३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

फोक्सुण्डो ताल लगायत माथिल्लो डोल्पा पुग्ने प्रमुख गोरेटो तीन दिनदेखि अवरुद्ध

तस्बिर: शे फोक्सुण्डो गाउँपालिका वार्ड न.९ का अध्यक्ष लार्के लामा।

गत आइतबार राति आएको ठूलो वर्षाका कारण नेपालको सुन्दर पर्यटकीय क्षेत्र फोक्सुण्डो ताल पुग्ने एक मात्र गोरेटो बाटो तीन दिनदेखि पूर्ण रूपले अवरुद्ध छ।

फोक्सुण्डो ताल र शे फोक्सुण्डो गाउँपालिकाका एकदेखि ९ वटै वडाका गाउँमा पुग्ने सबै बाटो ध्वस्त भएका छन्। यसबाट स्थानीय र पर्यटकहरूको आवतजावत ठप्प भएको छ।

शे फोक्सुण्डो गाउँपालिका वार्ड नम्बर–९ पुग्मो गाउँका स्थानीयवासी आङबहादुर लामाले टेलिफोनमा नागरिकन्यूजसँग भने, ‘हामी तीनदेखि आतपमा छौँ। गाँउहरू आउजाउ गर्ने र तालमा पुग्ने सबै बाटोहरू ध्वस्त छन्। प्रायः पुलहरू खोलाले बगाएको छ।’

उनका अनुसार अविरल वर्षाले ५ वटा काठमा पुल पूर्ण रूपले भत्किएका छन्।  फोक्सुण्डो तालबाट आएको फोक्सुण्डो खोला र पुग्मो गाउँ हुँदै बग्ने कागमारा खोलामा आएको बाढीले यो क्षति गरेको हो।

ती खोला किनारमा बनाइएको गोरेटो बाटो र ती खोला माथिका पुलहरूमा क्षति पुगेको हो। अधिकांश स्थानको गोरेटो बाटो खोलाले काटेको छ। धेरै स्थानमा बाटै छैन। दायाँबायाँ लगाइएका ढुङ्गाका ग्याबेन वालहरू समेत खोलाले बगाएको अवस्था छ।

‘दुवै खोलामा आएको बाढीले बाटो र पुलहरू भत्काइदिँदा यस गाउँपालिकाका ९ वटै वडा प्रभावित भएका छन्’, लामाले भने। उनका अनुसार आतपमा परेका र हिँड्नै पर्ने बाध्यता भएका स्थानीयहरू जङ्गलमा उक्लिएर र भिरको बाटो जोखिम मोलेर हिँडिरहेका छन्।

‘हामीले स्थानीय निकाय र निकुञ्ज प्रशासनलाई पटक–पटक खबर गरिसकेका छौँ। अझै सडक मरम्मत गर्ने तर्फ कतैबाट प्रभावकारी पहल भएको पाइएको छैन’, लामाले गुनासो गरे।  

विमानस्थल भएको डोल्पाको जुलाफदेखि उत्तर पूर्व डेढ घण्टा पैदल बाटोमा पर्ने ठुली गाँड भन्ने स्थानमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको प्रधान कार्यालय छ। ठुली गाँडबाट फोक्सुण्डो खोलाको दुई किनारमा बनाइएको गोरेटो बाटो हुँदै ताल पुगिन्छ। अहिले त्यही खोलाको किनार र त्यसै माथि बनाइएका काठका पुल उक्लिँदै फोक्सुण्डो ताल पुगिन्छ। अर्को तीर पश्चिममा पर्ने पुग्मो गाउँ हुँदै बग्ने खोला कागमारा पूर्व तीर फोक्सुण्डो खोलामै मिसिन्छ। खोला मिसिने स्थानदेखि पुग्मो गाउँ पुग्ने बाटो र पुलमा पनि क्षति पुगेको लामा बताउँछन्।

‘सानो तिनो त धेरै स्थानमा बिग्रिएको छ। पुल पुलेसा लगेको छ। ढुङ्गाको वाल लगेको छ।  लामकारा क्षेत्रको पुल लगेको छ। मुन्नागा भन्ने ठाउँको पुल लगेको छ। सोगार भन्ने ठाउँको पुल लगेको छ। थेल्जुएको पुल लगेको छ’, लामाले भने।

यो बाटो ध्वस्त हुँदा ‘तल्लो डोल्पा सर्किट’ र ‘माथिल्लो डोल्पा सर्किट’ जाने पर्यटकहरू समेत रोकिनुपर्ने अवस्था छ। ती सर्किटमा पुग्ने यो एक मात्र गोरेटो बाटो हो। यही बाटो हुँदै कतिपय पर्यटकहरू मुगु पनि निस्किने गरेका छन्। यसले पर्यटकहरू समेत मारमा परेको लामाले बताए।  

प्रकाशित: ३१ श्रावण २०८० ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App