नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन्।
विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन्।
उनले जेनजी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको बताए। 'हामीले नेपाली कम्युनिस्ट पार्टी यसै आवेगमा बनाएका होइनौँ। एकताको प्रक्रियामा तपाईंहरूले निकै ठूलो महत्व पाउँदै हुनुहुन्थ्यो,' प्रचण्डले भने।
समाजवादी मोर्चालाई नै नेपाली कम्युनिष्ट पार्टीको रूपमा अगाडि बढाउन चाहेको आफू र माधवकुमार नेपालले विप्लवलाई निकै ठुलो महत्व दिएको भए पनि एकताबाट विप्लव बिनाकारण पछाडि हटेको उनको भनाइ थियो।
एकतामा समावेश नभए पनि विप्लवप्रति आफ्नो कुनै घृणा वा आक्रोश नरहेको स्पष्ट पार्दै उनले नेकपा नै विप्लव समूहको वास्तविक घर भएको उल्लेख गरे। 'यताउता भड्किनुपर्ने कुनै आवश्यकता छैन। आजभोलि यताउता भड्किँदा केही हुनेवाला छैन,' उनको भनाइ थियो।
प्रचण्डले पुरानो सहयात्रीको नाताले आफूले विप्लवलाई माया र भरोसा गरेको बताउँदै आत्मसमिक्षा गरी नेकपामै फर्किन आग्रह गरे। उनले अझै पनि नेकपामा समावेश भई अघि बढ्ने अवसर बाँकी रहेको बताए। 'यो आत्मसमीक्षा गर्ने बेला हो। तपाईंहरूको अवसर अझै गुमिसकेको छैन,' उनले भने।
सो क्रममा प्रचण्डले निर्वाचन नजिकिँदै गर्दा पनि देशको असहज परिस्थिति पूर्ण रूपमा समाधान नभइसकेको उल्लेख गरे। नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले देश फेरि अर्को दुर्घटनातर्फ जान सक्ने खतरा औँल्याए।
'चुनाव अगाडि छ, तर यो चुनावले के दिन्छ भन्नेबारे अझै कन्फ्युजन छ। यदि हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने देश फेरि अर्को दुर्घटनातिर जान सक्छ,' उनले चेतावनी दिए।
प्रचण्डले पार्टीपंक्तिलाई एकताबद्ध भएर चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिएका छन्।
प्रकाशित: १४ माघ २०८२ १४:१९ बुधबार





