सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो संख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ। तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजंगलले ढाकिएको छ।
जुनसुकै मौसममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्ण लगायतका हिमशृंखला एकसाथ अवलोकन गर्न सकिन्छ नै वनजंगल, चराचुरुंगी आदिको अवलोकनले यहाँ आउने जो कोहीलाई लोभ्याउने गरेको छ।
पदयात्रासँगै यस क्षेत्रमा चरा पर्यटनलाई पनि सँगसँगै अघि बढाउने लक्ष्यका साथ विभिन्न गतिविधि अघि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए।
सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो संख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ।
समितिले यसअघि पोखरा पक्षी समाजसँगको सहकार्यमा यस क्षेत्रमा पाइने चराको गणना गरिसकेको उनले बताए। ‘पदमार्ग क्षेत्रलाई चरा पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने लक्ष्यका साथ यहाँ पाइने सबै चरालाई हामीले पुस्तकमा समेट्ने तयारी गरेका छौं’, उनले भने, ‘पुस्तकमा समेटिएसँगै यस क्षेत्रमा पदयात्रा गर्न आउने वा चराहरूकै अध्ययन अवलोकनका लागि आउने पर्यटकका लागि थप उपयोगी बन्ने हाम्रो विश्वास छ।’
नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पदमार्ग क्षेत्रका अधिकांश स्थानमा पाइने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए।
स्थलगत अध्ययन अनुसार पदमार्ग क्षेत्रको तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थलसम्म ठूलो संख्यामा काँडे भ्याकुर भेटिएका छन्। त्यस्तै पदमार्ग क्षेत्रकै कोल्माबाट भैसेगौंडा, बुढाकोट तलतिरको भाग लगायतका विभिन्न स्थानमा ठूलो संख्यामा काँडे भ्याकुर पाइएका छन्।
अध्ययनबाट पदमार्ग क्षेत्रमा एक सय ३७ प्रजातिका चरा फेला परिसकेको र थप अध्ययन अनुसन्धानबाट अन्य केही प्रजाति अझै थपिने देखिएको अध्यक्ष घिमिरेले बताए।
स्थलगत अनुसन्धानसँगै यस पदमार्ग क्षेत्रलाई चरा अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालिएको छ।
स्थलगत अध्ययन अनुसार पदमार्ग क्षेत्रको तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थलसम्म ठूलो संख्यामा काँडे भ्याकुर भेटिएका छन्। त्यस्तै पदमार्ग क्षेत्रकै कोल्माबाट भैसेगौंडा, बुढाकोट तलतिरको भाग लगायतका विभिन्न स्थानमा ठूलो संख्यामा काँडे भ्याकुर पाइएका छन्।
यस क्षेत्रमा काँडे भ्याकुरसँगै अन्य अति संकटमा परेका केही चरा पनि पाइएको उनले बताए। संरक्षणको सूचीमा रहेको लुँइचे, मांसाहारी प्रजातिका विभिन्न चरा यहाँ भेटिएका छन्। सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्ध लगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला पाइएको छ।
त्यस्तै पौरी बाज, बौडाइ, कालो चिल, काकाकुल, शिक्रा, वनबाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कन्टे सुगा, मधुवा आदि चरा पर्यटकले देख्न सक्छन्।
ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुंगे लगायत प्रजातिका चराले पनि यस पदमार्गको गरिमा अझै बढाएको छ।
संरक्षणका क्षेत्रमा क्रियाशील प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङ्भाङ भैंसेगौंडामा दुई वर्षअघि लाटोकोसेरो तथा हुचिल उत्सव पनि सम्पन्न गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैंसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए।
‘हामी मिलेनियम ट्रेकलाई पदयात्राका लागि मात्रै नभएर चरा पर्यटनको पनि गन्तव्य बनाउन चाहन्छौं’, उनले भने, ‘पदयात्रासँगै चराको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गका विभिन्न स्थानमा घरबास सञ्चालनमा आइसकेका छन्।’
पछिल्ला वर्षमा प्रकृतिका साथीहरू संस्थाकै आयोजनामा उक्त क्षेत्रमा वार्षिक रूपमा विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि विषयक तालिमसमेत प्रदान गर्ने गरिएको निर्देशक राजु आचार्यले बताए।
संरक्षणका क्षेत्रमा क्रियाशील प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङ्भाङ भैंसेगौंडामा दुई वर्षअघि लाटोकोसेरो तथा हुचिल उत्सव पनि सम्पन्न गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैंसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए।
देशभरबाट सहभागी हुने विद्यार्थीलाई १९ दिने वन्यजन्तु अनुसन्धान विधि विषयक तालिम दिइने उल्लेख गर्दै उनले सो क्रममा त्यहाँ पाइने चरा, वन्यजन्तु, पुतली आदिबारे जानकारी एवं अध्ययन-अनुसन्धान गराइने बताए।
शान्तस्थल, पर्याप्त वनजंगल आदिका कारण पनि यस क्षेत्रमा धेरै प्रजातिका चरा पाइने स्थानीयवासी बताउँछन्। पछिल्ला समयमा पोखरा र आसपासका क्षेत्र चराको अध्ययन अवलोकनका लागि स्वदेशी एवं विदेशी पर्यटक आउने थालेका कारण मिलेनियम ट्रेकमा चरा पर्यटनको विकास गर्ने पर्याप्त सम्भावना रहेको गुरुङले बताए।
नेपालमा भित्रने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेको अध्ययनले देखाएको छ।
प्रकाशित: २९ असार २०८० ०७:४० शुक्रबार