२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खहरे व्यवस्थापन ढिलाइले समस्या

चकुञ्चा (खहरे खोला) व्यवस्थापनमा देखिएको ढिलाइले सर्वसाधारण समस्यामा परेका छन्। झन्डै एक महिनाअगाडि कपनको चकुञ्चामा चलाएको डोजरले निम्त्याएको समस्याले किनारका सर्वसाधारण समस्यामा परेका हुन्।

साउन २६ मा हतारहतारमा डोजर लगाएर खोला खोले पनि त्यसको व्यवस्थापनमा ढिलाइ भएका कारण सर्वसाधारण समस्यामा परेका छन्। किनार भत्किँदा भेलको पानीले डुबानमा पर्ने गरेका उनीहरू खानेपानी अभाव भने भोग्न बाध्य छन्। ‘पानी आयो कि पसलमा भेल पस्छ’, शुक्रबार बिहान पसलको पानी उठाउँदै गरेका बुनपा १० का ईश्वर महर्जनले भने, ‘खोलाको व्यवस्थापनमा ढिलाइ गर्दा हामी समस्यामा छौं।’

उनको जस्तै समस्या छ अर्जुन विष्टको पनि। खोला किनारमा घर भएका उनले भेल पानी आउने तर धारामा पानी नआउने गरेको सुनाए। ‘पाइप काटिएर होला धाराको पानीमा समस्या आएको छ’, उनले भने, ‘काममा ढिलाइ हुँदा अन्योलमा परेका छौं।’

ओहोरदोहोर गर्ने बाटोको समस्याका कारण किनारका पसले पनि चिन्तामा छन्। ‘दसैंको मुखमा व्यापार पनि बिग्रेको छ’, प्रभा कार्की सुनाउँछिन्, ‘किनारको बाटो हिँड्नै नसक्ने गरी हिलो भएको छ।’

केही काम गर्दै गरिएको देखिए पनि ढिलासुस्ती भएको उनले सुनाइन्।कपनमा खोला मिचेर बनाइएका अनधिकृत संरचना हटाउने विषयमा काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच तीनबुँदे सहमति भएसँगै साउन २६ बाट खोला खोल्ने काम सुरु भएको थियो।

बूढानीलकण्ठ १० का वडाध्यक्ष नवराज भट्टराई महानगरले एकलौटी ढंगबाट अगाडि बढ्दा जोखिम उत्पन्न भएको सुनाउँछन्। ‘हामीले पूर्वतयारीविना अगाडि बढ्न हुन्न भनेका हौं’, उनले भने, ‘तर महानगरले काममा ढिलाइ गर्दा अहिलेसम्म समस्या व्यहोर्दै छौं।’

प्रकाशित: २४ भाद्र २०८० ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App