७ वैशाख २०८१ शुक्रबार
समाज

‘लम्पी स्किन’ नियन्त्रण गर्न गाईलाई खोप

लम्पी स्किनले संक्रमित गाईलाई खोप लगाइँदै।

पशुमा तीव्र फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि इलाम नगरपालिकाले गाईवस्तुलाई खोप लगाइरहेको छ। प्राविधिक खटाएर किसानको गोठ–गोठमै पुगी खोप लगाइरहेको नगरले जनाएको छ।

जोर्डनबाट ल्याइएको ७ हजार २ सय ७५ डोज खोप गाईलाई लगाइरहेको मेयर केदार थापाले जानकारी दिए। नगरका ४ हजार ९ सय गाईलाई खोप लगाइसकेको र लगाउनेक्रम धमाधम रहेको उनको भनाइ छ। ‘तीव्र फैलिएको लम्पी स्किन रोगले अहिलेसम्म नगरमा ६२ पशु मरिसकेका छन्,’ उनले भने, ‘१ हजार ९ सय ६ गाईमा संक्रमण पुुगिसकेको तथ्यांक छ।’ नगरको पशुसेवा शाखाका अनुसार नगरमा करिब ९ हजार ८ सय २५ गाई छन्।

मेयर थापाले किसानको पशुधन क्षति न्यूनीकरणका लागि जनप्रतिनिधिले वैशाखको तलब रोग नियन्त्रणकै लागि प्रदान गरेको बताए। यसरी जनप्रतिनिधिबाट ८ लाख ६० हजार रुपैयाँ, १२ वटै वडाबाट १÷१ लाख र पशु स्वास्थ्यसम्बन्धी कार्यक्रमबाट २३ लाख ६० हजार रुपैयाँ जम्मा भएको छ। ‘संकलित रकममध्ये औषधि खरिद र रोग नियन्त्रणमा अहिलेसम्म १८ लाख ६३ हजार रुपैयाँ खर्च भएको छ,’ मेयर थापाले भने, ‘किसानको महत्वपूर्ण आम्दानीको स्र्रोत नै गुम्ने अवस्था आएपछि नगरले नियन्त्रण पहल गरेको हो।’

प्रदेश सरकारले सिफारिस गरेको खोप नै पशुहरूमा लगाइरहेकाले त्यसले लम्पी स्किन नियन्त्रण हुने दाबी नगरको छ। नगर स्वास्थ्य शाखाले यो खोप संक्रमित पशुमा चाहिँ लगाउन नमिल्ने जनाएको छ। ‘संक्रमित पशुमा नभइ निरोगी पशुमा रोग सर्न नदिन यो खोप लगाइन्छ,’ शाखाका कर्मचारी प्रकाश लुइँटेलले भने, ‘विशेषगरी १२ महिना उमेर पुगेका कोरली बचाउन यो खोप केन्द्रित गरिएको छ।’

दुधालु गाईमै रोग देखिएपछि दूध उत्पादनसमेत घटेको नगरले जनाएको छ। संक्रमित पशुले दूध दिन नसक्ने भएकाले करिब १५ देखि २० प्रतिशत दूध उत्पादन घटेको लुइँटेलको अनुमान छ। नगरका वडा १२, १०, ११ र ८ का पशुुमा  बढी यो रोग फैलिएको छ। वडा १० अध्यक्ष ओमनाथ प्रधान (दिलीप)ले लम्पी स्किन नियन्त्रणका लागि किसानले घरेलु औषधिसमेत प्रयोग गरिरहेको बताए। किसानले रोगी गाईलाई अमला, घिउकुमारी, गुर्जाे, मेवाको पात, निमको पात र तुलसीलाई कुटेर दिनको १ पटक ७ दिनसम्म खुवाउने गरेपछि यो रोग केही नियन्त्रण भएको बताएका छन्।  

प्रकाशित: २६ वैशाख २०८० १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App