मोरङको उर्लाबारी नगरपालिका क्षेत्रबाट लागु औषध ब्राउन सुगर (खैरो हेरोइन) सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१९ तरहरा घर भई उर्लाबारी–३ मा डेरा गरी बस्ने २४ वर्षीय जीवन विश्वकर्मा, मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ४० वर्षीय सञ्जय सहनी, १९ वर्षीय मिथुन मण्डल र २५ वर्षीय रामकुमार सहनीलाई लागु औषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार उनीहरुलाई उर्लाबारी–३ मंगलबारेस्थित विश्वकर्माको कोठाबाट पक्राउ गरिएको हो।
विश्वकर्माको कोठाभित्र लागु औषध ब्राउन सुगर खरिदबिक्री गर्दै गर्दा उनीहरु पक्राउ परेका हुन्। लागु औषध ब्राउन सुगर सिरानीमुनि कागजमा बेरेर राखेको अवस्थामा ३ सय ९० मिलिग्राम खैरो हेरोइन फेला परेको डिएसपी दाहालले बताए।
उनीहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान अघि बढाएको र उनीहरुविरुद्ध लागू औषध ऐन अन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ।
प्रकाशित: १९ भाद्र २०८० ०९:०६ मंगलबार