१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तातोपानी नाकाबाट तिब्बत प्रवेश गर्न २२७ स्थानीयले पाए प्रवेश पास

नेपाल–चीन उत्तरी मुख्य परम्परागत व्यापारिक तातोपानी नाका साढे आठ वर्षपछि सर्वसाधारणको लागि खुला गरिएको छ। तत्कालको लागि सिन्धुवासी मात्र तिब्बत प्रवेश गर्न सक्ने व्यवस्था गरि आज शुक्रबारदेखि नाकामा मानव आवतजावत खुला गरिएको हो।

आज बिहान सीमावर्ती भोटेकोसी गाउँपालिकाका ३० स्थानीयलाई मितेरी पुल भएर तिब्बती क्षेत्र प्रवेश गराउँदै मानव आवागमन खुलाइएको हो। दुबै देशका राष्ट्रिय झण्डा र ध्वजापतकाले सिँगारिएको पुलबाट स्थानीयलाई भव्य स्वागत गर्दै चिनियाँ अधिकारीले तिब्बती भूमि प्रवेश गराए। बाजागाजा र झाँकीसहित हर्षोल्सास गर्दै स्थानीय द्धिदेशीय सीमारेखा मितेरी पुलसम्म पुगेका थिए।

‘नाकामा मानव आवामन सुरु भयो । अब व्यवस्थित बनाउँदै लैजाने छौँ,’ अध्यागमन कार्यालय कोदारीका प्रमुख रविन्द्र पोखरेलले भने । चिनियाँ क्षेत्र प्रवेशको लागि पासको व्यवस्था गरिएको अध्यागमन प्रमुख पोखरेलले जानकारी दिए । उनका अनुसार अध्यागमन कार्यालयले प्रवेश पास जारी गर्छ । सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकका बासिन्दाले मात्र प्रवेश पास पाउँछन् । शुक्रबारसम्म २ सय २७ स्थानीयले यस्तो पास पाएका छन् ।  

एक वर्ष समय अवधि रहने प्रवेश पासको आधारमा तिब्बती क्षेत्र छिर्न र घुम्न पाइने बताइएको छ। बिगतमा यस्तै पासको आधारमा दुबै देशका स्थानीय सीमा क्षेत्रबाट ३० किमी क्षेत्र आवतजावत गर्थे। राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको यो नाका विनासकारी भूकम्पअघिकै अवस्थामा भने अझै सञ्चालनमा ल्याइएको छैन। मानवीय आवागमनलाई अझै सीमित गरिएको छ ।

यसअघि आयात र निर्यात व्यापार सञ्चालनमा ल्याइएको नाका तेस्रो चरणमा शुक्रबारदेखि सर्वसाधारणको लागि खुलाइएको हो।२०७२ वैशाख १२ को बिनासकारी भूकम्पपछि साढे चार वर्ष यो नाका पूर्ण बन्द भयो । लामो कुटनीति प्रयासपछि २०७६ जेठ १५ आयात व्यापारको लागि नाका एकतर्फी सञ्चालनमा ल्याइएको थियो । त्यसको चार वर्षपछि गत वैशाख १८ गते निर्यात व्यापारसहित नाका दोहोरो सञ्चालनमा ल्याइए पनि मानवीय आवामन खुलाइएको थिएन। मानवीय आवागमन नहुने शर्तमा त्यतिबेला नाका सञ्चालनमा ल्याइएको थियो ।  

शुक्रबारदेखि स्थानीय सर्वसाधारणलाई खुला गरिएपनि आमनेपाली नागरिक र विदेशी आवागमन हुनेबारे अझै केही बताइएको छैन। भूकम्पअघि नागरिकता प्रमाणपत्र वा राहदानीको आधारमा नेपाली नागरिक अध्यागमन कार्यालयले जारी गर्ने एक दिने पास लिएर तिब्बत प्रवेश गर्न पाउँथे। विदेशी नागरिक नाका भएर नेपाल–चीन ओहोरदोहोर गर्थे। नाका भएर नेपाल आउने विदेशीलाई अध्यामन कार्यालयले नै प्रवेशषाज्ञा (भिसा) मा छोटो अवधिको समय थपिदिन्थ्यो। पूर्ण आवागमनबारे क्रमशः स्पष्ट हुँदै जाने नेपाली अधिकारी बताउँछन्।  

मानव आवागमनसँगै स्थानीयलाई ध्यानमा राखेर मितेरी पुल पारिको तिब्बती क्षेत्र, रमित र खासामा गरी ३० पसल सञ्चालनमा ल्याइएको जानकारी चिनियाँ अधिकारीले दिएका छन्। ती पसलमा घरायसी सामाग्री र लत्ताकपडा किन्ने व्यवस्था छ ।  

भूकम्पपछि तिब्बतको खासा बजार लामो समय मानवविहिन बनाइएको थियो । अहिले त्यहाँ निश्चित चिनियाँ बस्छन् । खासा बजारको पुनर्निर्माण भइरहेको चिनियाँ अधिकारी बताउँछन्। यसको पुनर्निर्माणपछि मानवीय आवागमन पूर्ववत अवस्थामा फर्कँने विश्वास गरिएको छ। 

प्रकाशित: १५ भाद्र २०८० ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App