coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एटीएम मेसिनबाट बैंक कर्मचारीले चोरेकाे २३ लाख परालको कुन्युमुनि फेला

धनगढी–  धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट चोरी भएको २३ लाख ४४ हजार पैसा प्रहरीले बरामद गरेको छ। बैंकमा ‘टेलर’ पदमा कार्यरत गोविन्द उपाध्यायले एटिएम मेशिनबाट पैसा लगेर लुकाएको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगरले बताए।

शुक्रबार बेलुकी इन्भेष्टमेण्ट बैंकको एटीएमबाट २३ लाख ४४ हजार रुपैयाँ गायब पारिएको थियो। जिल्ला प्रहरी कार्यालयले सोमबार रकमसहित उपाध्यायलाई सार्वजनिक गरेको छ।

शुक्रबार उपाध्याय ३ बजेतिर अफिसबाट जान्छु भनी ढोका छेउबाट भर्याङमुनि हुँदै बैंकको स्टोर रुममा लुकेर बसे। सबै कर्मचारी निस्केपछि सुरक्षा गार्डले बाहिरबाट ढोका लगाए तर उपाध्याय भित्रै लुकेर बसे। साँझ भएर अँध्यारो भएपछि ६ बजेर १ मिनेट जाँदा उनले कन्ट्रोल रुममा गएर सिसी क्यामेराको स्विच बन्द गरे। एटीएम मेशिनको पासपोट थाहा पाएका उनले मेशिनमा रहेको पैसा झिकेर उनी पछाडिको खुला रहेको ढोकाबाट बाहिरिएका थिए।

झोलामा पैसा राखेर झोला त्यहीं छाडेर सुरक्षा गार्डलाई झुक्याएर गार्डले थाहा नपाउने गरी उपाध्याय बाहिर गए।
‘बाहिर गएपछि गार्डलाई झोला छुटेकोले लिन आएको भनेर बैंकभित्र पैसा राखेको झोला लिएर गएछन्,’ बुढामगरले भने, ‘रकम चोरेको शंका नहोस् भनेर झोला छुटेको वहाना बनाएको देखिन्छ।’

पैसा राख्ने एटीएम मेसिन नजिकै टेबुलमा बसेर काम गर्ने भएकाले उनले उक्त मेसिन खोल्दा दैनिकजसो पिनकोर्ड हानेको देख्ने भएकाले पिनकोर्ड थाहा पाएको प्रहरीले जनाएको छ। गत भदौदेखि पैसा राख्ने एटीएम मेसिनको पिनकोर्ड बदलिएको थिएन। ८ अंकको पासवर्डमा शुरुमा २ अंक, त्यसपछि २ गरेर उनले ८ अंक पुरै पत्ता लगाएको उनले प्रहरीलाई बयान दिएका छन्।

एटीएम मेसिनको पासवर्ड बैंकमा सीमित कर्मचारीलाई मात्र थाहा हुन्छ। प्रहरीका अनुसार रकम चोरेर आफ्नी भाउजुको सहयोगमा जुगेडास्थित ससुरालीमा लगेर राखेका थिए। त्यहाँ पनि प्रहरीले छापा हान्न सक्ने देखिएपछि अत्तरिया नगरपालिका– १० वासखेडामा दाजु नाता पर्नेको घरको छेउमा रहेको परालको कुन्यु भित्र लुकाएर राखेको प्रहरीलाई उनले बयान दिएका छन । प्रहरीले शंकाको आधारमा आइतबार पक्राउ गरे पनि उनले रकम चोरको स्विकारेका थिएनन्। सूचनाका आधारमा लुकाएको पैसा फेला पारेपछि उनले चोरेको पत्ता लागेको डिएसपी बुढामगरले बताए। प्रहरी हिरासतमा रहेका उपाध्यायले लालचमा परेर उक्त पैसा चोरेको बताएका छन्।

प्रहरी उपरीक्षक चन्दले अत्तरिया नगरपालिका–१०, स्थित लिला जोशीको घरको आगनमा रहेको परालमुनि लुकाएर राखेको अवस्थामा २२ लाख ७० हजार रुपैयाँ र धनगढी–४, ओमशान्ति टोलस्थित चोरीमा संलग्न उपाध्यायको घरको कोठाबाट ७४ हजार रुपैयाँ बरामद गरिएको बताए।

‘निज उपाध्यायले घरबेटी जोशीलाई थाहै नदिई उनको घरको आँगनमा परालमुनि रकम लुकाएको उनले बताए। ‘घरबेटीलाई पैसा लुकाएको जानकारी थिएन,’ उनले भने ।

अहिलेसम्मको अनुसन्धानले रकम चोरीमा उपाध्यायको मात्रै संलग्नता रहेको देखिएको उनले बताए। प्रहरीले सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने भनेर सुराकी प्रयोग गरी पैसा फेला पारेको प्रहरीले बताएको छ।
बैंकले शुक्रबार बेलुका एटीएम मेसिनमा करिब २७ लाख रुपैयाँ राखेको थियो तर एटीएममा रकम सकिएको भन्दै राति नै सेवाग्राहीले फोनमार्फत बैंकमा गुनासो गरेका थिए। बेलुका रकम चोरेका उपाध्याय बिहान आफै बैंक पुगी आफ्नो एटीएमबाट पैसा निकालेका थिए ।

उनले आफ्नो खाताबाट एटीएममार्फत एक हजार रुपैयाँ निकालेको देखिएको प्रहरी नायब उपरीक्षक बुढामगरले बताए। ‘एटीएमबाट सय–सयका नोटमात्रै निस्केको भन्दै निज उपाध्यायले आफूमाथि शंका नहोस् भनेर बैंकका सम्बन्धित कर्मचारीलाई फोन गरेका थिए।

रकम मात्र हैन, बैंकको मुख्य सटरमा लगाइएको तालको चाबीसमेत गायब गरिएको थियो। आइतबार बिहान ताला काटेर बैंक खोलिएको थियो। उपाध्यायमाथि चोरी र बैंकिङ कसुरअन्तरगत मुद्दा लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी करारमा कार्यरत कर्मचारी हुन्।

बैंकबाट रकम गायब भएको जानकारी पाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति पाण्डेयसहित बैंकका अधिकारी शनिबार हेलिकप्टर चार्टर गरेर धनगढी पुगेका थिए।
 

प्रकाशित: २ फाल्गुन २०७३ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App