१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुमा विकराल बन्दै आत्महत्या :४ वर्षमा ५९७ जनाले गरे आत्महत्या

कपिलवस्तुमा आत्महत्याको घटनाले विकराल रुप लिँदै गएको छ। दिनहुँ जसो अहिले आत्महत्याको घटना हुने गरेकोले यो जिल्ला विकराल बनेको हो।

 एकपछि अर्को गर्दै कपिलवस्तुका बिभिन्न स्थानमा आत्महत्या गरी प्राण त्याग गर्नेहरू दिनहुँ बढिरहेका छन्।आत्महत्या गर्नेमा युवा वयस्क त छँदै थिए बालिकाले पनि आत्महत्या गर्न थालेका छन्।

पछिल्लो ४ वर्षमा ५ सय ९७ जनाले आत्महत्या गरेको प्रहरी कार्यालयको तथ्याङ्क छ। जिल्लामा गत आर्थिक वर्ष २०७९÷०८० मा कुल १ सय ४६ घटनामा १ सय ४७ जनाले ज्यान फालेका छन। जसमा पुरुष ८२ जना, महिला ४४ बालक ५ जना र बालिका १६ जना छन। आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ६९, २०७७÷०७८ मा  १ सय ५१ जना र २०७७÷०७७ मा १ सय ३० जनाले आत्महत्या गरेका थिए।

गत आर्थिक वर्ष १ सय १३ जा झुन्डिएर,२९ जना विष सेवन, २ जना हाम फालेर  र ३ जना दुरुत्साहनद्वारा आत्महत्या गरेका छन। आत्महत्या गर्नेहरूमा १६ वर्ष मुनी देखि ६० वर्ष माथिका समेत छन। बदलिँदो सामाजिक संरचना र परिबेशसंगै आत्महत्याको क्रम पनि बढ्दै गएको पाईको प्रहरीले जनाएको छ। कोरोनाका कारण बढ्दो निराशले गर्दा मानसिक रोगी भई आत्महत्या गरेको प्रहरीको अध्ययनले देखाएको छ।

प्रविधिको  विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोगले समेत मानिसहरूलाई एकोहोरो बनाएका कारण समेत अहिले आत्महत्या समेत बढ्दै गएको पाइएको छ।बढ्दो महँगी, बैकको रिन तिर्न नसकेर, बेरोजगारी, बदलिँदो सामाजिक परिवेश, निराशापन, मानसिक यातना, प्रेममा असफलताका कारण अधिकांशले आत्महत्या गर्ने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय अनुसार अधिकांश व्यक्तिहरू आर्थिक विपन्नताका कारण आत्महत्या गर्ने गरेका छन्।  प्रेममा असफल भएपछि पनि आत्महत्या गरेको पाईएको छ।

घरमा श्रीमान् श्रीमती बिच सधैँ हुने झैझगडा, विवादले गर्दा नै अधिकांशले आत्महत्या गरेको पाईएको छ। नौ दश कक्षामा पढ्ने बालबालिकाले समेत आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शलेश्वरी बाहोराले बताई। ‘ नौ दश कक्षामा पढ्ने विद्यार्थीले समेत आत्महत्याको बाटो रोज्नु चिन्ताको विषय हो ’ उनले भनिन। यसलाई सामाजिक समस्याका रुपमा लिएर घर समाजबाटै सचेतना बढाउन जरुरी रहेको उनको भनाई छ।

केही वर्ष यता वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै त्यसले केही नकारात्मक असर समेत देखाएको छ। विदेशमा रहेका श्रीमानले श्रीमतीको नाममा पैसा पठाउने तर तिनका श्रीमतीहरू अन्धाधुन्ध खर्च गर्ने र पर पुरुषसँग लाग्ने गरेको समेत भेटिएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए।

विदेशबाट फर्केर आएका श्रीमानले त्यो कुरा थाहा पाए पछि गाह्रो परेर कयौँ महिलाले आत्महत्या गरेको भेटिएको छ, ’ उनले भने ‘ पहिला यस्तो कारणले आत्महत्या गरेको नभेटिए पनि अहिले यस्तो देखिनु चिन्ताको विषय छ। ’ सामाजिक परिवेश तीव्र रूपमा बदलिरहेको अवस्थामा पुरातन शोच लाद्न खोज्ने, इच्छा र आकांक्षा पुरा नहुँदा, पारिवारिक कलह, आवेग लगायतका मिश्रित कारणहरूले आत्महत्या गरेको घटनाको अनुसन्धानका क्रममा पाईएको उनले बताए।

स्वास्थ्य कार्यालयका प्रमुख निमित्त प्रमुख अनिरुद्ध श्रीवास्तवले आत्महत्यालाई समाजमा व्यक्तिगत समस्याको रुपमा लिइएको बताए। उनले आत्महत्या सामाजिक समस्या भएकाले यसलाई सबैले गम्भीर रूपमा लिनु पर्ने बताए।  जुनसुकै कारणले गरिएको आत्महत्याको संख्या बढ्दै जानु ठुलो सामाजिक समस्या रहेकोले यस बिषयमा सामाजिक सचेतना कार्यक्रम चलाउनु पर्ने उनी बताउँछन्। ‘ समाजमा आत्मविश्वास जगाउने खालको कार्यक्रम गर्न जरुरी छ  ’ उनले भने। बदलिँदो सामाजिक परिवेशमा बढ्दो गरिबीका कारण अधिकांश विपन्न व्यक्तिहरूमा आर्थिक अवस्था कमजोर भएपछि उनीहरुले आत्महत्या गर्ने गरेको डाक्टर अमूल्य पाठकले बताए।

 केही व्यक्तिहरूमा मानसिक यातनाका कारण नैराश्य पैदा हुँदा पनि विष सेवन गरि अथवा झुन्डिएर आत्महत्या गर्ने गरेका उनको भनाई छ। विष सेवन गर्दा अधिकांशले सल्फास नामक विषादीको प्रयोग गर्ने गरेको पर्याप्त पोस्टमार्टम रिर्पोटहरुमा देखिएको उनले जानकारी दिए। जिल्लाका कतिपय विषादी बिक्रेताले गैर किसानलाई थारै पैसाको लाभका लागि समेत विषादी बिक्री गरेकोले पनि विष सेवनबाट आत्महत्या गर्नेको संख्या बढी रहेको स्थानीयवासी बत्ताउँछन्। कतिपयले भारतमा गएर विषादी खरिद गरी सेवन गरी आत्महत्या गरेको प्रहरीले बताएको छ।

हरेक वर्ष आत्महत्या गर्नेहरूको संख्यामा वृद्धि हुनु र झन् त्यसमा पनि महिला बालबालिका र युवाहरूको संख्या बढी हुनुमा समाजमा एउटा चिन्ताको विषय बनेको समाज शास्त्री हरिराज शर्मा बताउँछन्। प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढी प्रयोग गरिनुले पनि अहिले आत्महत्याको घटना बढाएको उनले बताए।

अभिभावकले बालबालिकामा दबाब दिँदा, किसान ऋणमा डुब्दा, दाइजोका कारण मानसिक यातना भोग्दा पनि समाजमा आत्महत्या गर्नेहरूको संख्या बढिरहेको हुँदा सामाजिक क्षेत्र बाट नै यसको न्यूनीकरण गर्न सकिने उनले बताए।

बढ्दो जनसंख्या र परिवर्तित समाजमा आफ्नो आवश्यकता र चाहना पुरा गर्न नसकेपछि बढेको आत्महत्या अहिले एउटा ठूलो खोजको विषय बनेको उनले बताए। पारिवारिक झै झगडा, गरिबी र रोगबाट दिक्क मान्दै आत्महत्या गर्नेको संख्या त्रासदीपूर्ण तरिकाले बढे पछि यहाँ चिन्ता बढेको छ। 

प्रकाशित: ६ श्रावण २०८० १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App