नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट आन्दोलनबारे आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बताएका छन्।
सबै कम्युनिस्ट पार्टीबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता गर्ने भन्दै उनले मालेमाओवादी पार्टीको सुदृढीकरण नै पार्टीको मूल नीति रहेको उल्लेख गरेका छन्।
उनले चुनावी मोर्चामा सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दागर्दै थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र भएको बताए।
बुधबार नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकतामा आउन आग्रह गरेकोप्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत उनले भने, 'आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो।'
यस्तो भ्रममा विचार मरेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टिएका व्यक्ति मात्र पर्ने उनको भनाइ छ।
विप्लवले अनेकौं मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यतर्फ अघि बढिरहेको माओवादी पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र भएको दाबी गर्दै आगामी भविष्यले त्यसलाई प्रमाणित गर्ने विश्वास व्यक्त गरेका छन्।
'यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतिहारा मात्र पर्छ,' उनले भने, 'अनेकौ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र हो। आउदो भविष्यले अवश्य सावित गर्नेछ।'
यो पनि पढ्नुहोस्
यताउता भड्किन छाडेर नेपाली कम्युनिष्ट पार्टीमै आउन विप्लवलाई प्रचण्डको आग्रह
प्रकाशित: १५ माघ २०८२ ०९:३६ बिहीबार





