२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मृतकको सामाजिक सुरक्षा भत्ता पनि वडा सचिवले लिएपछि...

वडा सचिव सरस्वती आचार्य

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका वडा सचिव सरस्वती आचार्यले मृतकको सहित ५ जनाको सामाजिक सुरक्षा भक्ता आफैले झिक्ने गरेको भेटिएको छ।

वडाबासीलाई सेवा दिएबापत अतिरिक्त सुविधा माग्ने, अनावश्यक दुख दिने र सामाजिक सुरक्षा भत्ता नै दुरुपयोगको गुनासोपछि भएको छानबिनको क्रममा सचिव आचार्य दोषी देखिएपछि  गाउँपालिकाले कारबाहिरको लागि सिफारिस गरेको छ।  

वडा सचिव आचार्यले लाभग्राहीको बैँक चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भक्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो।

गाउँ कार्यपालिकाका प्रवक्ता समेत रहेका सामाजिक विकास समितिका संयोजक मनकुमार शेरपुञ्जाको संयोजकत्वमा वडा नम्बर १ का वडा सदस्य बलमान गौचन र पञ्जिकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानबिन समितिले असार २५ गतेबाट वडा सचिवले अनियमितता गरेको प्रकरणमा आवश्यक छानबिन गरेको र छानबिनको क्रममा आरोप पुष्टि हुने कागजात र प्रमाणहरु संकलन भएको छानबिन समितिका संयोजक शेरपुञ्जाले बताए।

‘वडाबासीलाई दुख दिएको र सरकारी सुविधा दुरुपयोग गरेको भेटियो,‘गुनासो आएपछि रकम लाभग्राहीकै खातामा जम्मा भएको छ’ संयोजक शेरपुञ्जाले भने। उनका अनुसार वडा सचिव आचार्यले सामाजिक सुरक्षा पाउने बेगका टिकामा पुर्जा, रमायाँ फगामी पुन, लालमायाँ फगामी पुन र विन्दु गर्वुजा गरी चार जना व्यक्तिहरुको भक्ता आफ्नै हस्ताक्षर र आफै लिखित र औँठा छाप लगाएर रकम लिएको कागजातले पुष्टि गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैगरि वडा सचिव आचार्यले मृतक गौदेवी तिलिजाको सामाजिक सुरक्षा भक्ता समेत आफैले झिक्ने गरेको भेटिएको बताए।

समितिले पीडित लाभग्राही, वडा कार्यालयका कागजात र सामाजिक सुरक्षा भक्ता वितरण हुने प्रभु बैँकको रघुगंगा शाखामा समेत गएर आबश्यक कागजात, तथ्य र प्रमाणहरुको आधारमा छानविन गरेको र ७० पृष्ठ लामो प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदन बुधवारको कार्यपालिका बैठकमा पेश भएको थियो।

कार्यपालिका बैठकले छानबिन समितिको निष्कर्षका आधारमा वडा सचिव आचार्यले सामाजिक सुरक्षा भक्तामा अनियमितता गरेको भेटिएको भन्दै आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा सिफारिस सहित प्रतिवेदन पठाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले बताए।

वडा सचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भक्ताको १ लाख ५४ हजार २० हिनामिना गरेको र गाउँपालिकामा लाभग्राहीका आफन्तले उजुरी गरेपनि आचार्यले उक्त रकम सम्बन्धित लाभग्राहीकै खातामा जम्मा गरिदिएको भेटिएको छानविन समितिका सदस्य बलमान गौचनले बताए। वडा सचिवले सामाजिक सुरक्षा भक्तामा अनियमिता गरेको उजुरी पछि आचार्यलाई वडा सचिवबाट फिर्ता बोलाएर गाउँपालिकामा हाजिर गराईएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीलाई कारबाहि गर्ने अधिकार स्थानीय तहलाई नभएकाले आबश्यक छानबिन गरेर कारबाहिको लागि सम्बन्धित निकायमा सिफारिस सहित पठाउने निर्णय गरिएको बताए। वडा सचिव आचार्यलाई सेवाबाटै बखास्त गर्ने गरी सिफारिस गरिने जनाइएको छ।  

प्रकाशित: १९ श्रावण २०८० १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App