७ वैशाख २०८१ शुक्रबार
समाज

सगरमाथामा तीन शेर्पा गाइड बेपत्ता

सगरमाथा आरोहीहरूको सामान बोकेर गइरहेका तीन जना शेर्पा गाइड बेपत्ता भएका छन्। उनीहरू सेर्‍याक फल (हिम पहिरो) मा परी बेपत्ता भएका हुन्। घटना भएको थाहा पाएलगत्तै नाम्चे इलाका प्रहरी कार्यालयको टोली उद्धारमा संलग्न भएको छ।

पर्यटन विभाग पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले नाम्चेबाट घटनास्थल पुगेको इलाका प्रहरी कार्यालयको टोलीले बेपत्ता शेर्पाहरूको खोजी गरिरहेको बताए। टोलीमा संलग्न सहायक प्रहरी निरीक्षक पूर्णप्रसाद दाहालका अनुसार बेपत्ता शेर्पा गाइडहरू सोलुखुम्बु पासाङ गाउँपालिका-५ का स्थायी बासिन्दा हुन्। बेपत्ता हुनेमा सोलुखुम्बु पासाङ गाउँपालिका-५ का २१ वर्षीय लाक्पारिता शेर्पा, ३२ वर्षीय पेम्बातेन्जी शेर्पा र ४२ वर्षीय दाछिरी शेर्पा रहेको उनले बताए।

‘आज (बुधबार) का लागि उद्धारकार्य रोकिएको छ। भोलि (बिहीबार) बिहानैदेखि पुनः खोजी हुन्छ।’  

सगरमाथाको ५ हजार ७ सय मिटर उचाइमा सेर्‍याक फलमा परी बेपत्ता तीनजना शेर्पा गाइडले इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका नाममा विभागबाट अनुमति लिएको शाखा अधिकृत कोइरालाले बताए। उनका अनुसार बुधबार बिहान ९ः३० को समयमा सेर्‍याक फल भएको उल्लेख गर्दै हराइरहेका उनीहरू ५०/६० मिटर तल खर्पासमा झरेको अनुमान गरिएको छ। इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका व्यवस्थापक दावा फुटी शेर्पाले सगरमाथा आधा शिविर र दोस्रो शिविर (क्याम्प टु) बीच पर्ने भूभागमा सेर्‍याक फल भएर दुर्घटना भएको बताए।

उनले सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए। उनले भने, ‘हामीले उद्धार र खोजी गर्न टोली खटाएका छौं। साँझसम्म साथीहरूको वास्तविक अवस्था पत्ता लाग्न सकेको छैनं। साँझ परेकाले उद्धार रोकिएको छ। बिहीबार बिहानैदेखि पुनः उद्धार कार्य हुन्छ।’

बेपत्ता शेर्पाहरूको उद्धारका लागि सिम्रिक एयरको हेलिकोप्टर, एभरेस्ट पोलुसन कन्टोल कमिटी (एसपिसिसी), नेपाल प्रहरी लगायत सम्बन्धित टोली खटिएका छन्। एसपिसिसीका कार्यकारी अधिकृत छिरिङ शेर्पाले दुर्घटनाको खबर पाउनासाथ एसपिसिसी टोली घटनास्थल गएको बताए। उनले एसपिसिसीको टोलीले अवरुद्ध रुट खोलेको र उद्धार कार्यमा सहयोग गरेको बताए।

आधार शिविरदेखि दोस्रो शिविरसम्म जाने रुटमा अन्यत्रभन्दा हिउँका खाल्डा तथा खर्पासहरू बढी भएकाले बाटो बनाउन निकै कठिन भएको कार्यकारी अधिकृत शेर्पाले बताए।

‘दोस्रो शिविरसम्मको संरचना हरेक वर्ष परिवर्तन भइरहन्छ। यो वर्ष मौसम अनुमान गरेभन्दा फरक भइदियो, हिउँदमा पर्नुपर्ने हिउँ रुट निर्माण गर्ने बेलामा पर्‍यो, मार्च अन्तिमबाट मात्र पर्‍यो,’ उनले थपे, ‘भर्खरै परेको हिउँमा रुट निर्माण गर्दा हिम पहिरो आउने सम्भावना हुन्छ भने बनेको बाटो पनि भासिन सक्छ। मौसमको यो फरकपन जलवायु परिवर्तनले पनि हो। र यो दुर्घटनाले यससँग पनि सम्बन्ध नराख्ला भन्न सकिँदैन।’

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि दोस्रो शिविर (क्याम्प टु) सम्मको रुट निर्माण कार्य यही चैत २३ गते बिहीबार सम्पन्न भएको थियो। सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले पर्यटन विभागसँगको सहकार्यमा २०५७ सालदेखि दोस्रो शिविरसम्म जाने रुट तयार गर्दै आएको छ। दोस्रो शिविरमाथिको रुट निर्माण कार्य भने आरोहण व्यवसायीहरूको संयोजन हुने गर्छ।

प्रकाशित: ३० चैत्र २०७९ ००:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App