१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

डेंगी नियन्त्रण गर्न नगर प्रहरी परिचालन

काठमाडौं महानगरपालिकाले डेंगी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ। यसका लागि ६४ नगर प्रहरी खटाइएको छ।

लार्भा नष्ट गर्ने अभियानसँगै कामपाले  ३२ वटै वडामा पानी जमेको स्थानमा बायो ‘लार्भिसाइड’ औषधि समेत छर्कने तयारी गरेको छ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, ‘रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन्। उनीहरूको प्रजनन प्रक्रिया त्यहीं पूरा हुन्छ। पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्ने प्रयास गरेको हौं।’

अहिले नियमित रूपमा पानी परिरहेको छ। आकासे पानी सडक र सडक किनाराका खाल्टाखुल्टी, सार्वजनिकस्थलमा जम्मा हुँदै छ। लार्भा खोजेर नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकता दिइनेछ पौडेलले भने।

‘लार्भिसाइड औषधि जैविक हो। यसले लामखुट्टे र त्यसका लार्भाबाहेक अन्य कुनै पनि जीवलाई हानि गर्दैन। यो विषादी होइन। उक्त औषधिलाई पानीको माथिलो भागमा छर्कनुपर्छ। यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ। यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ। यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा नष्ट हुन्छ’, प्रमुख पौडेलले भने।

औषधिले डेंगीसहित, औलो (मलेरिया), चिकन्निया जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ। १० लिटर पानीमा दुई सय ५० मिलिलिटर औषधि यसको मात्रा हो।

कामपाले वडास्तरीय र जनसहभागितामूलक कार्यक्रमहरू गरिरहेको छ। हरेक हप्ताको बुधबार बिहान ८ देखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान चलिरहेको छ। सरसफाइ गर्ने र औषधि छर्कने गरिन्छ। सरकारी तथा संस्थागत विद्यालयका विद्यार्थी बिचमा डेंगी रोगसम्बन्धी चित्रकला प्रदर्शन गरी अभिभावकसम्म संक्रमणबारे चेतना पुर्‍याउने कामपा पनि गरिरहेको छ।

यस रोगबारे परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० जुनसुकै समय सञ्चालनमा छ। अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने व्यवस्था छ। उक्त एम्बुलेन्स फोन गरेको १५ मिनेटमा उपलब्ध हुने कामपाको भनाइ छ।

प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत यस रोगका लागि चाहिने सिटामोल, जीवनजल लगायत औषधिको व्यवस्था मिलाइएको छ।

प्रकाशित: ६ भाद्र २०८० १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App