१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

क्वारेन्टाईन बन्दले धनगढीमा आयात ठप्प

दशैँ, तिहारमा सुदूरपश्चिममा खाद्यान्नको अभाव हुने सम्भावना

सुदूरपश्चिमका विभिन्न नाकामा स्थापित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र बन्द भएपछि धनगढीमा आयात ठप्प भएको छ।

सुदूरपश्चिमको भारतसँग जोडिएको ठूलो र महत्वपुर्ण कैलालीको त्रिनगर नाकामा केहि वर्ष अघि मात्र सञ्चालन गरिएको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र बन्द भएपछि आयात ठप्प भएको हो। क्वारेन्टाईन जाँच बन्द भएपछि भारतबाट आयात हुने खाद्यान्न, तरकारी, फलफुल लगायतका वस्तुहरूको आयात तथा नेपालबाट भारत गरिने निर्यात रोकिएको छ।

 गत साउन २८ गतेदेखि धनगढी नाकामा प्लान्ट क्वारेन्टाईन जाँच बन्द भएको हो। लामो सङ्घर्षपछि सञ्चालन भएको प्लान्ट क्वारेन्टाईन बन्द भएपछि यहाँका उद्योगी, व्यपारी चिन्तित भएका छन्। ‘यहाँ क्वारेन्टाईन कार्यालय नहुँदा हामीले नेपालगञ्ज भएर समान आयात र निर्यात गनुपर्ने बाध्यता थियो। लामोसमयको सङ्घर्षपछि धनगढीमा क्वारेन्टाईन जाँच शुरु हुँदा ५/६ वर्ष यता सहज भएको थियो’ कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्प कुँवरले भने।

उनले थपे, ‘गत तीन सातादेखि क्वारेन्टाईन बन्द गरिएको छ। यसले यहाँको अयात र निर्यात काहाँबाट गर्ने भन्ने समस्या भइरहेको छ।’ प्रधानमन्त्री कार्यालय, कृषी तथा पशुपन्छी मन्त्रालय लगायत सरोकारवाला सवै निकायमा प्लान्ट क्वारेन्टाईन सुचारु गर्न आग्रह गरिसक्दा पनि सुनवाई नभएको उनको गुनासो छ।  

क्वारेन्टाईन जाँच बन्द हुँदा भारतबाट आयात हुने चामल, गहुँ, दाल, भटमास, फलफुल र तरकारी आउन सकेको छैन। यसैगरी भारततिर निर्यात गर्न पनि यहाँको क्वारेन्टाईनको जाँच गरेको प्रमाणपत्र अनिवार्य चाहिने हुँदा निर्यातमा पनि कठिनाई भएको छ।

त्रिनगर नाकाबाट दिनमा ३० देखि ४० ट्रक खाद्यान्न, तरकारी र फलफुल आयात हुने अध्यक्ष कुँवरले बताए। कञ्चनपुरको महाकाली नदीको पुलबाट बढी भार भएका मालबाहक ट्रक ओहोर दोहोर गर्न नदिने भएकोले धनगढी नाकामा क्वारेन्टाईन बन्द हुँदा आयात गर्न नेपालगञ्जको नाका विकल्प रहेको व्यवसायी बताउछन्।  

‘नेपालगञ्जको नाकाबाट आयात गरेमा प्रतिकेजी २ देखि ३ रुपैयाँ बढी खर्च हुन्छ। र, त्यसको मार पनि उपभोक्तामा पर्छ’ उनले भने, ‘क्वारेन्टाईन बन्द हुँदा उद्योगी, व्यापारीसँगै यहाँका सबै जनतामा प्रत्यक्ष असर परेको छ।’

नेपालगञ्जको नाका भएर प्रतिदिन ३०/४० ट्रक आयात गरेमा ४० देखि ५० लाख रुपैयाँ बढी खर्च हुन्छ। यहाँ क्वारेन्टाईन जाँच बन्द हुँदा अनावश्यक यति ठूलो रकम व्ययभार हुने अवस्था रहेको छ।

दशैँ तिहारमा खाद्यान्नको हाहाकार हुने सम्भावना

क्वारेन्टाईन जाँच बन्द भएका कारण भारतबाट खाद्यान्न, तरकारी लगायतका वस्तु आयात रोकिँदा दशैँ, तिहार र छठ जस्ता महत्वपूर्ण चाडपर्वमा सुदूरपश्चिममा खाद्यान्न अभाव हुने चिन्ता उत्पन्न भएको छ। ‘यहि अवस्थामा आयात ठप्प हुने हो भने दशैँ, तिहार र छठमा यहाँ खाद्यान्न लगायतका वस्तुहरूको हाहाकार हुन सक्ने देखिन्छ’ अध्यक्ष कुँवरले भने, ‘हामीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर यो कुरा जनाकारी गराईसकेका छौ’। दशैँ तिहार जस्ता चाडपर्वमा खाद्यानको अभावले समस्या भएमा व्यापारी र उद्योगीलाई दोष नदिनुहोल भनेर प्रमुखजिल्ला अधिकारीलाई भेटेर जानकारी गराएको उनले बताए।

गड्डाचौकिमा रहेको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र कार्यालयले नै सम्पर्क केन्द्र राखेर त्रिनगर नाकामा पनि क्वारेन्टाईन जाँच गर्ने गरेको थियो। गत साउन २८ गते प्राविधिक प्रमोद ठगुन्ना बिदामा गएपछि याहाँका नाकामा क्वारेन्टाईन जाँच बन्द भएको थियो। ठगुन्नाको ठाउँमा नयाँ कर्मचारी आईसकेपनि धनगढी नाकाको क्वारेन्टाईन बन्द नै छ। प्लान्ट क्वारेन्टाईन तथा बिषादी व्यवस्थापन केन्द्र हरिभवनका सुचना अधिकारी महेश चन्द्र आचार्यले सरकारले स्थापना गरेको प्लान्ट क्वारेन्टाईन कार्यालय नरहेको नाकामा क्वारेन्टाईन जाँच गर्न नसकिने बताएका छन्।  

सरकारले धनगढी नाकामा कार्यालय स्थापना गरेमात्र क्वारेन्टाईन जाँच गरिने तर पहिले जस्तो अनाधिकृत रुपमा जाँच गर्न नसकिने उनले बताए। नेपालभरी भारत र नेपालको नाकामा १३, चिन र नेपालको नाकामा २ र त्रिभुवन बिमानस्थलमा १ गरेर १५ वटा मात्र अधिकारिक प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन कार्यालय रहेको उनले बताए।  

प्रकाशित: १८ भाद्र २०८० १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App