मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया बजार क्षेत्रको अधुरो रहेको सडकलाई कालोपत्रे गर्न माँग गर्दै पुर्व सांसद र स्थानीयहरुले आईतबारको तिनकुने चौकमा सडकलाई नै अवरोध गरि धर्नामा बसेका छन्।
अधुरो हुलाकी सडक निर्माण गर्न माँग गर्दै बारा –३ का पुर्व सांसद तथा जसपा मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले स्थानीयहरुसँगै बिहान १० बजे देखी दिउँसो २ बजेसम्म धर्नामा नै बसेका थिए।
अधुरो रहेको सडकमा गुड्ने गाडीहरुको करणले उडेको धुलोले सडक हिलडुल गर्न र सडक छेउका घर बस्न समेत नसकिने अवस्था आए पछि बाध्य भएर धर्नामा बस्नु परेको स्थानीयहरुले गुनासो गरेका छन्।
अधुरो रहन गएको कलैया बजार क्षेत्र भित्रको हुलाकी सडकलाई पुरा गर्न ठेक्का समेत लागेको बर्षौ बितिसक्दा पनि सडक निर्माणमा ढिलाई मात्रै गरिदै आएकोले धुलोले धेरै सस्ती भएको गुनासो धर्नामा सबेका मध्येका एक पीडित दिनेश यादवले गुनासो गरेका छन्।
मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया बजार क्षेत्रको साढे दुई किलोमिटर लामो सडकमा कालोपत्रे गर्नमा ढिलाई गरिए पछि धुलोले हिलडुल गर्न नसकिने अवस्थामा पुगेको यादवले बताए।
अधुरो रहन गएको हुलाकी सडक खण्डमा घाम लाग्दा धुलो र पानी पर्दा हिल्लो हुने समस्याले कलैयावासीहरु आर्जित भएका छन्।
अधुरो रहेको सडकलाई निर्माण गराउन पटक पटक हुलाकी सडक आयोजना वीरगन्ज र कलैया उपमहानगरपालिका भन्दा कुनै सुनुवाई नभए पछि बाध्य भएर सडकलाई नै अवरोध गरेर धर्नामा बस्नु परेको अर्का सुनिल कुशवाहाले बताएका छन्।
अधुरो सडक निर्माणको माँग गर्दै हुलाकी सडकलाई नै अवरोध गरेर स्थानीयहरुले धर्नामा बस्दा कलैया उपमहानगरपालिका प्रुमख बिनोद साह, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र हुलाकी सडक आयोजना वीरगन्जका प्रमुखले धर्नामा बसेकाहरुसंग सडक सुचारु गर्न आग्रह गरेका थिए।
धर्ना स्थल पुगेको कलैया उपमहानगरपालिका प्रमुख बिनोद साहले कलैयाको अधुरो रहन गएको सडक हुलाकी सडक वीरगन्जकै प्रमुखहरुको कारणले बन्न नसकेको आरोप लगाएका छन्।
बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले धर्नामा बसेकाहरुको माँग सम्बोधन गर्नको लागि सबै पक्षलाई छलफलको लागि जिल्ला प्रशासनमा बोलाइएको बताएका छन्।
प्रकाशित: २६ चैत्र २०७९ ११:३६ आइतबार





