२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे -तारकेश्वर सडकको शिलान्यास

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण कार्यको शिलान्यास गरेका छन्।

सूर्यविनायक नगरपालिका वडा नं ८ पलाँसेमा सोमबार आयोजित कार्यक्रममा उनले सो सडकको शिलान्याससँगै स्तरोन्नतीको काम समेत सुरु भएको बताए।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सो सडक निर्माण एवं स्तरोन्नतीका लागि  ३० करोड रुपैयाँ बजेट विनियोजित गरिएको छ। सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ हुँदै सूर्यविनायक चक्रपथलाई सहज रूपमा यस सडकले जोड्ने मन्त्री थापाले बताए।

पलाँसेबाट दुर्गम मानिएको काँक्राबारी, आशापुरी, नैचाल, पर्यटकीयस्थल रानीकोट, घ्याम्पेडाँडा हुँदै तारेक्वर सडक खण्डको कालोपत्रसमेत गर्नेगरी बजेट व्यवस्थापन गरेर आजैदेखि निर्माण सुरु भएको उनले बताए।

कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले यो सडकको निर्माणसँगै सूर्यविनायक नगरपालिकाका शिव मन्दिरहरू जोड्ने शिव सर्किटमा जानआउन सहज हुने विश्वास व्यक्त गरे। उनका अनुसार सडक निर्माण भएसँगै यहाँका ग्रामीण क्षेत्रका उत्पादन सहज रूपमा बजारीकरण गर्न, यस क्षेत्रमा फस्टाउँदै गएको पयर्यटन व्यवसायलाई अझै विस्तार एवं विकसित गर्न सहयोग पुग्नेछ।

प्रकाशित: २ चैत्र २०८२ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App