ववियु केन्द्रीय सदस्य नितेश राईले नेम्बाङको निधनले इलामको मियो ढलेको जनाएका छन् । ‘इमानदारी र सालिनताको पर्यावाची व्यक्तित्व आज ढलेको छ ! नैतिकता र इमानदारको उदाहरण उहाँ अस्ताउनुभएको छ,’ उनले उल्लेख गरेका छन् ।  

प्रकाशित: २६ भाद्र २०८० ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App