१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

साउदीमा कुकुर मार्ने, बिरालो समात्ने

फाइल तस्वीर

ड्राइभिङका लागि साउदी अरब गए पनि कुकुर मार्न र बिराला समात्न लगाइएपछि केही युवाले आफूहरूलाई स्वदेश फर्काइदिन अपिल गरेका छन्। जे भनेर लगिएको थियो, त्योभन्दा भिन्न र अत्यासलाग्दो काममा लगाइएपछि उनीहरू स्वदेश फर्कन चाहेका हुन्। २२ जना गएकामा सात जना फर्किए पनि १५ जना उतै छन्। उही रहेकाहरूले अत्तासिएर आफूहरूलाई नेपाल फर्किने वातावरण मिलाउन हारगुहार गरिरहेका हुन्।

सडकका कुकुरलाई समेत नमार्ने परम्परा भएको नेपाली समाजमा हुर्किएका ती युवाहरूलाई साउदीका विभिन्न सहरमा ‘सामुदायिक’ कुकुरलाई मार्नुपर्ने काम लगाइएको थियो। ‘बाटोमा यत्रतत्र हिँडडुल गरिरहेका कुकुर मार्ने काम थियो,’ सिन्धुली घर भएका र बल्लतल्ल साउदीबाट नेपाल फर्किएका एक युवकले भने, ‘त्यहाँका मानिसले कुकुर–बिरालो मन पराउँदैनन्। कुकुर छेउमा आए खुब रिसाउँछन्। तिनै कुकुरलाई हामीले मार्नुपर्थ्याे।’ कुकुर मार्न एउटा पाइपजस्तै साधन दिने गरिएको पनि उनले बताए। ‘औषधि भरिएको पाइपका सहाराले कुकुर मारेर गाडीमा हाली कम्पनीमा लैजानुपथ्र्यो,’ उनले भने। बिरालोचाहिँ जाल हानेर छोप्नुपर्ने उनले सुनाए।

उनलाई कुकुर मार्ने काम निकै पीडादायी लाग्यो। ‘ठुला कुकुर छेउमै पर्दैनथे। साना छाउराछाउरी र सुत्केरी कुकुर भाग्न सक्दैनथे,’ उनले भने, ‘हामी तिनैलाई मार्ने गथ्र्यौं। दैनिक १० देखि १५ वटासम्म कुकुर मार्नुपर्थ्याे। त्यत्तिकै संख्यामा बिरालो समात्नुपर्थ्याे।’ दिनभरिमा यति कुकुर मारियो र यति बिराला समातियो भन्दै साँझ कम्पनीलाई रेकर्डका लागि जानकारी दिनुपर्थ्याे। त्यसपछि मात्र मारिएका कुकुरलाई ‘डम्पिङ एरियामा’ लगेर फाल्नुपर्थ्याे। कुकुर–बिराला धेरै भए पनि समात्न र मार्न धेरै कठिनाइ हुन्थ्यो। सरकारी कार्यालयमा ड्राइभिङका लागि भनेर आए पनि बाध्य भएर २२ जना युवाले कुकुर मार्ने र बिराला समात्ने काम बाध्य भएर गर्नुपरेको उनले बताए। तीनतीन महिनामा कुकुरले बच्चा जन्माउने हुँदा संख्या बढेको कारण साउदीका नगरपालिकाहरूले तिनलाई मार्न आदेश दिएको ती युवकले बताए।

टार्गेट म्यानपावरले  सम्झौता गराएअनुसारको काम नपाउँदा साउदीमा सिन्धुली, चितवन, सिन्धुपाल्चोक, रामेछाप, मकवानपुरलगायत जिल्लाका युवा नेपाल आउने आशा पालेर दिन काट्न बाध्य छन्।

त्यस्तै बिरालाको संख्या पनि अत्यधिक बढेकाले पोथी समाउँदै सुई लगाएर बच्चा पाउन नसक्ने बनाउने गरिएको उनले बताए। ड्राइभिङ भनेर गए पनि त्यस्तो काममा खटिनुपर्दा जसोतसो चित्त बुझाए पनि महिनौं बित्दा पनि तलब नपाएपछि स्वदेश फर्कन विभिन्न निकायसँग अपिल गरेर बल्लतल्ल नेपाल आएको उनले बताए। तर ड्राइभिङ गरेर कमाउने भन्दै गएकाहरूले धेरै दुःख पाएको उनले सुनाए।

सिन्धुलीका ती युवक बिदेसिनुपहिले उनी काठमाडौंमा सार्वजनिक बस चलाउँथे। ‘कमाइ राम्रो थियो। परिवार सबै खुसी थिए। देशमै रमाउँदै थिएँ। साथीभाइको लहलहैमा साउदीमा सरकारी कार्यालयभित्र गाडी चलाउने, राम्रो तलब पाइने भनेर गइयो, नराम्रो तरिकाले फसियो,’ उनले भने, ‘यही हातले देशमा गाडी मात्र चलाइन्थ्यो। साउदीमा गएर कुकुर मार्नुपर्‍यो। जिन्दगीमा कहिल्यै काटमार गरेको थिइनँ। साउदीमा पुगेर कुकुर मार्दा सुरुसुरुमा हात पुरै काँपेका थिए। जसोतसो लाखौं रकम काठमाडौंको सिनामंगलस्थित टार्गेट कन्सल्टेन्ट ह्युमन रिसोर्सेस म्यानपावरलाई बुझाएर आएको हुँदा काम त गर्नु नै पर्थ्याे।’

टार्गेट म्यानपावरले पैसा असुल गरी सम्झौता गराएअनुसारको काम नपाउँदा साउदीमा सिन्धुली, चितवन, सिन्धुपाल्चोक, रामेछाप, मकवानपुरलगायत विभिन्न जिल्लाका धेरै युवा समान व्यथा बोकेर नेपाल आउने आशामा बसिरहेका छन्।

करिब तीन महिनाको बसाइपछि उनीहरू आत्तिएर नेपाल आउन माग राखेका हुन्। टार्गेट कन्सल्टेन्ट ह्युमन रिसोर्सेसले ती सबै युवाहरूलाई ड्राइभिङका लागि साउदी अरब पठाएको थियो। निकै गाह्रो भएपछि उनीहरू काम गर्न नसक्ने भए। बाध्य भएर उनीहरूले नेपाल फर्किन्छौं भनी अडान लिए।

करिब तीन महिनामा युवाहरू सातजना नै वैदेशिक रोजगार उद्धार केन्द्रद्वारा नेपाल फर्किए भने बाँकी १५ जना अझै कुकुर मारेरै बसिरहेका छन्। उनीहरू उद्धारको पर्खाइमा छन्। टार्गेट म्यानपावरले साउदी अरब पठाएका युवाहरू स्वदेशमा रहँदा अधिकांशले सार्वजनिक बस, ट्याक्सी र अन्यले राम्रो सेवासुविधासहितको तलबमा विभिन्न काम गर्ने गरेका थिए। साउदी अरबमा ड्राइभिङका लागि भन्दै व्यक्तिअनुसार १ लाख ८० हजारदेखि २ लाख ५० हजारसम्म टार्गेट म्यानपावरलाई बुझाएको पीडितहरूको दाबी छ।

साउदीमा सरकारी कार्यालयको गाडी चलाउने माग आएको भन्दै एक व्यवसायीले भनेपछि २२ युवा टार्गेट म्यानपावरमा पुगे। टार्गेट म्यानपावर सञ्चालक दीपक बस्नेतको भनाइ उद्धृत गर्दै पीडितहरूले भने, ‘साउदीमा गाडी चलाएबापत तलब मासिक १ हजार ४०० र थप ३०० साउदी रियाल हुन्छ।

गाडी चलाएको केही समय पुगेपछि तलब उनीहरूले आफैं बढाइदिन्छन्। तिमीहरूले धन्दै मान्नुपर्दैन।’ यसरी पासपोर्ट बुझाउने बेलामा म्यानपावर सञ्चालक बस्नेतले भनेको प्रस्तावका आधारमा पीडितहरू पनि पैसा तिर्न राजी भए। ‘हामीले टार्गेट म्यानपावरलाई पैसा बुझाई भिसा आएपछि सञ्चालक बस्नेतले भोलिपल्ट फ्लाइट भने। एग्रिमेन्टअनुसारको तलब भएन। साउदीमा कुरा भएअनुसारको तलब १ हजार साउदी रियाल दिने र २०० थप दिएर खान–बस्न फ्री हुने बताए,’ पीडितले भने, ‘भोलिपल्टैको टिकट रहेको भन्दै तलबबारे बताएपछि हामी अप्ठ्यारोमा पर्‍यौं। ऋण काढेर पैसा दिएका थियौं। अब जे–जस्तो भए पनि जानुपर्छ भनेर साउदी लागियो,’ ती युवकले नागरिकसँग भने।

नेपाल फर्किने अडान लिँदा कम्पनीले राजी भए पनि ठेकेदारको कुराले अप्ठेरो बनाएको उनीहरूले बताए। ती कम्पनीका ठेकेदारले ‘तिमीहरूलाई हामीले किनेका हौं। एकजनालाई ५ हजार रियाल तिरेका छौँ। कम्पनीले दोस्रो ठाउँमा पठाउने बताएको थियो। त्यहाँ फेरि तीन महिनासम्म तलब नदिने भन्ने थियो। त्यसो भए आफूहरूले नेपाल फर्किने अडान लिएको उनीहरूको भनाइ छ। नेपाल जाने अडान लिएपछि उनीहरूलाई केही दिन बन्धक बनाएको थियो। कुटपिट गर्ने, गाली गर्ने, धम्क्याउने, लछारपछार गर्ने गरेको सिन्धुलीका ती युवकले बताए।

वैदेशिक रोजगार उद्धार केन्द्रले नेपाल फर्काएपछि दुई महिनाको तलब पनि नपाएको भन्दै युवाहरूले म्यानपावर कम्पनीका व्यवसायी बस्नेतसँग कुरा गरेका थिए। तर बस्नेतले साउदी जाँदा लागेको हवाई टिकट, अन्य खर्च गरेर ६०/७० हजार रूपैयाँ काटेर दिने बताएको युवकले बताए।

‘वैदेशिक रोजगार विभागमा उजुरी गर्न जाँदा प्रमाण नपुगेको भन्दै फर्काइदियो। हामीले नगद दिएका थियौं। पैसा दिएको प्रमाण चाहिन्छ भनेर उजुरी लिएन। वैदेशिक रोजगारीका लागि पैसा दिएको भनेर उल्लेख नगरेको भन्दै उजुरी दिन नमिल्ने भनेको छ,’ पीडित युवकले भने। नेपाल फर्किएपछि उनीहरू विभागका सूचना अधिकारी कविराज उप्रेतीले पैसा तिरेको प्रमाण नभएकाले कारबाही गर्न गाह्रो भएको बताए। काम गरेको तलब भने उपलब्ध हुने उनले जानकारी दिए।

‘म्यानपावरलाई नगदै दिएको भनेका छन्। पैसा दिएको कुनै प्रमाण छैन। यस्तो अवस्थामा कारबाही गर्ने आधार हुने भएन। तलब नदिएको सम्बन्धमा भने त्यो उपलब्ध गराइन्छ,’ उनले भने। यो विषयमा टार्गेट म्यानपावर सञ्चालकसँग कुराकानी गर्नेछौं। साउदीमा रहेका थप १५ जनाले समेत उद्धारका लागि अपिल गर्दै आएका छन्।

हिजोआज विदेश पठाइदिन्छु भन्दै पैसा लिने र फरार हुने क्रम बढ्दो छ। त्यसको प्रमाण नहुँदा न्याय पाउन पनि मुस्किल हुने भएकाले कसैलाई पनि पैसा दिँदा, आइएमई गर्दा होस् वा अरू माध्यमबाट दिँदा, वैदेशिक रोजगारीका लागि दिएको भनेर लेख्नुपर्ने विभागका अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार वैदेशिक रोजगारीका लागि पैसा दिँदा बैंक खाताबाट बैंक खातामा गर्नु हुँदैन। एक व्यक्तिको खाताबाट अर्काको खातामा पैसा ‘ट्रान्सफर’ गर्दा वैदेशिक रोजगारीको प्रयोजन खुलेको हुँदैन। त्यसरी बैंक खाताबाट बैंक खातामै पठाउँदा लेनदेनको कारोबार भएको मात्र देखिन्छ। त्यस्तो लेनदेन कारोबारलाई कारबाही नगरिने विभागका अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार वैदेशिक रोजगारीमा उजुरी हाल्न पैसा लेनदेन भएको कारोबारमा वैदेशिक रोजगारीका लागि भन्दै प्रयोजन खुलाउनु अनिवार्य छ।

हिजोआज विदेश पठाइदिन्छु भन्दै पैसा लिने र फरार हुने क्रम बढ्दो छ। त्यसको प्रमाण नहुँदा न्याय पाउन पनि मुस्किल हुने भएकाले कसैलाई पनि पैसा दिँदा, आइएमई गर्दा होस् वा अरू माध्यमबाट दिँदा, वैदेशिक रोजगारीका लागि दिएको भनेर लेख्नुपर्ने विभागका अधिकारीहरूले बताएका छन्।

यसरी फेसबुक लगायत सामाजिक सञ्जालबाट, फोन सम्पर्क वा चिनाजानीका हिसाबले जोकोहीले पनि व्यक्तिको राहदानी लिने, काम गर्ने–गराउने भनी रकम असुल गर्ने प्रवृत्ति छ। तर पछि उक्त काम नगर्ने वा विदेश पठाइसकेपछि पनि तोकेको सेवा, सर्त र सुविधा उपलब्ध नगराई अलपत्र पार्ने वा फिर्ता हुन बाध्य बनाउने गरेको छ। उपत्यकामा सक्रिय दलाल र कतिपय म्यानपावरहरूले वैदेशिक रोजगारीको ठगीलाई पेसाकै रूपमा अपनाउने गरेका छन्।

प्रकाशित: ९ भाद्र २०८० ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App