२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

तालको संरक्षण गर्दै उपमहानगरपालिका

फाइल तस्बिर

धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने कार्य अघि बढाएको छ। नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना अघि बढाएको हो।  

उपमहानगरले नगर क्षेत्रभित्र ८४ ताल रहेको विवरण तयार गरेको छ। तीमध्ये अधिकांश ताल अतिक्रमणमा परेका छन्। धनगढीमा रहेका तालको संरक्षण गर्ने हिसाबले १९ वटै वडामा फिल्ड नक्सा र प्राविधिक जनशक्ति पठाएर तालको विवरण तयार गरिएको उपमहानगरका डिभिजन इन्जिनियर दिजराज भट्टले बताए।

नगर क्षेत्रभित्र अतिक्रमण गरिएका ताल खाली गर्ने र संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने इन्जिनियर भट्टको भनाइ छ। उनले नगर क्षेत्रभित्र रहेको अधिकांश ताल नक्सामा मात्रै देखिने गरेकाले ती तालको संरक्षणका लागि पहल अघि बढेको बताए। उपमहानगरपालिकाले नगरका केही वडामा अतिक्रमण गरिएका तालको संरक्षण गरिसकेको जनाएको छ। उपमहानगरले तयार गरेको विवरणमा केही ताल छुटेको भए खोजी गरिने डिभिजनल इन्जिनियर भट्टको भनाइ छ।  

धनगढीमा भूमिगत जलस्रोतको तह घट्दै गएको पाइएकाले पानीको पुनःभरण गर्न, वर्षामा हुने डुबान नियन्त्रण गर्न तथा प्राकृतिक अवस्था र पर्यटनको विकास गर्न ताल संरक्षण गर्ने उपमहानगरले नीतिगत व्यवस्था गरेको उनले बताए। पानीको पुनःभरण, प्राकृतिक सौन्दर्य, माछापालन र पर्यटनका गतिविधि गर्न नगर क्षेत्रका सम्पूर्ण तालको अतिक्रमण खाली गरी संरक्षण गरिने उपमहानगरले जनाएको छ। रासस

प्रकाशित: २४ भाद्र २०८० ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App