१८ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मुक्का प्रहार गर्ने आयुषलाई ज्यान मार्ने उद्योगमा मुद्दा

अचानक कार रोकेर एक जना साइकल यात्रीलाई कुटपिट गरेको आरोपमा प्रहरीले विराटनगरका एक जना युवकलाई पक्राउ गरेको छ।

असार २० गते राति विराटनगर महानगरपालिका–६ झरना चोकका २७ वर्षीय पवन साहलाई फिल्मी शैलीमा दर्दनाक तरिकाले कुटपिट गरेको आरोपमा विराटनगर–४ का १९ वर्षीय आयुष भेट्वाल पक्राउ परेका हुन्।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले पक्राउ परेका आयुषसहित ३ जनाले साइकल यात्री पवनलाई एक्कासि मरणासन्न हुने गरी कुटपिट गरेपछि पक्राउ गरेको जानकारी दिए। घटनामा संलग्न अन्य २ जना फरार रहेका र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न विराटनगरका १८ वर्षीय कुशल भेटवाल र तेह्रथुम घर भएका ३० वर्षीय रोशन कार्की फरार छन्। उनीहरुविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

असार २० गते राति साढे ८ बजे कोशी लोकमार्ग अन्तर्गत विराटनगर–४ स्थित दूध फारम चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकल यात्री साहलाई कुटपिट गरेका थिए। आयुषले मुक्का हान्दै कुटपिट गरेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

मुक्का हानेपछि बेहोस भएर ढलेका साहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारका लागि कोशी अस्पताल लगिएको थियो। गाडीबाट ओर्लिएर आयुषले साइकल यात्री साहलाई मुक्का हानेका थिए।

उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ। साह सडकमै ढलेपछि उनले मरेको अमानवीय तरवले साहलाई घिसारेर सडकको किनारमा ल्याएर छोडेका थिए। साह चढेको साइकललाई आयुषका अर्का साथीले सडक छेउमा फ्याँकिदिएको भिडियोमा देखिन्छ।

आयुषसहितको टोलीले साहलाई कुटपिट गरे छाडेपछि स्थानीय देखि प्रहरीलाई खबर गरेको र तत्कालै प्रहरीले उनलाई उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगिएको बताउँदै, डिएसपी दाहालले भने, ‘घटना थाहा पाउन साथ अनुसन्धानमा हामी लाग्यौँ र भिडियो फेला पार्‍यौँ। भिडियो फेला परेपछि त्यहाँ रहेको कार नम्बरका आधारमा खोजी गर्दै जाँदा करिब १० घण्टापछि आयुषलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो।’

विपरीत दिशामा साइकल आएको रिसमा आयुषले साहलाई कुटपिट  देखिन्छ। गलत दिशामा आएको रिसको झोकमा आयुषले साहलाई अमानवीय तवरले कुटपिट गर्दै उनी लडेपछि सडकमा घिसारेको दर्दनाक दृश्य भिडियोमा देखिन्छ।

डिएसपी दाहालले भने, ‘उनीहरु बीच यसअघि कहिले पनि भेटघाट र चिनचान भएको थिएन। पुरानो चिनजान वा कुनै रिसिवीका कारण कुटपिट गरे देखिँदैन। गलत दिशाबाट आएको रिसको झोकमा कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

पक्राउ परेका आयुष भारतमा पढ्दै आएका छन् भने फरार रहेका पनि विद्यार्थी नै हुन सक्ने र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए। सडकमा लडेका साहको नाक, मुखबाट रगत बगेको र बेहोस अवस्थामा प्रहरीले साहलाई फेला पारेको थियो। उपचारपछि साह घर गएको प्रहरीले जनाएको छ।

बुढीगंगामा रहेको आरती स्ट्रीप्स उद्योगमा काम सकेर राति घर फर्कँदै गर्दा बाटोमा मलाई एक्कासि कुटपिट गरेको बताउँदै, साहले भने, ‘म गलत साइडबाट आउँदै थिए। कार बन्द गरेर रोकेर बसेका थिए। कार हुँदै अलिकति अघि बढेको के थिएँ। एक्कासि मेरो मुखमा मुक्का लागेकोसम्म थाहा पाएँ। त्यसपछि कोशी अस्पतालको बेडमा होस् खुल्यो।’

‘पुलिसले घटनास्थलमा अस्पताल लगेको रहेछ। मेरो नाक र मुखबाट रगत बगी रहेको थियो। मलाई मुखमा मात्रै हानेको याद छ। शरीरका अन्य भागमा कुटपिट गरेको याद छैन। मुखमा हान्नसाथ म सडकमा लडेपछि बेहोस भएछु,’ साहले भने, ‘अहिले छाती, टाउको, घाँटी र मुख दुखिरहेको छ। पक्राउ परेकाको परिवारले मेरो औषधि उपचार गरिरहेका छन्। उनीहरुले जहाँ गएर उपचार गरे पनि सबै लागेको खर्च दिन्छौँ भनेका छन्। यसअघि उनीहरुलाई कहिले पनि देखेको वा चिनेको थिइन।’

प्रकाशित: २६ असार २०८० १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App