४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

लम्पी स्किनः गाडीमा उक्लेका किराले मनाङसम्मै संक्रमण !

मनाङमा लम्पी स्किनले बिरामी परेको गोरु। तस्बिर सौजन्यः नारायण कुसुम

पशु चौपायामा देखिएको लम्पी स्किन रोगले यो बेला सबैतिर भयाभह रुप लिइरहेको छ। गण्डकी प्रदेशका सबै (११ वटै) जिल्लामा पशुमा यो रोग देखिएको छ। पछिल्लो समय हिमालपारिको जिल्ला मनाङमा पनि पशुमा यो रोग देखिएको मंगलबार मात्र पुष्टि भएको छ। मनाङमा लम्पी स्किन रोगले एउटा गोरु बिरामी परेको छ।

मनाङको चामे गाउँपालिका–२ थान्चोकका किसानको घरमा पालेको गोरुमा लम्पी स्किन रोग पुष्टि भएको छ। पशु चिकित्सकका अनुसार लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट यो रोग एकअर्का पशुमा सर्छ। त्यस्तै संक्रमित पशुको लसपसबाट पनि यो रोग एकअर्कामा सर्ने गर्छ।  

त्यसो भए पशुको आउजाउ र लसपस कम हुने हिमाली जिल्ला मनाङ र मुस्ताङसम्म कसरी यो रोग उक्लियो त? जबकी हिमाली जिल्लाबाट अरु छिमेकी जिल्लामा पशुको आउजाउ खासै हुँदैन। चरनका लागि पनि तल्लो भेगका पशु माथि लगिदैन भने माथिबाट पनि तल झारिँदैन।

पशु चिकित्सक भन्छन, ‘पशु आउजाउ नभएपनि गाडी पर्याप्त मात्रामा तलमाथि (मनाङ–लम्जुङ) गुडेका छन्। गाडी चढेर गएका झिंगा, लामखुट्टेले पशुमा रोग सारेका हुन्। त्यो बाहेक हिमाली जिल्लासम्म यो रोग उक्लिनुमा अरु कुनै कारण छैन।’

भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमका अनुसार मनाङमा बिरामी परेको गोरु मोटरबाटो नजिकको घरको हो। घर नजिकैको मोटरबाटो हुँदै दिनमा ६०–७० वटा सवारी लम्जुङ आउजाउ गर्छन। त्यही क्रममा गाडी चढेर उक्लिएका झिंगा, लामखुट्टे मार्फत हिमाली जिल्लासम्म रोग उक्लेको अनुमान छ।  

‘चरनको क्रममा लसपस हुने सम्भावना रहन्न। किनकी मनाङका पशु लम्जुङ र लम्जुङका पशु मनाङ लगिँदैन। जोत्नका लागि पनि गोरु ल्याउने र लैजाने हुँदैन,’ उनले भने, ‘गाडी चढेर उक्लेका झिंगा, लामखुट्टेबाटै रोग उक्लेको हाम्रो अनुमान हो। लम्जुङमा बिरामी पशुलाई टोकेका झिंगा, लामखुट्टे मनाङ उक्लेर टोक्दा पशु बिरामी परेको हो।’ पशुचिकित्सक कुसुमका अनुसार मनाङमा बिरामी भेटिएको गोरुलाई उच्च ज्वरो छ। शरिरभर गिर्खा छन। गोरुले दाना र घाँस खान छाडेको छ। उनका अनुसार बिरामी पशु लुलु गाइबाट जन्मिएको स्थानीय गोरु हो।

जिल्लामा पहिलो पटक पशुमा लम्पी स्किन देखिएपटि आसपासका क्षेत्रका स्वस्थ पशुमा रोगविरुद्धको खोप लगाउने तयारी भएको उनले बताए। मनाङमा मात्र पशुका लागि भनेर लम्पी स्किन विरुद्धको २ हजार डोज खोप लगिएको उनले बताए। जिल्लामा करिब १५ सय गाइगोरु रहेको अनुमान छ।  

गण्डकी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी डा. राजेश चौधरीले पनि पछिल्लो समय सबैतिर लम्पी स्किन रोगले हायलकायल पारेको बताए। उनका अनुसार प्रदेशका १० जिल्लामा यसअघि नै  संक्रमण पुष्टि भईसकेको थियो। ‘मनाङमा मात्र रोग देखिएको थिएन। त्यहाँ (मनाङ) मा पनि पशु बिरामी परेपछि प्रदेशका सबै जिल्लामा रोग फैलिएको पुष्टि हुन्छ,’ चौधरीले भने, ‘पछिल्लो समय यो रोगले पशुपालन क्षेत्रमा त्रास थपेको छ।’  

चौधरीले पनि मनाङसम्म रोग उक्लिनमा गाडी चढेर गएको झिंगा, लामखुट्टेले सारेको अनुमान गर्न सकिने बताए। ‘मनाङ र लम्जुङबीच चरन र जोत्नका लागि पशुचौपायाको आउजाउ हुँदैन। गाडीकै कारण हिमाली जिल्लासम्म रोग बोकेका झिंगा, लामखुट्टे उक्लेको हुनसक्ने अनुमान छ,’ उनले भने, ‘मर्स्याङदी माथिल्लो क्षेत्रमा यो रोग देखिएको थिएन। तल्लो क्षेत्रमा मात्र फैलिएको थियो। तर, अब माथि उक्लिएकोले तलबाटै गाडीमा गएका झिंगा, लामखुट्टेले रोग बोकेर लगेर सारेको अनुमान गर्न सकिन्छ।’  

तल्लो भेगमा बिरामी पशुलाई टोकेको झिंगा वा लामखुट्टे गाडी चढेर माथि उक्लेर त्यहाँका पशुलाई टोकेपछि संक्रमण सरेको हुनसक्ने उनले बताए। ‘अरु पनि पशु बिरामी पर्न सक्छन, अहिले बिरामी परेको पशुलाई टोकेर अरुलाई सार्न सक्ने सम्भावना छ,’ उनले भने।  

यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाई गोरुको ज्यान गईरहेको छ। चौधरीका अनुसार प्रदेशभर अहिलेसम्म करिब ४६ हजार पशु लम्पी स्किनबाट बिरामी। ती मध्ये करिब १६ सय पशु मरिसकेका छन। मरेकामध्ये सबैभन्दा बढी गाइ ८ सय, गोरु ५ सय ५६, रांगाभैँसी ४७ र बाँकी पाडापाडी तथा बाच्छाबाच्छी रहेका छन्। ‘मरेका गोरु सबै जोत्न योग्य उमेरका हुन्। रोपाईको बेला अहिले धमाधम गोरु मरेका कारण किसानलाई समस्या परेको छ,’ चौधरीले भने, ‘यहीबेला यो रोग अधिक फैलिएको छ। सबैतिरका किसानको खेत रोपाई नै प्रभावित भएको छ।’

उनका अनुसार बिरामी परेको बेला गोरुलाई आरामको साटो जोत्न लगेकोले पनि धेरै मरेका हुन। यो रोग लागेका बिरामी पशुलाई आराम गराउनुपर्नेमा रोपाईमा जोत्न लगेपछि झनै थलिएर धमाधम मरिरहेको उनले बताए। ‘बिरामी भएको बेला पौष्टिक आहार खुवाएर आराम गराउनुपर्ने बेला झनै काममा लगाइएको छ। जोताइमा परेका गोरु मरिरहेका छन,’ उनले भने, ‘कतिपय ठाउँमा त रोपाई नै प्रभावित भएको छ।’  

उनका अनुुसार अझैपनि १८ हजार २ सय ८७ गोरु, २० हजार ४ सय ३८ गाइ र १७ सय राँगाभैंसी बिराम छन्। गत वैशाखदेखि पशुमा यो रोग देखिन थालेकोमा असारको यो बेला झनै प्रकोप फैलिएको सूचना अधिकारी चौधरीले बताए। निर्देशनालयका सूचना अधिकारी चौधरीका अनुसार यो रोग लागेपछि पशुलाई उच्च ज्वरो आउँछ। शरिरका टाउकोदेखि पुच्छरसम्म छालामा गिर्खा देखिन्छन। गिर्खा फुटेर घाउ नै बन्छ।

पशु बिरामी परेपछि दूध उत्पादन पनि २५ देखि ८० प्रतिशतसम्म घट्छ। बिरामी पशुको गर्भ तुहिने तथा बाँझोपना पनि देखिन सक्ने उनले बताए। लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट यो रोग पशुमा सर्छ। त्यस्तै संक्रमित पशुको लसपसबाट पनि यो रोग सर्ने गर्छ।  

उनका अनुसार यो रोगको खास उपचार छैन । प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार मात्र गर्ने हो। ‘बिरामीलाई खोप लगाउन मिल्दैन। रोग संक्रमित क्षेत्रका स्वस्थ पशुलाई मात्र खोप लगाइदिने हो,’ उनले भने, ‘ज्वरो आए औषधि खुवाउने, गिर्खा फुटेर घाउ भउमा मल्हम लगाउने र आराम गराउँदै रुची अनुसारको दानापानी खुवाउनु नै उपचार हो।’  

पशु चिकित्सकका अनुसार पशुमा देखिएको यो एकप्रकारको भाइरस हो। जुन सरुवा रोग हो । यो रोग भैंसी भन्दा पनि गाईगोरुमा बढी देखिन्छ। पहिला अफ्रिकामा सीमित रहेको यो रोग सन् २०१२ मा मध्यपूर्व, दक्षिण पूर्वी यूरो, रसिया, काजकिस्तान, बंगलादेश, भारत हुँदै नेपाल प्रवेश गरेको थियो।

प्रकाशित: २६ असार २०८० १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App