२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इटहरीको मुख्य राजमार्गमा ‘सिटी सफारी’ चल्न रोक

फाइल तस्बिर।

इटहरी क्षेत्रको मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) सञ्चालनमा रोक लगाको छ। 

इटहरी उपमहानगरपालिकाले आइतबार (भदौ १७ गते) देखि लागू हुने गरी मुख्य राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन रोक लगाउने निर्णय गरेको हो।

इटहरीमा अत्यधिक सिटी सफारीले दुर्घटना निम्त्याएको ठहर गर्दै मुख्य राजमार्गमा सञ्चालन गर्न नदिने निर्णय भएको इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले बताए। ‘अबदेखि सिटी सफारी मुख्य राजमार्गमा यात्रुलाई कुरेर बस्न र जथाभाबी यात्रु चढाउन तथा ओराल्न पाउने छैनन्,’ पौडेलले भने।

यसअघि पहिलो पटक ट्राफिक प्रहरीको अगुवाइमा २०७३ असोज दोस्रो साता पनि मुख्य राजमार्गमा सिटी सफारी गुड्न रोक लगाइएको थियो। तर, सिटी सफारी चालकहरू आन्दोलनमा उत्रिएको थियो। 

यात्रुलाई गन्तव्य स्थानसम्म पुर्‍याउन छोटो दुरीका लागि मुख्य राजमार्गमा गुड्न दिने सहमति गरेसँगै सहज ढङ्गले सिटी सफारी सञ्चालनमा आएका थिए। त्यसयता इटहरीमा सिटी सफारी व्यवस्थित गर्न पटक पटक निर्णय भएपनि सिटी सफारी चालकको आन्दोलनले स्थगित हुँदै आएको थियो।

यस पटक भने फेरि पुरानै नियति दोहोरिन नदिनका लागि इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्वबिच सहमति गरेर निर्णय कडाई गरेर कार्यान्वयन गरिने भएको छ।

शुक्रवार  इटहरी उपमहानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारी साधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको  भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय कोशी प्रदेशका डिएसपी मोहन विक्रम दाहालले बताए।

उपमहानगरपालिकाले अब इटहरी क्षेत्रमा बसोबास गर्नेको  मात्र सफारी दर्ता  गर्ने भएको छ। अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइने भएको छ। साथै, इटहरीमा अन्य क्षेत्रका सफारी यात्रु पर्खेर बस्न पाउने छैनन्।  

सिटी सफारी सबैभन्दा बढी झापा, मोरङ र सुनसरीका ठूला सहरमा सञ्चालनमा रहेका छन्। पछिल्लो समय पूर्वका पहाडी जिल्लामा पनि सिटी सफारी सञ्चालन हुने गरेका छन्। कोशी प्रदेशमा २० हजार हाराहारी सिटी सफारी रहेको कोशी अञ्चल यातायात कार्यालय इटहरीले जनाएको छ।

इटहरीमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने ठानिएको छ। साथै, व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ् पनि गरिने भएको छ। यसो गर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने डिएसपी दाहालले बताए।

अबदेखि इटहरी उपमहानगर भित्र दर्ता भएको सफारी मात्र उपमहानगरपालिकामा भित्र चलाउन दिने निर्णय भएको छ। इटहरी भित्र झन्डै पाँच हजार सफारी सञ्चालनमा रहेको भए पनि इटहरीमा भने एक हजार एक सय सफारी मात्र दर्ता भएका छन्।

प्रकाशित: १६ भाद्र २०८० ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App