१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सन्दकपुरमा व्यावसायिक रूपमा चौंरी पालन

चौरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन्। लोप हुँदै गएको चौंरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो।

सन्दकपुर गाउँपालिका-२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि फर्किएर चौंरीपालन गरिरहेका छन्। यस ठाउँको धुपी क्षेत्रमा परम्पारगत रूपमा चौंरीपालन हुँदै आएको थियो। अहिले राईको गोठमा २५ चौंरी छन्। उनले घरपालुवा उराङ जातिका चौंरीपालन गरेको बताए।

सन्दकपुर-४ को बिखेभञ्ज्याङ क्षेत्रमा पनि चौँरीपालन गरिंदै आएको छ। उनीहरूले दूध, घ्यू र छुर्पी बेचेर वार्षिक रूपमा पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। हिमाली क्षेत्रको आम्दानीको स्रोतका रूपमा रहेको चौंरीपालनमा युवाले सक्रियता देखाएका छन्।

लेकाली हावापानी शीतल-सुन्दर घाँसे मैदानमा सन्दकपुर-२ को धुपी क्षेत्र चौंरीपालनको पकेट क्षेत्र हो। तीन हजारदेखि छ हजार मिटर उचाइको हावापानी चौंरीका लागि अनुकूल मानिन्छ। चौंरी घरपालुवा र जंगली गरी दुई प्रकारको हुन्छ। उराङ जातको चौंरीलाई घरमा पाल्ने गरिएको छ।

फालेलुङमा चौं रीपालन व्यवसाय पछिल्लो समय बढ्दै गएको छ। चौंरीपालनमा युवा बढी संलग्न छन्। चौंरीको दूधबाट मात्र होइन रौंबाट पनि आम्दानी हुने गरेको छ। रौंबाट राडीपाखी बन्ने गरेको छ। गाई किर्खोबाट जन्मिने चौंरीलाई ‘उराङ’ र पहाडी गोरु याकको संसर्गबाट जन्मिने सन्तानलाई ‘डिम्जो’ भनिन्छ। डिम्जो चौंरी जस्तै दुधालु हुन्छ। तर, झोप्क्यो (भाले) भने भारी बोक्न काम लाग्छ।  

प्रकाशित: १५ भाद्र २०८० ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App