५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चमेरो संरक्षण स्थानीयको सहभागितामै

विश्व वातावरण दिवसका अवसरमा कपिलवस्तु नगरपालिका वडा नं ३ स्थित देवनगढियामा चमेरा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम गरिएको छ। डिभिजन वन कार्यालय कपिलवस्तुको सहयोगमा पर्यटन पत्रकार संघ कपिलवस्तुले कार्यक्रम गरेको हो।

देवनढियास्थित राधा रायमाझीको निजी जग्गामा रहेको मसला र सिसौको रूखमा वर्षौंदेखि ५ सय बढी चमेराको बसोबास रहेको छ। लोप हुने सँघारमा पुगेका चमेरा संरक्षणका लागि स्थानीयको सहभागितामा जनचेतनामूलक कार्यक्रम गरिएको हो। जैविक विविधताका दृष्टिले समेत महत्वपूर्ण मानिएको चमेरा संरक्षणमा स्थानीयको सहभागिता गराउन र बढाउन कार्यक्रम गरिएको हो। चमेरा संरक्षणकै लागि गहन भूमिका निर्वाह गरेको भन्दै स्थानीय विष्णुबहादुर सिंह र राधा रायमाझीलाई गम्छा ओढाई सम्मानित गरिएको थियो। डिभिजन वन प्रमुख विजयराज सुवेदी र नगरपालिका वडा नं ३ का अध्यक्ष प्रकाश गेरूले दुवैलाई सम्मान गरेका थिए।

यसैगरी वसन्तकुमारी सिंहको अध्यक्षतामा ७ सदस्यीय चमेरा संरक्षण समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा समसुद्दीन मुसलमान, सचिवमा हरिाकला पराजुली, कोषाध्यक्षमा अमेरुन निसा तथा सदस्यमा अब्दुल्लाह मुसलमान, दुर्गावती पासी र राजकुमारी थारू रहेका छन्। सो अवसरमा डिभिजन वन प्रमुख विजयराज सुवेदीले वातावरण बचाउन जीवजन्तुको संरक्षण र प्लास्टिक प्रयोग नगर्न आग्रह गरे। उनले वातावरणलाई प्रदुषित हुन नदिन मानिस नै सचेत हुनुपर्ने बताए। उनले चमेरा संरक्षणका लागि स्थानीयले अहिलेसम्म गर्दै आएको कार्यको प्रशंसा गरे। उनले समितिलाई आफ्नो कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा वडाध्यक्ष गैरेले चमेरा संरक्षणमा आफ्नो पालिका र वडाले आगामी बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा पंक्षी संरक्षण शंका जीवविज्ञ दिलिप चन्दले चमेराले पर्यावरण क्षेत्रमा गरेको योगदान, खतरा, संरक्षणलागयतका विषयमा प्रस्तुति गरेका थिए। उनले नेपालमा ५३ प्रजातिका चमेरा रहेको बताए। देवनगढीयासहित कपिलवस्तुको महाराजगन्ज र विजयनगरमा समेत चमेराको बसोबास छ। सरकारी स्तरबाटै चमेरा संरक्षणमा विशेष व्यवस्था हुनुपर्ने जोड दिइएको थियो। चमेराले परागशेचन, बिउबिजन छर्न, किरा नियन्त्रण गर्न मद्दत गर्छन्।

प्रकाशित: २३ जेष्ठ २०८० ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App