२ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

चालु आवको ६ महिनामा दुई खर्ब ८२ अर्बभन्दा बढी राजस्व संकलन

आन्तरिक राजस्व विभागले गत आवको तुलनामा चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनामा पौने ६९ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको छ । यो साउनदेखि पुस मसान्तसम्ममा संकलित राजस्वको तथ्यांक हो ।  

विभागले गत आर्थिक वर्ष २०८१-८२ को ६ महिनामा दुई खर्ब १३ अर्ब ६३ करोड ३२ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

आन्तरिक राजस्व विभागका सूचना अधिकारी रामबहादुर केसीका अनुसार चालु आवको ६ महिनामा ६८ अर्ब ७४ करोड ६६ लाख ६३ हजार रुपैयाँ बढी राजस्व संकलन गरिएको छ । चालु आवको ६ महिनामा दुई खर्ब ८२ अर्ब ३७ करोड ८८ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी केसी बताउँछन् ।  

विभागले गत आवको तुलनामा चालु आवको ६ महिनामा ३.८५ प्रतिशत बढी राजस्व संकलन गरेको जनाएको छ ।  

विभागले चालु आवको ६ महिनामा मूल्य अभिवृद्धि कर ७० अर्ब २० करोड ९३ लाख ६६ हजार रुपैयाँ संकलन गरेकोमा गत आवको सोही महिनामा ६४ अर्ब ७४ करोड ६ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस अवधिमा विभागले गत आवको तुलनामा चालु आवमा ८.४२ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ ।  

यसैगरी चालु आवमा एक खर्ब ३७ अर्ब ६४ करोड ४५ लाख ४० हजार रुपैयाँ आयकर संकलन गरेकोमा गत आवमा एक खर्ब ३९ अर्ब १९ करोड ८७ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको तुलनामा चालु आवमा १.१२ प्रतिशत कम राजस्व संकलन गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै अन्तःशुल्क कर चालु आवमा ६२ अर्ब ५८ करोड ६ लाख चार हजार रुपैयाँ राजस्व संकलन भएकोमा गत आवमा ५७ अर्ब ४७ करोड पाँच लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको तुलनामा चालु आवमा ८.८९ प्रतिशत राजस्व संकलनमा वृद्धि भएको छ । यस्तै अन्य कर चालु आवमा ११ अर्ब ९४ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएकोमा गत आवमा १० अर्ब ४८ करोड ८२ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । जसमा गत आवको तुलनामा चालु आवमा १३.८८ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको विभागले जनाएको छ ।  

अहिले उपभोग्य वस्तु, लगानी र आयात पनि बढेकाले मूल्य अभिवृद्धि करमासमेत वृद्धि भएको सूचना अधिकारी केसीले बताए ।  

आर्थिक गतिविधि अझै बढ्न नसक्दा आयकरमा वृद्धि हुन नसकेको बताउँदै सूचना अधिकारी केसीले आयकरमा वृद्धि हुन सके रोजगारी सिर्जनासँगै गरिबी न्यूनीकरणमा समेत मदत पुग्ने बताए ।

प्रकाशित: १३ माघ २०८२ १९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App