१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

एआइजीलाई कमाण्डर बनाएर सुन तस्करी अनुसन्धानमा विशेष व्यूरोको प्रवेश

सुन तस्करी प्रकरण पेचिलो बन्दै गएपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई कमाण्डर तोकेर विशेष ब्युरोको डिआइजीलाई सहभागी गराएका छन्।

सिआइबी प्रमुख एआइजीकै कमाण्डमा प्रत्यक्ष निगरानीमा अनुसन्धान हुँदै गरेको अवस्थामा विशेष ब्युरोबाट डिआइजी पनि सहभागी गराउनुपर्ने भएपछि एआइजीलाई नै कमाण्डर बनाएर जिम्मेवारी थप गरिएको छ।

राजश्व अनुसन्धान विभागले ६० किलो सुन बरामद गरेर आफैँ अनुसन्धान सुरु गरेको भएपनि संगठित अपराध अनुसन्धानमा सीआईबीलाई जिम्मा लगाएपछि प्रहरी महानिरीक्षकले करिब ४० दिनपछि अनुसन्धानमा पोख्त अधिकृत समेत खटाएका छन्।

अहिले विशेष ब्युरोबाट रामदत्त जोशीलाई सहभागी गराइएको छ। सिआइबीले अनुसन्धानको जिम्मा लिएको भने साउन २१ मा हो। अनुसन्धानको जिम्मा लिएको एक महिना पुग्न लाग्दा अनुसन्धानमा दक्ष अधिकृतहरूलाई सहभागी गराइएको छ।

सुरुमा सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा अनुसन्धान सुरु गरेको थियो। तर अहिले सीआईबीले अन्तर्राष्ट्रिय सञ्जालसम्म अनुसन्धान थालेपछि थप अनुसन्धान टोली खटाइएको छ। धनकुटाबाट एसपी कृष्ण प्रसाद कोइरालालाई बोलाएर अनुसन्धान खटाइएको छ। उनी धनकुटाबाट सिआइबी आउने भएका छन्।

साउन २१ मा सीआईबीले अनुसन्धानको जिम्मा लिएपछि तस्करीमा संलग्न भनिएका मुख्य चिनियाँहरु पक्राउ परिसकेका छन्। केही व्यक्ति फरार रहेको सीआईबीले जनाएको छ। उनीहरुलाई कानुनी दायरामा ल्याउन इन्टरपोलमार्फत चीन र हङकङका प्रहरीसँग समन्वय गरिएको छ।

भारतीय प्रहरीसँग पनि यस विषयमा समन्वय गरिरहेको सीआईबीले जनाएको छ। इन्टरपोलकै समन्वयमा नेपाल प्रहरीले अनुसन्धान एसएसपी दिनेश आचार्यलाई हङकङ पठाइसकेको छ।

प्रकाशित: १२ भाद्र २०८० १६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App