१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रोकिएन आत्महत्याका घटना

आइतबार विश्व आत्महत्या रोकथाम दिवस मनाइरहेका बेला कपिलवस्तुमा भने आत्महत्याका घटना बढ्दो छ। चालु आर्थिक वर्षको साउनदेखि भदौ २३ सम्म ५५ दिनको अवधिमा १९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आत्महत्या गर्नेमा अधिकांशतः किशोर–किशारी र महिला रहेका छन्।

गत आव २०८९/८० मा मात्र जिल्लामा एक सय ४६ घटना भएकोमा एक सय ४७ जनाले ज्यान गुमाएका थिए, जसमा पुरुष ८२ जना, महिला ४४ जना, बालक पाँचजना र बालिका १६ जना थिए।

आव २०७८/७९ मा एक सय ६९, २०७७/७८ मा एक सय ५१ जना र २०७७/७७ मा एक सय ३० जनाले आत्महत्या गरेका थिए। उनीहरूले झुन्डिएर, विष सेवन, आत्मदाह, फाल हालेर आत्महत्या गरेका थिए। बढ्दो महँगी, बैंक ऋण तिर्न नसकेर, बेरोजगार, बदलिँदो सामाजिक परिवेश, निराशापन, मानसिक यातना, प्रेममा असफलताका कारण अधिकांशले आत्महत्या गर्ने गरेको पाइएको छ।

उता विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा कपिलवस्तुमा एक दम्पतीले सामुहिक आत्महत्या गरेका छन्। शुक्रबार राति शुद्धोदन गाउँपालिका ३ कटभरियाका दुर्गेश मल्ल र उनकी पत्नी सलोेचना मल्लले झुन्डिएर आत्महत्या गरे।

आफ्नै घरको कोठामा पंखा झुन्ड्याउने कुन्डीमा एउटै साडीमा पासो लगाई दुवैले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। पाँच वर्षअघि उनीहरूको विवाह भए पनि सन्तान थिएनन्। 

प्रकाशित: २५ भाद्र २०८० ०२:३६ सोमबार

रोकिएन आत्महत्याका घटना विश्व आत्महत्या रोकथाम दिवस