२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्री कार्यालयअगाडि फोहर डम्प

फाइल तस्वीर

मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट दैनिक उत्पन्न फोहरलाई प्रधानमन्त्री कार्यालय अगाडिको बगैंचामा डम्प गर्न थालिएको छ। काठमाडौ महानगरले पछिल्लो ४ दिनदेखि सिंहदरबार, प्रधानमन्त्री निवास बालुबटार तथा राष्ट्रपति कार्यालयबाट फोहर उठाउन बन्द गरेको छ। यसबाट ती तीन निकायमा फोहर व्यवस्थापन गर्न केन्द्रीय सरकारलाई सकस परेको छ।

सिंहदरबार परिसरबाट दैनिक झन्डै पाँच टन (सात घनमिटर) फोहोर उठ्ने गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको निर्देशनमा शनिबारदेखि नीजि क्षेत्रले सिंहदरबार परिसरबाट फोहर उठाउन बन्द गरेको छ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले सिंहदबार, शीतल निवास, मन्त्री क्वार्टर तथा प्रधानन्यायाधीशको क्वार्टरमा फोहोर उठाउन परिवर्तन सेवा नेपाललाई जिम्मेवारी दिएको छ। परिवर्तन सेवा नेपालका अध्यक्ष मित्र घिमिरेका अनुसार सिंहदरबारबाट उत्पन्न हुने फोहरलाई रेडियो नेपाल र प्रधानमन्त्री कार्यालयको विचमा रहेको केन्द्रीय बगैचाभित्र एउटा सानो खाल्डो खनेर डम्प गर्ने गरिएको छ। प्रशोधित हुने फोहर र कुहिने फोरहलाई छुट्टयाएर कुहिने फोहर खाल्डोमा डम्प गर्ने गरिएको घिमिरले बताए।

घिमिरेका अनुसार मेयर साहका सहयोगी भुपदेव साह र महानगरका पूर्वाधारविज्ञ सुनिल लम्साले घिमिरेलाई टेलिफोन गरी ‘सिंहदरबारको फोहर काहा गयो भनी’ चासो राखेका थिए। ‘सिंहदरबारभित्र फोहर देखिएन। कहाँ गयो? रातिराति फोहर उठाउनु हुन्छ कि?’ भनेर उहाहरूले मसँग चासो राख्नु भएको थियो,’ घिमिरले भने। साहका सहयोगीहरू आइतबार सिंहदरबारभित्र गइ फोहर उठे/नठेको विषयमा आफैंले हेरेका थिए ।

सहरी विकास मन्त्रालयका एक उच्च कर्मचारीले सिंहदरबारभित्र परिसरबाट उत्पन्न फोहरलाई यसरी नै डम्प गर्ने हो भने अझै १५/२० दिन समस्या नहुने बताए। उनले भने, ‘यो भनेको महानगरपालिकाको अत्यन्त गैरजिम्मेवार काम हो ।’ शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि काठमाडौंको फोहर नउठेको विषयमा काठमाडौंका मेयरलाई सचेत गराउने निर्णय गरेको थियो। सहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले फोहर मैला ऐन २०६८ ले फोहरमैलाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिएको बताउदै भने, ‘केन्द्र , प्रदेश र स्थानीय सरकार मिलेर फोहर मैलाको व्यवस्थापन गर्न आवश्यक छ।’

मेयर बालेन्द्र (बालेन) साहले शुक्रबार साँझ घिमिरलेलाई टेलिफोन गरेर शनिबारदेखि सिंहदरबार, राष्ट्रपति निवास तथा प्रधानमन्त्री निवास बालुवाटारमा फोहर नउठाउन कडा निर्देशन दिएका थिए। सरकारले सिंहदबार, शीतलनिवास, मन्त्री क्वार्टर तथा प्रधानन्यायाधीशको क्वार्टरमा फोहर उठाउन परिवर्तन सेवा नेपाललाई मासिक साढे ५ लाख बुझाउँदै आएको छ। तर पछिल्लो तीन दिनदेखि फोहोर उठाउने परिवर्तन सेवा प्रालिका टिपरहरू सिंहदरबार, बालुवाटार र शीतल निवासमा प्रवेश गरेका छैनन्। यसबाट संघीय सरकार र महानगरबीच झगडा बढ्दै गएको छ।

सुकुमबासी व्यवस्थापन, सडक, शान्ति सुरक्षा लगायतका विषयमा संघीय सरकारले महानगरलाई सहयोग नगरेको भन्दै मेयर साहले फोहर उठाउन बन्द गरेका हुन्। महानगरले शुक्रबार काठमाडौंको तीनकुनेमा रहेका सुकुमबासीलाई हटाउन प्रयास गरेको थियो। त्यो प्रयास सफल हुन सकेन। केही दिनअघि थापाथालीमा पनि महानगरले यस्तै प्रयास गरेको थियो। थापाथलीको प्रयासमा पनि महानगर असफल भएको थियो। सुकुमबासी हटाउन महानगरले संघीय सरकारलाई आग्रह गर्दै आएको छ तर संघीय सरकार सुकुमबासी हटाउन विषयमा कानुनी प्रक्रिया नपुगेको भन्दै पन्छिने गरेको छ। सुकुमबासी व्यस्थापन गर्ने जिम्मा सुकुमबासी आयोगलाई दिनु पर्ने तर्क संघीय सरकारका प्रतिनिधिको छ ।

प्रकाशित: ३० चैत्र २०७९ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App