२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शिक्षकहरुले गरे वीपीको परीक्षा शाखामा तालाबन्दी, विद्यार्थीको परीक्षा अवरुद्ध

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत शिक्षकहरुले परीक्षा शाखामा तालाबन्दी गरेका छन्।

शिक्षक कल्याण समाजको नेतृत्वमा आन्दोलित शिक्षकहरुले आज (आइतबार) परीक्षा शाखामा तालबन्दी गरेका हुन्। 

आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया तत्काल सुचारु गर्न माग गर्दै आन्दोलित शिक्षकहरुले भदौ १३ गतेदेखि नै सबै शैक्षिक तथा परीक्षाका कार्यक्रमहरु बहिष्कार गर्ने घोषणा गरिसकेका थिए। पाँच दिन बितिसक्दा पनि प्रतिष्ठान व्यवस्थापनबाट मागको सुनुवाई गर्न कुनै पहल नदेखाएपछि आन्दोलनको रुप कडा गर्न बाध्य भएको समाजका अध्यक्ष डा.सेराज अहमद खानले बताए।

तालाबन्दीको कारण बिहान ९ बजेदेखि हुने भनिएको बिएससी बिएससी बिएमएलटी प्रथम वर्षको परीक्षा स्थगित भएको छ। परीक्षा हलबाट बहिरिदै गरेका विद्यार्थीहरुले के कारणले नभएको परीक्षा नभएको हो भन्ने सुचना नभएको बताए। ‘के कारणले परीक्षा नभएको हो भन्ने थाह पाएनौं, नोटिस पनि आएको छैन,’ एक विद्यार्थीले भने। शिक्षकहरुको आन्दोलन र तालाबन्दीले पुर्वनिर्धारित परीक्षाका कार्यक्रमहरु अन्योल भएको छ।

शिक्षकहरु भने आन्दोलन गर्नु आफूहरुको बध्यता भएको बताउँछन्। बषौंदेखि बढुवा प्रक्रिया नहुँदा वृत्ति विकास रोकिएर शिक्षकहरु निराश छन् भने कतिपयले राजिनामा दिएर प्रतिष्ठानबाट पलायन भइसकेका छन्। ‘७, ८ बर्षदेखि प्रमोशन नहुँदा निराशा छाएकै छ, कतिपयले जागिर छोडिसकेका छन्,’समाजका अध्यक्ष खानले भने।

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्य संग्रौलाले शिक्षक र कर्मचारीको बढुवाको लागि विगत ७ महिनादेखि जारी प्रक्रियालाई वर्तमान कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले स्थगित गरेपछि समस्या भएको बताए। आन्दोलनले परीक्षा रोकिएको र पठनपाठन पनि प्रभावित हुन पुगेको उनले बताए।

उपकुलपति डा.कार्कीले बढुवा प्रक्रियालाई रोकेर अनावश्यक रुपमा लोकसेवा आयोगमा निवेदन दिएको र आयोगले मस्यौदाकोरुपमा रहेको नियमावली अनुसार मात्र गर्नुभन्ने निर्देशन दिएपछि आन्दोलन शुरु भएको रजिष्ट्रार संगौलाले बताए। ‘कार्यकारिणी समिति, पदाधिकारीहरुबीचमा एकता गरेर निकासको प्रक्रियामा माथिल्लो निकायमा जाुनपर्नेछ। राष्ट्रियरुपमा नै सहमति जुटाएर लोकसेवासँग पनि यहाँको परिस्थिति खुलाएर सहमतिबाट पदोन्नतीको प्रक्रिया अघि बढाउनुपर्छ,’ निकासबारे उनले भने।

कर्मचारीहरु पनि आन्दोलनको तयारीमा

विगत १५ वर्षदेखि बढुवा नपाएर पीडित प्रतिष्ठानमा कार्यरत कर्मचारीहरु पनि आन्दोलनको तयारीमा छन्। कर्मचारी कल्याण समाजले १० दिनको अल्टिमेटम कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई ज्ञापन पत्र बुझाइसकेको छ।

समाजकी अध्यक्ष कविता ढकालले विगत १५ बर्षदेखि रोकिएको बढुवाको विज्ञापन खुले पनि अन्र्तवार्ताको मिति हालसम्म नतोकिएकोले तत्काल प्रक्रिया थालिनुपर्ने माग गरिएको बताइन्। यस्तै, नेपाल सरकारले वृद्धि गरेको तलब २ बर्षदेखि नपाएकोले एकैपटक खुवाउन नसकेपनि तत्लो तहका कर्मचारीबाट शुरुवात गर्नुपर्ने माग रहेको छ । ‘भदौ २२ सम्मको अल्टिमेटम दिएका छौं। त्यो बेलासम्म माग पुरा नभए काम बहिष्कार गर्नेसम्मको आन्दोलन हुन्छ,’उनले भनिन्।

प्रकाशित: १७ भाद्र २०८० १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App