३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

लम्पी स्किनबाट लुम्बिनीमा साढे ७ हजार पशु मरे, १ लाख ८४ हजार संक्रमित

लुम्बिनी प्रदेशमा गत जेठ देखि पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। गाइभैसीमा लाग्ने यो रोगको संक्रमण दर पछिल्लो समय केही कम भएपनि नियन्त्रणमा आउन भने सकेको छैन। जसका कारण किसानले लाखौंको क्षती व्यहोर्नु परेको छ। लम्पी स्किनबाट लुम्बिनी प्रदेशमा हालसम्म ७ हजार ४ सय पशु मरेका छन्। १ लाख ८४ हजार पशुमा यो  रोगको संक्रमण देखिएको छ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा.परवेज आलमले प्रदेशका विभिन्न जिल्लामा फैलिएको लम्पी स्किनका कारण पशुचौपायामा करोडौंको क्षती भएको बताए। प्रदेशमा हालसम्म यो रोगबाट ७ हजार ४ सय पशुचौपाया मर्दा साढे १२ करोड  बढीको क्षती भएको बताए। यो रोगको संक्रमणकै कारण दुधमा दैनिक १ करोड ५० लाखको हाराहारीमा आर्थिक क्षती भइरहेको जानकारी दिए।

पछिल्लो समय संक्रमणको दर घटेकाले अव भने क्षती कम हुँदै जाने डा.आलमले बताए। संक्रमणको दर घट्दै गएपनि नियन्त्रणमा आउन भने अझै केही समय लाग्ने उनले बताए। ‘रोग नियन्त्रणकालागि पहल गरीरहेका छौं, जिल्ला जिल्लामा खोप कार्यक्रम संचालन भइरहेको छ, पछिल्लो समय चौपायाको मृत्यु दर  र संक्रमण दर घटेको छ तर रोग नियन्त्रण भइसकेको छैन’ निर्देशक आलमले भने। गत साउन ४ देखि भ्याक्सिनेसन अभियान चलाएपनि मास भ्याक्सीनेशनकालागि केन्द्र सरकार संग पहल गरीरहेको उनले बताए।

पशु चिकित्सकहरुका अनुसार लम्पी स्किन पशु चौपायामा लाग्ने सरुवा रोग हो। यो रोग लागेका पशुचौपायालाइ ज्वरो आउने,शरीरभरी खटिरा आउने,सुन्निने हुन्छ। खटिरा फुटेर घाउ हुनुका साथै समयमै उपचार नभए यो रोगबाट पशुचौपाया थला परेर मर्ने  गर्छन। यो रोग लागेपछि दुहुना गाइभैसीको दुध उत्पादन क्षमता झण्डै ५० प्रतिशतले घट्छ भने गर्भ तुहीने समस्या देखिन्छ। लामखुट्टे तथा किराको टोकाइ र रोगी पशुको लसपसबाट यो रोग सर्ने डा आलमले बताए। यो रोगको छुट्टै वा विशेष प्रकारको औषधी नभएपनि लक्षण अनुरुप ज्वरोको औषधी,खटिरामा लगाउने मलम आदीको प्रयोगबाट संक्रमित पशुको उपचार गरीने उनले बताए। संक्रमित पशुलाइ उचित दानापानी दिएर आराम गर्न दिने र रोग सर्न नदिन अन्य पशुचौपाया भन्दा अलग्गै राख्नु पर्ने उनले बताए। संक्रमित पशुलाइ खोप लगाउन नमिल्ने पनि उनले जानकारी दिए।

लम्पी स्किन संक्रमणका कारण लाखौं खर्चेर पालेका गाइभैसीको मृत्यु हुँदा र बाँचेका चौपायाको पनि दुग्ध उत्पादन क्षमता ह्वात्तै घट्दा किसानले लाखौं क्षती व्यर्होनु परीरहेको छ। रोग लागेर पशुचौपाया थलिएपछि र संक्रमण फैलिएपछि सिमित क्षेत्रमा मात्रै खोप कार्यक्रम गरीएको भन्दै किसानहरुले वृहत खोप कार्यक्रम गरी संक्रमण थप फैलीनबाट जोगाउनु पर्ने माग गरीरहेका छन्।

निर्देशनालयका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा गरी लम्पी स्किनबाट संक्रमित १ लाख २१ हजार ६२८ पशु चौपायाको उपचार गरीएको छ। अहिलेसम्म निर्देशनालय र स्थानीय तहले गरी जम्मा ५० हजार ९५० वटा पशुचौपायालाइ खोप लगाइएको छ। निर्देशनालय र स्थानीय तहहरुले लम्पि स्किनको रिङ भ्याक्सिनेशन अर्थात संक्रमण देखिएको पशुचौपायाको आसपासको निश्चित क्षेत्रका चौपायालाइ खोप लगाउने कार्यक्रम गरीरहेका छन्। तर किसानहरु भने रोग नियन्त्रणमा तीन तहकै सरकार उदासीन भएको भन्दै वृहत खोप कार्यक्रम ल्याउनु पर्ने माग गरीरहेका छन्।

निर्देशनालयका सूचना अधिकारी रिम बहादुर थापाले हाल रिङ भ्याक्सिनेशनको कार्यक्रम बाह्रवटै जिल्लामा संचालन गरीएको बताउँदै छिट्टै मास भ्याक्सीनेशनको कार्यक्रम गरीने बताए। लम्पी स्किनको संक्रमण बढेपछि केही स्थानीय तहहरुले आ–आफनो पालिकामा खोप कार्यक्रम संचालन गरेका छन्। बुटवलउपमहानगरपालिकाले साउन दोश्रो साता देखि नै लम्पि स्किनको खोप लगाउन सुरु गरेको हो। त्यस्तै तिलोत्तमा नगरपालिकाले पनि गत साता देखि नगरका विभिन्न जोखीम क्षेत्र पहिचान गरी पशुचौपायामा लम्पी स्किनको खोप लगाउन सुरु गरेको छ।

नेपालमा २०७७ सालमा मोरङको सुन्दरहरैचा ११ मा पशुचौपायामा यो रोगको लक्ष्ण देखिएको थियो। यो वर्ष भने गत जेठमा बाँकेमा पशुचौपायामा यो रोगको संंक्रमण देखिएको थियो। त्यसयता प्रदेशका सबै जिल्लामा यो रोगको संक्रमण फैलिएको छ। हाल सम्म सबैभन्दा धेरै बाँकेमा ४० हजार ९६६,प्युठानमा ३४ हजार ७१५,रोल्पामा ३१ हजार २१८ पशुमा लम्पि स्किन रोगको संक्रमण देखिएको छ । त्यस्तै दाङमा २८ हजार ८५६,रुकुममा १४ हजार ३०५,कपिलबस्तुमा ८ हजार १२७,अर्घाखाँचीमा ७ हजार २३६,रुपन्देहीमा ७ हजार ४८,पाल्पामा ६ हजार ६०१,गुल्मीमा ३ हजार ४४७,बर्दियामा ८ सय ८० र नवलपरासीमा सबैभन्दा कम ६ सय १८ पशुचौपायामा लम्पी स्किनको संक्रमण भएको छ।  

प्रकाशित: २९ श्रावण २०८० १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App