कालीकोटमा निर्वाचन सुरक्षाका दृष्टिले ‘अतिसंवेदनशील’ जिल्लाको रूपमा चिनिँदै आएको छ। कालीकोटका १ सय ४ मध्ये ७४ वटा मतदानस्थल अतिसंवेदनशील रहेको मुख्य निर्वाचन अधिकृत कलप्रसाद दाहालले बताए। उनका अनुसार २९ वटा मतदानस्थल संवेदनशील छन् भने सदरमुकाम मान्मको कारागार र बालमन्दिर मतदानस्थल मात्र सामान्यमा राखिएको हो।
विगतका निर्वाचनमा भएका हिंसा, भौगोलिक विकटता, यातायातको असुविधा, सञ्चारको पहुँचलगायत सूचकको आधारमा अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरेर सुरक्षा रणनीति तय गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए। जिल्लामा ५ सय ९ जना नेपाल प्रहरी, ४ सय सेना, १ सय ८५ सशस्त्र प्रहरी, १ हजार १ सय दुई निर्वाचन प्रहरी गरी कूल २ हजार १ सय ९६ सुरक्षाकर्मी परिचालन गरिने छ।
कालीकोटमा नेपाल प्रहरीको दरबन्दी ५ सय ९ भए पनि हाल जिल्लामा ३ सय ४८ जना मात्र छन्। अन्य विभन्नि जिल्लामा काजमा बसेका छन्। जिल्लाको सुरक्षा संवेदशीलता हेरर आवश्यकता अनुसार जुम्ला र सुर्खेतबाट थप सुरक्षाकर्मी पनि बोलाउन सकिने जिल्ला सुरक्षा समितिले जनाएको छ।
अतिसंवेदनशील मतदान केन्द्रमा १४ जना प्रहरीसहित, सशस्त्र, सेना र निर्वाचन प्रहरी परिचालनको योजना बनाइएको छ। फागुन २१ को चुनावमा हिमपात हुनसक्ने आँकलन गरेर जिल्लाभरका १४ मतदान केन्द्रलाई पनि अतिसंवेदनशीलमा राखिएको हो। कालीकोटको महादेव मावि फोइकोट,मालिका मावि बजेडीचौर, दुर्गा मावि रताडा, जनता मावि रुप्सा, दिपेन्द्र मावि, शिवालय मावि चिल्खायालगायतका मतदान केन्द्रलाई हिमपातका दृष्टिले अतिसंवेदनशील मानिएको छ। कालीकोटमा दुई स्वतन्त्रसहित १० उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्।
प्रकाशित: १५ माघ २०८२ ०९:४९ बिहीबार





