१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मुस्ताङको यातायात सम्पर्कविच्छेद

मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँग यातायात सम्पर्कविच्छेद भएको छ। बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिकादेखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुँदै प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सडक सम्बन्ध टुटेको हो।

प्रतिकूल मौसमका कारण जोमसोम–पोखरा हवाई उडान पनि बन्द भएको छ। मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडक म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रको पहिरोका कारण साउन २० गतेदेखि बन्दछ।

जोमसोमदेखि थासाङ गाउँपालिकालाई जोड्ने सडक मार्फाखोलामा आउने बाढीका कारण दैनिकजसो अवरुद्ध हुने गरेको छ। घरपझोङ गाउँपालिका–४ जोमसोममा कालीगण्डकीले कटान गरेर सडक भत्काएपछि जोमसोम–कागबेनी–मुक्तिनाथ सडक मङ्गलबार बिहानदेखि बन्द भएको छ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको मोटरेबल र झोलुङ्गे पुल आइतबार राति कागखोलामा आएको बाढीले बगाएको थियो। मोटरेबल र झोलुङ्गे पुल बाढीले बगाएपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको साथै बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, ताङ्वे गाउँसँग सडक सम्पर्कविच्छेद भएको हो।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले चैलेमा कालीगण्डकी नदीको मोटरेबल पुलको पहुँचमार्ग बगाएको र चराङखोलाको काठको अस्थायी पुल बाढीले भत्काउँदा यातायात सम्पर्कविच्छेद भएको बताए।

‘कागबेनी, छुसाङ र चराङखोलामा बाढीले सडक, पुल बगाएको र भत्काएको हुँदा उपल्लो मुस्ताङ आउने–जाने बाटो बन्द भएको छ’, उनले भने, ‘वर्षा रोकिएर बाढी आउन छाडेपछि सडक मर्मत र पुल बगाएको ठाउँमा डाइभर्सन बनाएर यातायात सञ्चालनको पहल गरेका छौँ।’

सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटक प्रभावित भएका छन्। खाद्यान्नलगायत दैनिक उपभोग्य सामान र निर्माण सामग्रीको ढुवानी हुन सकेको छैन। बाढी प्रभावित कागबेनीमा खानेपानी अभाव र विद्युत् आपूर्ति बन्द भएको छ। बाढीले विद्युत्का पोल र खानेपानीको पाइप बगाएको थियो। बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष रिनजिन गुरुङले खानेपानी र विद्युत् आपूर्ति सञ्चालन गराउन पहल भइरहेको बताए।

‘क्षतिको मुचुल्का तयार पार्ने कार्यलाई पूर्णता दिएर आजदेखि बस्तीभित्र पसेको बाढी पन्छाउने, खानेपानी र विद्युत् मर्मत गर्ने केन्द्रित भएका छौँ’, उनले भने, ‘बाढी प्रभावितको राहत, व्यवस्थापन र पुनःनिर्माणको काम एकद्वार प्रणालीबाट गर्ने व्यवस्था मिलाएका छौँ।”

प्रकाशित: ३० श्रावण २०८० १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App