१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

खानेपानी ट्यांकी निर्माणमा स्थानीयको अवरोध

वीरगन्ज महानगरपालिका वडा नं १६ मा खानेपानी ट्यांकी निर्माणमा स्थानीयले अवरोध गरेका छन्। स्थानीयको अवरोधका कारण खानेपानी ट्यांकी निर्माण कार्य रोकिएको छ। नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जले नेपाल सरकारको लक्ष्यअनुसार ‘एक घर एक धारा’परियोजनाअन्तर्गत वडा नं १६ मा ट्यांकी निर्माण गर्न थालेको थियो। तर वडा नं १५ र १६ का स्थानीयको अवरोधका कारण निर्माण कार्य अगाडि बढ्न सकिरहेको छैन।

नेपाल खानेपानी संस्थान शाखा वीरगन्जका प्रमुख निरण महर्जनका अनुसार २ वर्षयता ट्यांकी निर्माणका लागि पहल गरिरहँदा पनि स्थानीयको अवरोधका कारण ट्यांकी निर्माण कार्य अलपत्र परेको थियो। उनका अनुसार निर्माण हुन लागेकोे ट्यांकीको डिजाइन र अन्य प्रक्रियासमेत पूरा भइसकेको छ। ४ लाख ५० हजार लिटर क्षमता भएको ट्यांकी निर्माणमा ४५ करोडको डिपिआर पनि तयार भइसकेको शाखा प्रमुख महर्जनले बताए।

‘निर्माणमा रोक लगाउँदा केही दिनयता अज्ञात समूहले निर्माणका लागि लगाइएको ४०–५० वटा पोल झाडेर छाडेका छन्, ‘यसरी निर्माणमा रोक लगाउँदा हरेका वर्ष खर्चसमेत बढ्ने गरेको छ।’२ वर्षपहिला पूर्व वडाध्यक्ष श्याम चौरसियाले निर्माण कार्य अगाडि बढाउन भने पनि हालका वडाध्यक्ष प्रशुराम चौरसिया नै निर्माण कार्यमा वाधक बनेको महर्जनले आरोपसमेत लगाएका छन्। स्थानीयलाई उचालेर वडाध्यक्षले त्यहाँ ट्यांकी निर्माण गर्न नदिएको उनले आरोप लगाए।

यता वडाध्यक्ष चौरसियाले स्थानीयलाई खानेपानी धाराको आवश्यकता नै नभएकाले निर्माण कार्यमा रोक लगाएको बताए। बाइपास हुँदै नगवा पोखरीका केही घरसम्म पाइपलाइन जडान गरिए पनि आउँदो दिनमा कसैले प्रयोग नगर्ने उनको भनाइ छ। ‘त्यसमा कृषि बजार लगाउने भनिएर बोर्ड लगाइएको छ, फेरि खानेपानीको बोर्ड लगाइएको छ, अब स्थानीयको माग बजार लगाउने छ’,‘उनले भने, ‘खानेपानीको पाइपलाइन बनाउँदा त्यस क्षेत्रमा भएका चापाकलको धारा सुखेर जान्छ। कृषिका लागि छुट्ट्याएको जग्गामा कृषि बजार नै लगाउने स्थानीयको भनाइ छ।’ सबैका घरघरमा चापाकल रहेको हुँदा खानेपानीअन्तर्गतका सरकारी धाराको कुनै आवश्यकता नभएकाले स्थानीयले ट्यांकी निर्माण गर्न नदिएको उनले बताए। यता वीरगन्ज महानगरपालिकाले कृषि बजारका लागि टेन्डर आह्वान गरिसकेको वडाध्यक्षको भनाइ छ। ३–४ वटा कम्पनीले चार करोडको टेन्डर भरेको वडाध्यक्ष चौरसियाले बताए।

प्रकाशित: ९ जेष्ठ २०८० ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App