काठमाडौं महानगरपालिकाले कपनको चकुन्चा (खहरे खोला)मा डोजर चलाएको छ। काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका (बुनपा) प्रतिनिधिबिच शुक्रबार खोला खोल्ने सहमति भएको हो।
कपनमा खोला मिचेर बनाइएका अनधिकृत संरचना हटाउने विषयमा काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबिच तीन बुँदे सहमति भएको बुढानिलकण्ठ–१० का वडाध्यक्ष नमराज भट्टराईले जानकारी दिए। उनका अनुसार हाललाई साततलेभन्दा तलतिरको भाग खोल्ने काम सुरु भएको छ।
सहमतिमा कामनपा–७ र बुनपा–१० को सीमा नापजाँच भइसकेकाले उक्त क्षेत्रमा खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने, कामनपा–६, बुनपा–१० र १२ को सीमा नापजाँच गरेर खहरे खोलाको रेखांकन गर्ने र त्यसपछि पुनः छलफल गरी समस्याको दीर्घकालीन समाधान खोजिने भएको छ। खहरे खोला भनेर चिनिने चखुन्चा खोला उत्खनन गर्ने कि नगर्ने विषयको विवादले शुक्रबार पनि कपन क्षेत्र केही समय तनवाग्रस्त बन्यो। काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको चखुन्चा खोला उत्खननको विषयमा त्यहाँ बिहीबारदेखि विवाद चर्केकोे थियो।
अतिक्रमण गरी बाटो बनाइएको खोला उत्खननका लागि काठमाडौं महानगरको डोजर गएपछि बिहीबारै यो क्षेत्र अशान्त बन्यो। शुक्रबार पनि डोजर लगाउने हल्लापछि सयौं सर्वसाधारणले सडकमा निस्केर खोला खोल्ने पक्ष र विपक्षमा आवाज निकाले। सम्भावित झडपको आशंकामा नगर प्रहरीसँगै जनपद प्रहरीको बाक्लो उपस्थिति रह्यो।
पानीको निकासका लागि बक्स कल्भर्टसहित करोडौं रूपैयाँको योजनामा यो क्षेत्रमा निकासको काम हुँदै छ। यस्तो अवस्थामा एक्कासि काठमाडौं महानगरपालिकाले डोजर चलाउने कुरा गर्दा हामी दुःखी बनेका छौं। – प्रकाश काफ्ले, स्थानीय
कतिपयकोे भने काठमाडौं महानगरले बुढानीलकण्ठ नगरपालिकाको कार्य क्षेत्रमा आएर हस्तक्षेप गर्न खोजेको बुझाइ छ। दुवै पक्षको साझा समस्यालाई एक पक्षले मनलागी गर्न खोज्दा तनावको स्थिति बनेको उनीहरूको भनाइ छ। ‘हाम्रो नगरपालिकाको पनि स्वाभिमान हुन्छ, हाम्रो पनि क्षेत्राधिकार हुन्छ,’ बुढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराई भन्छन्, ‘यस्तोमा एक्कासि उहाँहरूले एकलौटी ढंगबाट आउँदा हामीलाई दुःख लागेको हो।’ आपसी सहमति कायम गरेर अगाडि बढ्नुपर्ने उनको बुझाइ छ।
उनले यसो भन्दै गर्दा कतिपय भने छोपिएको खोला कुनै हालतमा पनि खोल्नुपर्ने पक्षमा छन्। खोलालाई उसको धारमा बग्न नदिँदा हरेक वर्षामा कपन डुब्ने गरेको उनीहरूको तर्क छ। ‘प्रकृतिलाई छोपछाप गर्न सकिन्नँ, यसलाई उसकै बाटो दिनुपर्छ,’डिल्लीप्रसाद रिमाल भन्छन्, ‘खोलो खोलै रहनुपर्छ, यसलाई कुनै बहानामा छोप्न मिल्दैन।’
प्रकृतिलाई छोपछाप गर्न सकिन्नँ, यसलाई उसकै बाटो दिनुपर्छ। खोलो खोलै रहनुपर्छ, यसलाई कुनै बहानामा छोप्न मिल्दैन।–डिल्लीप्रसाद रिमाल, स्थानीय
हिजोका स्थानीय निकायले दिएको अनुमतिका आधारमा घर बसेका र सडकसमेत बनिसकेको अवस्थामा अहिले आएर खोला कायम गर्ने पक्ष कति व्यावहारिक हो भन्ने प्रश्न पनि उठेको छ। हिजोको स्थानीय निकायले गल्ती गरेर नै संरचना बनिसकेका हुन् भने पनि अहिले आएर स्थानीय बासिन्दालाई दुःख दिन सकिँदैन।
प्रकाशित: २७ श्रावण २०८० ०१:२२ शनिबार