१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

गाईघाटमा ट्रकको ठक्करले युवाको मृत्यु, स्थानीयद्वारा बजार बन्द

दुर्घटनास्थल र बजार बन्द गर्दै आन्दोलनकारी। तस्बिरः महेश्वर

सदरमुकाम गाईघाटमा आईतबार विहान मालबाहक ट्रकको ठक्करबाट एक युवाको घट्नास्थलमै मृत्यु भएको छ। त्रियुगा नगरपालिका ११ गाईघाटस्थित हिमाली टोलबाट मदन भण्डारी लोकमार्ग जोडिएको चोकमा ट्रकको ठक्करले मोटरसाईकल चालकको ज्यान गएको हो।

काठमाडौंदेखि झापातर्फ जाँदै गरेको मे १ ख २१८४ नं. को ट्रकले प्र. १–०५–००१ प ६१५९ नं. को मोटरसाईकललाई ठक्कर दिदा त्रियुगा नगरपालिका १४ साउनेका ४३ वर्षीय तारणी मगरको ज्यान गएको प्रहरीले जनाएको छ। उदयपुर प्रहरीका अनुसार विहान ५ः५५ बजेको दुर्घट्नामा संलग्न ट्रक र चालक झापाको कन्काई नगरपालिका ६ का २२ वर्षीय भुपेन्द्र राजवंशीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ भने घट्नाबारे अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता इन्सपेक्टर मोहन थापाले बताएका छन्।  

स्थानीयद्वारा बजार र यातायात बन्द

यसैबीच लापरबाहीपूर्वक ट्रक चलाएर दुर्घटना गराई ज्यान लिएको भन्दै स्थानीयले गाईघाट बजार बन्द गराँएका छन्। बजार क्षेत्रमा तिब्रगतिमा सवारी चलाउदा अनाहकमा ज्यान गएको तथा मृतकको लास जनप्रतिनिधि र आफन्तजनलाई जानकारी नदिइ प्रहरी प्रशासनले उठाएको भन्दै बजार बन्द गराएका छन्।  

स्वतःस्फुर्त रुपमा निस्केको बजारबासीले साना ठूला यातायात चल्न रोक लगाएका कारण पौने ११ः०० बजेदेखि बजार पसल सबै ठप्प भएका छन्। आन्दोलनकारीले घट्नास्थल, मुख्य चोक, पिजी चोकलगायत ठाउँठाउँमा टायर बालेर यातायात अवरोध गराएका छन्।

आन्दोलनकारीहरुले ठक्करले घाइते भएका मगरलाई उपचार गर्न लानु पर्नेमा थप किचेर मारेको आरोप लगाएका छन्। लोकमार्गमा तिब्रगतिमा रहेको ट्रकले शाखा सडकबाट आएको मोटरसाईकललाई ठक्कर दिदा उछिटिएर घाईते भएका मगरको तत्काल उपचार  गर्न लान पाए बचाउन सकिने संभावना भएकोमा उल्टै किचेर निर्ममतापूर्वक हत्या गरेको आरोप स्थानीयको छ।

जिल्ला बाहिर रहेका त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीले  प्रहरी प्रशासनले दुर्घट्नाबारे मृतकका आफन्त र स्थानीय जनप्रतिनिधि कसैलाई जानकारी नदिइ घट्नास्थलबाट लास उठाएकाले यातायात व्यवसायी र मृतकका आफन्तजनले बजार बन्द गराएको जानकारी आएको बताए। घट्ना र बन्दबारे आफन्त, जनप्रतिनिधि र प्रहरी प्रशासनसँग छलफल गराएर निकास निकाल्न संघले पहल गर्ने पनि अध्यक्ष रसाईलीले बताए।  

जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले भने तिव्रगतिमा आएको ट्रकले ठक्कर दिँदा मगरको ज्यान गएको बताए। लोकमार्गमा गाडीहरु तिब्रगतिमै चल्ने र शाखा सडकबाट आएका मगरले ठम्याउन नसकेर अप्रिय दुर्घटना हुन गएको भन्दै उनले जानी जानी ठक्कर दिएको भन्ने आरोप गलत भएको बताए। उनले दुर्घटनामा परी ज्इान गुमाएका व्यक्तिको लास पोष्टमार्टम गरेपछि मात्र आफन्तलाई बुझाउने कानुन अनुसार गरेको उनको भनाइ छ।  

घट्नाको बास्तबिकता पत्ता लगाउन क्लोज सर्किट क्यामेरा (सिसिटिभि)का फुटेज आफन्तलाई देखाउन संकलन गरिरहेको पनि एसपी फुयालले बताए।

प्रकाशित: २६ चैत्र २०७९ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App