दिक्तेल-गाईघाट सडक खण्डको महुरे-सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ।
सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले काम अलपत्र छाडेर हिंडेपछि सडक विभागको कार्यालय गाईघाट उदयपुरले सोही ठेकेदार कम्पनीको धरौटी रकमबाट खर्च हुने गरी सडक मर्मत सुरु गरेको हो।
खोटाङ क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईको ताकेतापछि कार्यालयले सोमबार दुईवटा टिफर र एउटा जेसिभी निर्माणस्थल पठाएको पाइएको छ।
दिक्तेल-गाईघाट सडक खण्डको महुरे-सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ।
सहज आवतजावतका लागि महुरे-सिम्पानी सडक खण्डको हिलाम्मे क्षेत्र पहिचान गरेर मर्मत सुधार गर्ने, खाल्डाखुल्डी सम्याउने, ग्राभेल हाल्ने लगायतका काम सुरु गरिएको सो सडक विभागका कार्यालयका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताए।
कालोपत्रको अवरुद्ध काम पुनः सञ्चालन गर्न तथा सो सडक खण्डमा नियमित आवतजावत गर्ने वातावरण बनाउन पटकपटक पत्र पठाएर ताकेता गर्दा पनि छ/सात महिनासम्म ठेकेदार सम्पर्कमा नआएपछि उसकै धरौटी रकम काटिने गरी सडक मर्मतसम्भार सुरु गरिएको खकुरेलले बताए। सिम्पानी (राजापानी) सडक मर्मत गर्न १०/१२ दिन समय लाग्ने कार्यालयले जनाएको छ।
महुरे-सिम्पानी सडक कालोपत्रको ठेक्का सम्झौता गर्ने क्रममा भारत कन्ट्रक्सन/सिद्धी शाहीले विभागको कार्यालयमा करिब एक करोड रुपैयाँ धरौटी रकम जम्मा गरेको जनाइएको छ। सडक मर्मत तथा सुधारका क्रममा त्यही ठेकेदारले जम्मा गरेको धरौटी बापतको रकम खर्च गरिने सडक विभागले जनाएको छ।
गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट निर्माण सम्बन्धी सम्पूर्ण उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनी गत माघ ४ गते क्रसरकै सामान उठाएर हिंडेको थियो। ‘निर्माण कम्पनीलाई तत्काल काम सम्पन्न गर भनेर पटकपटक चिठ्ठी लेखियो, ताकेता गरियो। सम्पर्कविहीन भएपछि राज्य त यथास्थितिमा रहन सक्दैन’, उनले भने, ‘हामीसँग एउटै उपाय थियो, त्यही उपायअन्तर्गत धरौटी रकमबाट खर्च गर्ने गरी काम सुरु गराएका छौं। बेलाबेलामा मर्मत गरिदिएको भए यस्तो स्थिति आउने थिएन। अहिले ठेकेदारको अत्तोपत्तो छैन। बेपत्ता छ। गर्नुपर्ने उसैले हो। उसले नगरेपछि बाध्य भएर हामीले यो बाटो अपनाएर मर्मत गर्नुपरेको हो।’
महुरे-सिम्पानी सडक कालोपत्रको ठेक्का सम्झौता गर्नेक्रममा भारत कन्ट्रक्सन/सिद्धी शाहीले विभागको कार्यालयमा करिब एक करोड रुपैयाँ धरौटी रकम जम्मा गरेको जनाइएको छ।
तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग महुरे-फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डको महुरे-राजापानी सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटारसम्म (२७ किलोमिटर) सडकखण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ तर, दुवै सडक खण्डको कालोपत्रको काममा निर्माण कम्पनीले चरम लापरवाही देखिएको छ।
उता, मध्यपहाडी लोकमार्गको दिक्तेल-चखेवा भञ्ज्याङ सडक खण्डेको सेखुवा-चखेवा भञ्ज्याङ (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका ठेकेदार काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन बनेका छन्। कालोपत्रको जिम्मा लिएका भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धी शाही जेभी काठमाडौंका ठेकेदार सम्पर्कविहीन भएपछि गत चैत २५ गते यता उक्त सडकखण्ड कालोपत्रको काम ठप्प छ।
उता, मध्यपहाडी लोकमार्गको दिक्तेल-चखेवा भञ्ज्याङ सडक खण्डेको सेखुवा-चखेवा भञ्ज्याङ (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका ठेकेदार काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन बनेका छन्।
काम अलपत्र छाडेर हिंडेको निर्माण व्यवसायी हाल सम्पर्कमा नरहेको मध्यपहाडी लोकमार्ग योजनाको कार्यालय, धुलीखेलका इन्जिनियर दिपेश मनकर्मीले बताएका छन्।
कालोपत्रको काममा ढिलासुस्ती भएको जनाउँदै आयोजनाको कार्यालयले २०७९ साल मंसिरमा ठेक्का अन्त्य गर्न सिफारिस गरेलगत्तै काममा फर्किएको ठेकेदार पुनः सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले जनाएका छन्।
प्रकाशित: ५ जेष्ठ २०८० ०६:४० शुक्रबार