अमेरिकाले भारतबाट ल्याइने सामानमा लाग्ने भन्सार कर १८ प्रतिशतमा घटाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा यसबारे जानकारी गराउँदै लेखेका छन्, ‘आज बिहान भारतका प्रधानमन्त्री मोदीसँग कुरा गर्न पाउनु सम्मानको कुरा थियो। उहाँ मेरा सबैभन्दा मिल्ने साथीहरू मध्ये एक हुनुहुन्छ... हामीले व्यापार र रुस-युक्रेन युद्धको अन्त्य लगायत धेरै विषयमा छलफल गर्यौँ। उहाँ रुसी तेल किन्न बन्द गर्न र संयुक्त राज्य अमेरिका र सम्भवतः भेनेजुएलाबाट थप तेल किन्न सहमत हुनुभयो।’
ट्रम्पले थपे, ‘प्रधानमन्त्री मोदीप्रतिको मित्रता र सम्मानका कारण... हामीले तत्काल लागू हुनेगरी संयुक्त राज्य अमेरिका र भारतबिच व्यापार सम्झौतामा सहमति जनाएका छौँ। यस अन्तर्गत, संयुक्त राज्य अमेरिकाले पारस्परिक ट्यारिफ २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरेको छ। भारतले अमेरिकासँगको आफ्नो भन्सार र गैर-भन्सार अवरोधहरू शून्य गर्ने दिशामा पनि अगाडि बढ्नेछ।’
यसबारे मोदीले एक्समा लेखेका छन्, ‘आज मेरो प्यारो मित्र राष्ट्रपति ट्रम्पसँग कुरा गर्न पाउँदा धेरै खुसी लाग्यो। मेड इन इन्डिया उत्पादनहरूमा लाग्ने भन्सार शुल्क अब १८ प्रतिशत मा घटाइएको छ भन्ने थाहा पाउँदा म खुसी छु। भारतका १ दशमलव ४ अर्ब जनताको तर्फबाट, यो घोषणाको लागि राष्ट्रपति ट्रम्पलाई धन्यवाद।’
उनले थप भनेका छन्, ‘जब विश्वका दुई ठुला अर्थतन्त्र र ठुला लोकतन्त्रहरू मिलेर काम गर्छन्, यसले हाम्रा जनतालाई फाइदा पुर्याउँछ र पारस्परिक लाभका लागि अपार अवसरहरू खोल्छ।’
यसबारे टिप्पणीमा कांग्रेसका जयराम रमेशले व्यंग्य गर्दै लेखेका छन्, ‘उनले (ट्रम्प) ले वासिङ्टन डिसीबाट 'अपरेसन सिन्दूर' रोक्ने घोषणा गरे... राष्ट्रपति ट्रम्पको प्रधानमन्त्री मोदीमाथिको दबाब वा प्रभाव स्पष्ट रूपमा देखिन्छ। मोदीले अब अँगालो हाल्ने पुरानो मैत्रीपूर्ण शैली बिर्सेर उनीबाट टाढा रहने देखिन्छ। यस्तो देखिन्छ कि यस पटक मोदीले हार मानेका छन्। पक्कै पनि यो 'सबैभन्दा ठुलो सम्झौता' हुन सक्दैन। यो वाशिंगटनका पक्षमा स्पष्ट रूपमा देखिन्छ - मोगाम्बो खुसी छन्।’
यो घोषणा दुई देशबिचको सम्बन्धमा आएको उतारचढावपछि आएको हो, जसमा रुसी तेल खरिद मुख्य मुद्दा बनेको थियो। एजेन्सी
प्रकाशित: २० माघ २०८२ ०६:३६ मंगलबार


-600x400.jpg)


