४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखराः सडकदेखि घरसम्मै फोहोरको थुप्रो

जटिल बन्दै पोखराको फोहोर व्यवस्थापन

कहाँ व्यवस्थापन गर्ने भन्ने नै टुंगो लागेको छैनः महानगर

पोखरा महेन्द्रपुलमा सडककिनारमा थुपारिएको फोहोर। झन्डै दुइसातादेखि यहाँको फोहोर उठेको छैन। तस्बिरः उमेश पुन/नागरिक

पोखरा सहरको फोहोर नउठेको झन्डै दुइसाता पुग्न थाल्यो। सडकको चोकचोकमा फोहोरको पोका थुप्रिएका छन्। त्यत्तिमात्र नभई नागरिकको घरघरमा पनि फोहोर थुप्रो लागेको छ। झन्डै दुइसातासम्म फोहोर नउठ्दा घरघरमा दुर्गन्ध फैलिन थालेको छ। अहिलेकै अवस्थामा घरघरको फोहोर उठ्न अझै केहीदिन लाग्ने पोखरा महानगरको अनुमान छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी भईरहँदा पुस मध्यदेखि पोखरा महानगरले सहरको फोहोर पोखरा–३२ को लामेआहालस्थित सेतीनदि किनारमा व्यवस्थापन गर्न थालेको थियो। त्यसअघि पोखरा–१४ को बाच्छेबुडुवास्थित ल्याण्डफिलसाइटमा फोहोर व्यवस्थापन हुँदै आएको थियो। तर, विमानस्थल संचालन गर्ने तरखर भईरहँदा बाच्छेबुडुवामा फोहोर फाल्न रोकेर लामेआहाल पु¥याउन थालिएको थियो।  

लामेआहालमा फोहोर फाल्ने तयारी महानगरले गर्दा स्थानीयले विरोध गरेका थिए। तर, विरोधका बाबजुत पनि महानगरले बढिमा ६ महिनाका लागि भन्दै त्यहाँ फोहोर खसाल्न थालेको थियो। ६ महिनाभित्र स्थायी संरचना बनाउने र त्यसपछि लामेआहालमा पनि फोहोर फ्याक्न छाड्ने भनेर महानगरले त्यो बेला स्थानीयलाई आश्वस्त पारेको थियो। तर, यो अवधिमा लामेआहाललाई उचित व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीयले विरोध गरेपछि पोखरा सहरको फोहोर उठ्न रोकिएको छ।

लामेआहालमा आवश्यक पूर्वाधार नबनाएको, फोहर खन्याएपछि नपुरेको, सडकमा जथाभावि फोहर खसालेको, दूर्गन्ध फैलिएको र ती समस्या समाधान गर्न आग्रह गर्दा हानगरले नटेरेको भन्दै स्थानीयले सहरको फोहोर लैजान रोकेका छन्। स्थानीयको अवरोधपछि बजारको फोहोर उठ्न सकेको छैन। अहिले पोखरा सहरका सडकका ठाउँठाउँमा फोहोरको पोका यत्रतत्र देखिन्छन्।

‘चोकचोक र सडक किनारको फोहोर त बरु उठाएर गाडीमै राख्न सकिन्छ। तर, घरघरको फोहोरले समस्या पा¥यो। अब त घरघरको फोहोरको व्यस्थापन चूनौती बन्यो,’ पोखरा महानगरको सरसफाई शाखा प्रमुख कल्पना बरालले भनिन, ‘घरमा थुप्रिएको फोहोर लामो समयसम्म नउठ्दा झिंगा भन्किन थाले। घरघरमै दूर्गन्ध फैलिन थालेको छ।’ फोहोर फाल्न रोकिरहेको क्षेत्रका स्थानीयसँग महानगरले छलफल गरेपनि निष्कर्षमा पुग्न नसकेको उनले बताईन।

‘फोहोर फाल्ने विषयमा स्थानीयसँग छलफल भइरहेको छ। तर, निष्कर्षमा पुगिएको छैन। निस्कर्षमा पुग्न नसक्दा समम्या बल्झिँदो छ,’ उनले भनिन, ‘सडक, चोक र घरघरमा फोहोर थुप्रिएको छ।’ उनका अनुसार नियमित रुपमा घरबाट फोहोर नउठेपछि स्थानीयले रातीको समय पारेर सडकमै फोहोर फ्याकिदिने गरेका छन्। 

रातीमा सडकमा फालेको फोहोरको पोका पानी पर्दाको भेलले बगाएर यत्रतत्र पार्ने गरेको छ। रातभरको वर्षाले सडकमा छरपष्ट पारेको फोहोरलाई महानगरले बिहानपख उठाएर गाडीमै थुपार्ने गरेको छ। तर सडकमा फोहोर झर्न नरोकिएको र दिनहुँ उठाउँदा पनि सास्ती भएर व्यवस्थापन असहज भएपछि महानगरले दमकल शाखाकै जग्गामा खाडल खनेर केही फोहोर पुरेको थियो।  

‘सडकमा फालेको फोहोर उठाएर राख्दै जादा गाडी नै भरिए। त्यही भएर गाडीमा थुपारिएको फोहोरलाई खाडल खनेर पुरेका हौ,’ बरालले भनिन, ‘अब घरघरको फोहोर कसरी र कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ताको विषय छ। घरघरको फोहोरको विकल्प कतै निस्केन। कतिदिनसम्म घरमै फोहोर थुपार्ने भन्ने अवस्था छ।’ घरघरमा थुप्रिएको फोहोर कुहिने र नकुहिने भनेर नछुट्याएकोले पनि असहज भएको उनले बताईन। ‘कुहिने र नकुहिने भनेर छुट्याएको भए घरको फोहोर व्यवस्थापनमा केही सहज हुन्थ्यो, तर, सबै एकैठाउँ राखिएको छ। त्यसले गर्दा गन्हाउने भएको छ,’ उनले भनिन।

सडकमा खसालिएको फोहोरलाई उठाएर मात्र पनि समस्या समाधान हुन नसकेको उनले बताइन। ‘प्रयास किन नगर्ने भनेर मात्र सडकको फोहोर उठाएर गाडीमा थुपारेका हौं। तर, त्यो नै उपयुक्त समाधान होईन,’ उनले भनिन, ‘सर्वसाधारणको घरको त कहिले कहिले भन्ने अवस्था छ। अहिलेसम्म सहमति नभएकोले तत्काल फोहोर उठेपनि घरघरको उठाउन केहीदिन लाग्छ।’ 

उनका अनुसार पोखराबाट दिनमा औषतमा एकसय टन फोहोर संकलन हुन्छ। ३० वटा गाडीमार्फत पोखरा सहरको फोहोर आलोपालो प्रणालिमा उठाउने गरिएको थियो।  

महानगरका प्रवक्ता मोतिराज तिम्सिनाले पनि विरोधमा उत्रेका प्रभावित क्षेत्रका बासिन्दासँग सहमति नभईसकेकोले तत्कालै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने यकिन नभएको बताए। ‘फोहोर कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने नै यकिन भएन। लामेआहालका प्रभावित क्षेत्रका बासिन्दाले फाल्न दिन्नौ नै भनेका छन। उनीहरुसँग बारम्बार छलफल भएपनि समस्या सल्टेको छैन,’ तिम्सिनाले भने, ‘राजनीतिक तहबाट पनि समस्या समाधानको पहल भईरहेको छ। प्रदेश र संघीय सांसदहरु समेत बसेर छलफल गरेका छौ । तर, समस्या समाधान भएको छैन।’  

उनले अहिले नै कहाँ लगेर फोहोर व्यवस्थापन गर्ने भन्ने यकिन नभएपनि बैकल्पिक ठाउँबारे पनि महानगरले सोचिरहेको बताए। ‘सडकमा फालेको फोहोर उठाएर गाडीमा त राख्यौ। तर, त्यो पनि सम्भव हुने होईन, ग्रामिण वडाको खासै समस्या होईन, मुख्य सहरभित्रको समस्या बढी छ,’ उनले भने, ‘अब त धेरै नै दिन भयो, घरघरबाट पनि फोहोर नउठ्दा नागरिकलाई सास्ती हुन थालेको छ।’ फोहोर व्यवस्थापनको विषय जटिल बन्दै गएको उनले बताए।  

बारम्बार फोहोर नउठ्दा दिक्क लागिसकेको पोखरेली बताउँछन्। पोखरा पर्यटकीय सहर भएकोले सडकभरि फोहोर थुप्रिँदा त्यसले नकारात्मक असर पार्ने उनीहरुको चिन्ता छ। ‘पोखरामा पनि फोहोरको समस्या बारम्बार निम्तिने गरेको छ। लेकसाइडका सबै होटलमा अहिले फोहोरको थुप्रो छ,’ होटल व्यावसायी भरतराज पराजुली भन्छन, ‘पर्यटन क्षेत्रमा कहिले के त कहिलेको केको चिन्ता हुने गरेको थियो। यो बेला फोहोरको चिन्ता बढेको छ।’  

उनका अनुसार होटलले कुहिने र नकुहिने गरि फोहोर वर्गीकरण गरेका छन्। कुहिने फोहोरलाई बंगुरपालक किसानले दानाको रुपमा उठाएर लगेकोले केही सहज भएपनि नकुहिने फोहोर भने थुप्रो लागेको पराजुलीले बताए। ‘सबैतिर फोहोर नउठेको अवस्थामा बंगुरका लागि पनि बढी हुनसक्छ। यो अवस्था लम्बिदै जाने हो भने कुहिने फोहोर पनि थुप्रो लाग्ने त्रास छ,’ उनले भने। अहिले होटलले फोहोरलाई प्लाष्टिकमा पोको पारेर राख्ने गरेको उनले बताए।  

प्रकाशित: २१ श्रावण २०८० ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App