१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पोखराः पृथ्वीचोक क्षेत्रको सडकमा ‘नो पार्किङ’

सडकबाट पार्किङ हटाएपछि पोखरा बसपार्क अगाडिको सडक। तस्बिरः नागरिक

पोखरा बसपार्क क्षेत्रको सडकमा अबदेखि सवारी पार्किङ गर्न नपाईने भएको छ। पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा पर्ने पृथ्वीचोकदेखि सेतीपुल (चाईनापुल)सम्मको सडकमा पार्किङ गर्न रोक लगाएको हो।  

सडकमा सवारी पार्किङ गर्न नदिने पोखरा महानगरपालिकाको यो दोश्रो निर्णय हो। पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले चुनावी घोषणापत्रमै सडकबाट पार्किङ हटाउने घोषणा गरेका थिए। सोहि घोषणालाई कार्यान्वयन गर्ने क्रममा महानगरले केही महिनाअघि पोखराको मुख्य बजार क्षेत्र न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल लगायतका क्षेत्रका सडकमा पार्किङ निषेध गरेको थियो। तर बैकल्पिक ठाउँको व्यवस्था नगरी पार्किङ हटाएको भन्दै उद्योगी, व्यवसायीले विरोध गरेपछि महानगर आफ्नो निर्णयबाट पछाडि हटेको थियो। जसका कारण अहिले ती क्षेत्रका सडकमा पार्किङ भइरहेका छन्।

बसपार्क क्षेत्रमा भने पछि नहट्नेगरी सडकबाट पार्किङ हटाइएको पोखरा महानगरपालिकाले जनाएको छ। राजमार्गसँगै बसपार्क जोडिएकाले सडकमा पार्किङ गर्दा सवारी आवागमनमा असर पर्नुका साथै बाहिरबाट आएका पर्यटकले अव्यवस्थित र कुरुप देख्दा पोखराको सुन्दरता माथि नै प्रश्न उठ्नसक्ने तर्फ ध्यान दिदै जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले त्यहाँ पार्किङ गर्न नदिने निर्णय गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिमिल्सिनाले जानकारी दिए।  

महानगरको निर्णय अनुसार आईतबारदेखि सडकमा पार्किङ गर्न नदिइएको उनले बताए। निर्णय कार्यान्वयन गराउन आईतबार विहानैदेखि महानगरका प्रतिनिधि सहित ट्राफिक प्रहरी बसपार्क क्षेत्रमा खटिएका छन्। ‘क्यूमा बस्ने लामो दूरीका बसलार्ई मात्रै सडकमा राख्न दिएका छौं। अन्य सबै सवारीलाई पार्किङ नगर्न सूचित गर्ने, सूचना बोर्ड राख्ने लगायतका काम गरेका छौ,’ उनले भने।

उनले सडकबाट पार्किङ हटाउने अहिलेको निर्णय पहिलेको जस्तो फिर्ता नहुने बताए। ‘पहिलेपनि फिर्ता नै भएको त होईन। उद्योगी, व्यवसायीको आग्रहका कारण केहि समय पछि धकेलेका हौं। तर अहिलेको निर्णय कुनैपनि हालतमा कार्यान्वयन हुन्छ,’ उनले भने। पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेपनि हालसम्म व्यवस्थित बसपार्क बन्न सकेको छैन। बसपार्क नबन्दा बसपार्कका लागि छुट्याइएको जग्गा अतिक्रमण भई हाल ४० रोपनीमा सिमित छ।

प्रकाशित: ७ श्रावण २०८० ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App