२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इलाम देउमाईको बजेट, नीति र कार्यक्रम पारित

इलामको देउमाई नगरपालिकाको आठौं नगरसभा।

इलामको देउमाई नगरपालिकाले ‘प्राकृतिक स्रोत कृषि र पर्यटन: समृद्ध देउमाई हाम्रो अभियान’ लक्ष्यसहित आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ।

स्थानीय तहले आउँदो वर्षको बजेट सभामा पेस गर्ने समय असार १० र पारित गर्ने समय असारमसान्तसम्म रहेपनि त्यसअघि नै देउमाईले पारित गरेको हो।

बिहीबार सम्पन्न आठौं नगरसभाले अनुमानित ७२ करोड ११ लाख ८९ हजार रुपैयाँको आय र व्यय पारित गरेको हो। पूर्वधार विकासतर्फ १४ करोड २१ लाख ४६ हजार, सामाजिक विकासतर्फ ३९ करोड १४ लाख ७ हजार, आर्थिक विकासतर्फ ६ करोड २८ लाख २१ हजार, संस्थागत विकास, सेवाप्रवाह र सुशासनतर्फ ६९ लाख ६५ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ करोड ७८ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको मेयर सूर्य पोख्रेलले जानकारी दिए।

उपमेयर पविमाया राईले सभामा प्रस्तुत गरेको बजेट नगरसभाले संशोधनसहित पारित गरेको हो। बजेटमा क्रमागत योजनालाई प्राथमिकता दिइएको छ। नगरका सबै विद्यालयमा इन्टरनेट पहुँच पु¥याउने, स्थानीय श्रम, सीप र रोेजगारीमा आधारित रोजगारीका अवसर सिर्जना गर्ने, पशुपन्छी तथा कृषिजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व बढाउने, नगरको पहिचान हुनेखालका गौरवका आयोजना सम्पन्न गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गर्ने काम नगरले प्राथमिकतामा राखेको छ।

नगरका सबै वडाका बाह्रै महिना सवारी साधन चल्ने सडक विस्तार गर्ने, पर्यटन पूर्वाधारको विकास र प्रवद्र्धन गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ सेवा अभिवृद्धि गर्ने, सक्षम र सुदृढ तथा सुशासनयुक्त सेवाप्रवाहको विकास गर्ने, दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने, सार्वजनिक खर्चमा मितव्ययिता कायम राख्दै अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सबै राजस्वको स्रोत परिचालन गरी करको दायरा बढाउने उद्देश्य बजेटले राखेको उपमेयर राईले बताइन्।

बजेटले आर्थिक विकास एवं गरिबी निवारणमा प्रत्यक्ष योगदान गर्ने, उत्पादनमूलक र छिटो प्रतिफल दिने तथा राजस्व परिचालनमा योगदान गर्ने, स्थानीय स्रोत–साधनमा आधारित भइ जनसहभागित अभिवृद्धि गर्ने, लैङिक समानता र सामाजिक समावेशीकरण कायम गर्ने, दिगो विकासका लक्ष्य, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पु¥याउने तथा सेवाप्रवाह, संस्थागत विकास र सुशासनमा योगदान गर्ने बजेटको प्राथमिकता रहेको मेयर पोख्रेलले बताए। ‘अहिले देश आर्थिक संकटमा रहेकाले स्थानीय सरकारलाई आउने बजेट कटौती भएको छ, परिस्थिति जटिल नै छ,’ उनले भने, ‘त्यसैले हामीले यसपटक नयाँ कार्यक्रम ल्याएनौं, पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छौं।’  

उनले मानव संशाधनको क्षेत्र संवेदनशील रहेकाले नगरले यसमा गम्भीर भएर काम गरिरहेको बताए। सुरक्षित मातृत्व, दाहसंस्कार, एकल पुरुषलाई र अपांगता भएर पहेंलो कार्ड पाएका व्यक्तिलाई दिइने भत्ताका कार्यक्रमलाई निरन्तरता दिएको उनले जनाए। ‘नगरले आफैं एम्बुलेन्स किन्ने तयारी अन्तिम चरणमा छ, निर्माण भएका सडकलाई बाह«ैमास गाडी चल्ने बनाउन उपकरण किन्ने तथा नगरको निर्माणाधीन प्रशासकीय भवनको काम सक्ने योजनामा छौं,’ उनले भने, ‘लक्षित समुदायलाई पनि बजेट व्यवस्था गरेका छौं।’ उनले घरेलु हिंसा न्यूनीकरण, किसोर–किसोरी सचेतना, अप्ठ्यारामा परेका महिलालाई उद्धार–सहयोग तथा बालबालिका र ज्येष्ठ नागरिकलक्षित कार्यक्रमसमेत ल्याएको बताए।

देउमाई नगरले कृषि तथा पशुपन्छी विकासतर्फ १ करोड ६७ लाख ५० हजार, शिक्षा, युवा तथा खेलकुद विकासतर्फ २७ करोड ६९ लाख ३० हजार, स्वास्थ्यतर्फ ५ करोड ५४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। खानेपानी, सिँचाइ र ऊर्जातर्फ ५ करोड २६ लाख ६३ हजार, युवा तथा रोजगारी र तथ्यांकतर्फ १ करोड ३० लाख ७७ हजार, सामाजिक सुरक्षा तथा संरक्षणतर्फ १ करोड ६२ लाख रुपैयाँ विनियोजित रहेको नगरले जनाएको छ।  

प्रकाशित: ७ असार २०८० १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App